कस्तो उम्मेदवार छान्ने ?

‘आफन्तवादको भावना त्यागेको मान्छेलाई उम्मेदवार बनाउनुपर्छ भन्ने हाम्रो माग हो’

वैशाख २, २०७९

तृप्ति शाही

बैतडी — स्थानीय तहको चुनाव नजिकिएसँगै राजनीतिक दलका नेता–कार्यकर्ताहरू बैठक र भेलामा व्यस्त देखिन्छन् । सबैजसो दलहरू पालिका प्रमुखदेखि सदस्यसम्मका उम्मेदवार चयनमा जुटेका छन् । स्थानीय अगुवा तथा बुद्धिजीवीहरूले भने यसपटक आफूनिकटभन्दा गाउँको अवस्था बुझेका र सर्वसाधारणका समस्या सम्बोधन गर्न सक्नेलाई उम्मेदवार बनाइनुपर्ने सुझाव दिएका छन् ।

यसपटक चुनावमा आकांक्षी उम्मेदवारको संख्या पनि धेरै छ । एकै पालिकामा प्रमुखका लागि दर्जन बढीले आकांक्षा राखेका छन् । उपप्रमुख पदमा पनि धेरैले चासो देखाएका छन् । वडाध्यक्षदेखि सदस्यका लागि पार्टीसंग लबिइङ गर्नेहरू धेरै छन् । तर, नेताहरू भने आफु निकटकालाई उम्मेदवार बनाउने योजनामा छन् । सर्वसाधारण मतदाता जनतालाई बुझ्ने उम्मेदवारलाई भोट हाल्ने भन्दै यसपटक पटक हाम्रालाई नभएर राम्रालाई भोट हाल्ने पक्षमा रहेको बताउँछन् । ‘जनताको हितमा काम गर्ने उम्मेदवारहरू आउनुपर्छ,’ दोगडाकेदार गाउँपालिका—३ का स्थानीय कमलसिंह धामीले भने, ‘हामीलाई निश्वार्थ काम गर्ने जनप्रतिनिधि चाहिएको छ । आफ्नो लागि नभएर जनताको लागि काम गर्ने चाहेका छौं । हाम्रै गाउँको लागि चुनिनेले त हाम्रा दुःख पीडा बुझ्नुपर्‍यो नि ।’ 

लहैलहमा भोट हाल्नेको संख्या विस्तारै घटेर समाजको लागि काम गरेका र गर्नेलाई मत दिन स्थानीयले तयारी गरिहरेको सिगास गाउँपालिका–५ का टेकसिंह धामी बताउँछन् । ‘आफन्तवादको भावना त्यागेको मान्छेलाई उम्मेदवार बनाउनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने । जनताप्रति डराउने नेतृत्वको खाँचो भएको र त्यसले मात्र राम्रो काम गर्न सक्ने उनको भनाइ छ ।

 स्थानीय अगुवाहरू भने नेताहरूले सक्षम व्यक्तिलाई उम्मेदवार बनाउनुपर्नेमा जोड दिन थालेका छन् । समाजमा गरेका कामको मूल्यांकन गर्दै पारदर्शी व्यक्तिलाई स्थानीय तहको चुनावमा अघि सानुपर्ने जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक मानबहादुर चन्द बताउँछन् । ‘अहिले चुनावमा लगानी गर्ने पछि त्यहि असुल गर्न भ्रष्टाचार गर्ने परिपाटी देखिएको छ । त्यसले गर्दा विकास निमार्णलगायत समाजका लागि अन्य काम हुन सकिरहेको छैन,’ उनले भने, ‘अब कार्यक्षमता हेरेर ज्ञान भएको मान्छेलाई प्राथमिकतामा राख्नुपर्छ ।’

जिल्लाको भूगोल, संस्कृति, रीतिरिवाजलगायतका सबै कुरामा जानकारलाई उम्मेदवार बनाउन जरुरी देखिएको उनको सुझाव छ । युवा उम्मेदवार बनाउने होडबाजी भइरहेकाले उमेरमा मात्र नभई क्षमता र दक्षता भएका युवालाई अगाडि बढाइनुपर्नेमा उनको जोड छ । मतदाता सचेत भइसकेकाले पहिलाको जसरी दलहरूले भनेकै आधारमा भोट नहाल्ने दोगडाकेदारका स्थानीय भोजराज जोशी बताउछन् । ‘जनताहरू पनि सचेत भएकोले राम्रो मान्छेलाई भोट हाल्न लागि पर्खिरहेका छन् । दलहरूले टिकट दिँदा जनताको लागि काम गर्ने मान्छेलाई दिनबारे ख्याल गर्नु आवश्यक छ,’ उनले भने । 

अघिल्लो पटक निर्वाचित जनप्रतिनिधिले कार्यकर्तालाई लाभ हुने गरी काम गरेकाले सर्वसाधारण मतदाता सन्तुष्ट हुन नसकेको कतिपयको बुझाइ छ । मिसन र भिजन बिना नै पाँच वर्ष बिताएकाले कार्यकाल सकिन लागेका जनप्रतिनिधिप्रति स्थानीयका धेरै गुनासा रहको दोगडाकेदारका भुवन कार्कीले बताए । ‘अधिकांश जनप्रतिनिधिले आफ्नै सम्पत्ति जोडे । तराईमा घर लगाउँ । कमाइ धेरै गरे जनताका काम कम गरे,’ उनले भने, ‘सवारीसाधनमा ठूलो खर्च गरे । जथाभावी सडक खने । वातावरण विनाश भयो । दैनिक दुर्घटना पनि तिनै सडकमा भइरहेका छन् । जनताको आवश्यकता भन्दा आफूअनुकूल जनप्रतिनिधिले काम गरे ।’ 

यद्यपि पहिलो अनुभव भएकाले गाउँमा विकास निमार्णका काम पनि केही भएको पनि उनले बताए । अब जनताको अनुकूल काम गर्ने जनप्रतिनिधि चाहिएको उनले बताए । सर्वसाधारणको आवश्यकता र माग भन्दा पनि स्थानीय तहबाट अनावश्यक खर्च गरेको नागरिक समाज बैतडीका अध्यक्ष करन दयाल बताउँछन् । उनले भने, ‘गाउँमा परिवर्तनै नभएको होइन भएका छन् । तर दीर्घकालीन योजना बनाएर जिल्लामा कुनै पालिकाले पनि केही काम गर्न सकेनन् । अब आउनेहरूले यसमा ध्यान दिन जरुरी छ ।’

यता नेताहरू पनि चुनावका स्थानीय एजेण्डा बनाइरहेका छन् । गाउँपालिकामा आफुले स्थानीय तहको चुनावी एजेण्डाबारे छलफल थालेको कांग्रेस जिल्ला उपसभापति तथा सूर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले बताए । स्थानीयका चाहनालाई मध्यनजर गर्दै पार्टीले चुनावी एजेण्डा तयार गरिरहेको नेकपा एकीकृत समाजवादीका दशरथचन्द नगरपालिका नगर कमीटी अध्यक्ष दिनेश ठगुन्नाले बताए । डिलासैनी गाउँपालिकामा एमालेबाट अध्यक्षका लागि युवा नेता सन्तोष जोशीले पनि आकांक्षा राखेका थिए । गाउँ कमिटी बैठकमा जोशीको नाम आएपछि माइन्युट पुस्तिका नै कब्जा गरेर सुटुक्क अर्कैको उम्मेदवारी सिफारिस भएपछि लफडा भएको छ । स्थानीयस्तरमा रुचाइएका राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सचिव एवं सुदूरपश्चिम अध्यक्ष जोशीलाई एमालेले अध्यक्षको आकांक्षीमै सिफारिस नगरेपछि उनी स्वतन्त्र रूपमा चुनावी अभियानमा होमिएका छन् । 

स्थानीय तह निर्वाचन २०७९

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully