कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालकाकी उपप्रमुख सुशीला चन्द सिंहले यसपालि प्रमुखमा दाबी गरेकी छन् । उनी ०७४ को स्थानीय निर्वाचनमा जिल्लामा कांग्रेसबाट निर्वाचित एक्ली उपप्रमुख उनले पालिकाको विकाससँगै सबैलाई मिलाएर लैजान सक्ने भन्दै प्रमुखका लागि दाबी गरेकी हुन् । तर उनलाई प्रमुख पाउने आस भने छैन ।
अधिकांश पुरुष दाबेदार रहेका कारण उनीहरूमध्ये नै प्रमुखको उम्मेदवार हुने उनको बुझाइ छ । ‘विगतको कामको मूल्यांकन र भावी योजनाबारे छलफल गरेर उम्मेदवार बनाउनुपर्यो,’ उनले भनिन्, ‘उपप्रमुखपछिको पालो प्रमुख नै हो, महिला भएकै कारण हामीले प्रमुख नपाउने हुनु हुँदैन ।’ उनले उपप्रमुख हुँदा ५ वर्ष गरेको कामको मूल्यांकन गर्न पनि प्रमुखमा उम्मेदवार बनाउनुपर्ने बताइन् । उनले आफूलाई अन्य उम्मेदवारभन्दा बलियो दाबी गरेकी छन् । भीमदत्तमा कांग्रेसका १० जना प्रमुखका आकांक्षी देखिएका छ ।
बेदकोट नगरपालिकाकी उपप्रमुख सुशीला सिंहले पनि प्रमुखमा दाबी गरेकी छन् । एमालेबाट बेदकोटमा दुई जनाले दाबी गरेका छन् । बेदकोटमा एमालेबाट एक पुरुष र एक महिलाले मात्रै आकांक्षा देखाएका छन् । सुरुमा तीन जना आकांक्षी भए पनि एक पछि हटेका थिए । उनले पाँच वर्षको कार्यकालमा सबैको मन जितेर काम गरेका कारण पनि आफू प्रमुख पदको दाबेदार रहेको बताइन् । बेदकोटमा एमालेबाटै निर्वाचित भएका प्रमुख अशोककुमार चन्द नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पार्टी विभाजन भएका बेला सबैको मन जितेर जानुपर्ने भएकाले पनि महिलालाई अघि सार्न उपयुक्त हुने उनले बताइन् । उनले भनिन्, ‘एक कार्यकालको अनुभवले आगामी कार्यकालमा काम गरेर देखाउन सकिन्छ ।’
प्रमुखमा दाबी गर्ने अर्की उपप्रमुख जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाकी शारदा विष्ट हुन् । उनी पनि एमालेबाटै निर्वाचित भएकी हुन् । कोरोना संक्रमणसँगै पहिलो पटक स्थानीय तहमा जाँदा धेरै काम गर्ने इच्छा हुँदाहुँदै पनि नसकिएका कारण यसपटक प्रमुखमै दाबी गरिएको उनले बताइन् । सीमा क्षेत्रका समस्यादेखि आधारभूत समस्याहरू समाधान गर्नमै ५ वर्ष बितेको उनले बताइन् ।
‘अब जग तयार भएको छ, महिलाले पनि राम्रो काम गर्न सक्छन् भनेर देखाउन सकिन्छ,’ विष्टले भनिन्, ‘हामीले अनुशासित भएर काम गरेका छौं, त्यसको प्रतिफल पाउनुपर्छ ।’ पुनर्वासमा पनि एमालेबाट प्रमुखमा विजयी जीवनराज थापा एकीकृत समाजवादी प्रवेश गरेका छन् । अब प्रमुखमै दाबी रहनु स्वाभाविक भएको उनले बताइन् । पुनर्वास नगरपालिकामा प्रमुखका लागि ८ जनाले आकांक्षा देखाएका छन् । जसमध्ये विष्ट एक्ली महिला हुन् । विगतको कामले धेरै सिकेको र गरेका कारण अब अझ राम्रो गर्न सकिन्छ भन्ने उनको बुझाइ छ ।
