एमालेका सहयात्री राप्रपा नेपाल र परिवार दल

स्थानीय तहको निर्वाचनमा राप्रपा नेपाल र परिवार दलका उम्मेदवारको चुनाव चिह्न पनि सूर्य हुने

वैशाख १, २०७९

मणि दाहाल

काठमाडौँ — पाँचदलीय सत्ता गठबन्धनले देशभर नै तालमेल गर्ने निर्णय गरेसँगै दबाबमा रहेको एमाले राप्रपा नेपाल र परिवार दललाई साथमा लिएर स्थानीय तह चुनावमा उत्रने भएको छ । बुधबार भएको सम्झौताअनुसार कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकालको परिवार दलका उम्मेदवार एमालेको चुनावचिह्न सूर्यबाट प्रतिस्पर्धा गर्नेछन् । एमालेका नेताहरूले आसन्न चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने सार्वजनिक उद्घोष गर्दै आएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धन एक्लाएक्लै लड्न सक्ने अवस्थामा नभएको बताउने गरेका थिए । सार्वजनिक मञ्चमा एमालेको सामर्थ्यअघि अन्य दल टिक्न नसक्ने दाबी गर्दै आए पनि नेताहरूले अन्य दलसँग तालमेलका लागि गृहकार्य गरिरहेका थिए । सत्ता गठबन्धन भत्किने सम्भावनासमेत टरेपछि एमालेले दुई साना दलसँग सहकार्य गरेको हो । एमालेको चुनावचिह्नबाट प्रतिस्पर्धा गरे पनि राप्रपा नेपाल र परिवार दलका उम्मेदवारको हैसियत साविकको दलकै हुने सम्झौता छ । 

एमालेले गएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी पालिकामा प्रमुख/अध्यक्ष पद जितेको थियो । त्यतिबेला पनि धेरै ठाउँमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए । तर यसपालि ती दुई दलसँगै जनता समाजवादी पार्टी र एमालेबाट विभाजित एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमा आबद्ध छन् । लामो समय एमालेको नेतृत्वमा रहेका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालको नेतृत्वमा गत भदौमा एकीकृत समाजवादी गठन गरिएको हो । नेपाल र खनालसँगै नेता–कार्यकर्ताको एउटा पंक्तिले एमाले छाडेको छ । एमाले नेताहरूले भने विभाजन भएर गएकाभन्दा बढी नेता–कार्यकर्ता अन्य दलबाट भित्रिएकाले खासै असर नपरेको दाबी गर्दै आएका छन् । 

कांग्रेसभित्र एक्लै स्थानीय चुनावमा जानुपर्ने आवाज पनि उठेको थियो तर यसरी आवाज उठाउने शक्ति कमजोर रहेकाले सत्ता गठबन्धनले ७ सय ५३ वटै पालिकामा तालमेल गर्ने निर्णय गरेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले भने चुनावी गठबन्धनमै जोड दिँदै आएका थिए । संघीय संसद् र सबै प्रदेशसभामा प्रतिपक्षमा रहेको एमालेले भने चुनावमा एक्लै लड्ने सामर्थ्य रहेको दाबी गर्दै पार्टी प्रवेश अभियान नै चलाएको थियो । 

एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताको उपस्थितिमा बुधबार स्थानीय तह चुनावमा तालमेल गर्ने सहमति भएको हो । सम्झौतामा एमालेका तर्फबाट स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । अर्को सम्झौतामा एमालेबाट दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलले हस्ताक्षर गरेका छन् । एमालेले दुवै दलसँग एकै खालको सम्झौता गरेको छ । २०७४ सालको आमनिर्वाचनमा पनि परिवार दलले एमालेको चुनावचिह्न लिएर प्रतिस्पर्धा गरेको थियो । 

राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठूला राजनीतिक दलहरूले गठबन्धन गरेपछि आफूहरूले पनि चुनाव तालमेल गरेर जाने निर्णय गरेको बताए । ‘अहिले स्थानीय चुनावमा एक्लै जाने अवस्था भएन,’ उनले भने, ‘राप्रपा नेपाल तुलनात्मक रूपमा नयाँ पनि छ । त्यसैले एमालेसँग सहकार्य गर्ने निर्णय गरेका हौं ।’ उनले राष्ट्रियता, आर्थिक समृद्धि र स्थिरताका विषयमा एमालेसँग धारणा मिलेको बताए । राजनीतिक दलहरूले सहमति गरेर साझा चुनावचिह्न लिएर जान सक्ने कानुनी व्यवस्थाअनुसार सूर्य चिह्न लिएको उनको भनाइ छ । ‘मतदातामा कुनै प्रकारको अलमल नहोस् भनेर सूर्य चिह्न लिएर चुनाव लड्न लागेका हौं,’ थापाले भने, ‘चुनाव जितेपछि हाम्रा सबै उम्मेदवार राप्रपा नेपालमै रहन्छन् र चुनाव प्रचार पनि राप्रपा नेपाल भएरै हुन्छ । चिह्न मात्रै साझा हो ।’

स्थानीय निर्वाचनमा तालमेल गर्ने विषयमा एमालेसँग बुधबार सम्झौता गर्दै परिवार दलका नेता । तस्बिर : एमाले सचिवालय

पाँचदलीय गठबन्धन एक हुँदा त्यसले उत्पन्न गर्ने चुनौतीबाट अत्तालिएर एमालेले साना दलहरूसँग गठबन्धन गरेको टिप्पणी कतिपयले गरेका छन् । एमाले उपाध्यक्ष युवराज ज्ञवाली भने त्यसलाई अस्वीकार गर्छन् । ‘पाच दल एमालेसँग एक्लाएक्लै लड्ने अवस्थामा छैनन् । एमालेविरुद्ध उनीहरूले गठबन्धन गरेका हुन्,’ उनले भने, ‘त्यसबाट हामी अत्तालिएका छैनौं । कोही तपाईंहरूलाई सहयोग गर्छौं सहयोगी हुन्छौं भन्छन् भने त्यो सकारात्मक कुरा हो ।’ उनले यो गठबन्धन नभई अन्य दल एमालेको चुनाव चिह्नबाट लड्न तयार भएको बताए । ‘हाम्रा लागि धेरै/थोरै जति भए पनि यो प्लस हो । भोट थपिन्छ । चुनावचिह्न सूर्य भएपछि हाम्रा मतदातालाई पनि अप्ठ्यारो परेन,’ उनले भने, ‘एकातर्फ पाँचदलीय गठबन्धन र अर्कोतर्फ एमाले एक्लै छ । पाँचदलीय गठबन्धन नगर्ने हो भने एमालेसँग प्रतिस्पर्धा नै हुँदैन ।’ एमाले उपाध्यक्ष ज्ञवालीले स्थानीय तहमा व्यक्तित्व हेरेर टिकट वितरण हुने बताए । 

राप्रपाबाट बाहिरिने क्रममा थापाले आफू निकटका नेताहरूलाई एमालेसँग संघ तथा प्रदेशसभा निर्वाचनमा सूर्य चुनावचिह्नबाट प्रतिस्पर्धा गर्ने सहमति भइसकेको बताएका थिए । एमाले उपाध्यक्ष ज्ञवाली भने वैशाख ३० को स्थानीय तह चुनावका लागि मात्र अहिले सहमति भएको बताउँछन् । एमालेसँग सहमति गरेका दुवै दलबीच वैचारिक भिन्नता भने निकै ठूलो छ । त्यही कारण दुवै पार्टीका नेताले भिन्न वैचारिक मान्यताका सम्बन्धमा मतदाताका तिखा प्रश्न सामना गर्नुपर्ने देखिएको छ । एमाले उपाध्यक्ष ज्ञवाली भने फरक पार्टी भएपछि फरक विचार हुनु स्वाभाविक रहेको र त्यसले तालमेललाई असर नगर्ने दाबी गर्छन् । अध्यक्ष थापाले यो तालमेल स्थानीय चुनावका लागि भएको बताए । 

पछिल्लो समय राप्रपा नेपालका अध्यक्ष कमल थापाले लिएको धारणा र एमाले अध्यक्ष केपी शर्मा ओलीमा देखिएको सांस्कृतिक राष्ट्रवादको रुझान मिल्दोजुल्दो देखिएको थियो । ओली र थापाबीच २०७२ सालको गठबन्धनदेखि नै सम्बन्धमा निकटता आएको थियो । ओली पहिलो पटक प्रधानमन्त्री बन्दा मन्त्रिपरिषद्मा थापा उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री थिए । गत मंसिरमा भएको राप्रपा महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि थापाले संवैधानिक राजतन्त्र मुद्दा छाडेका छन् । दुवै दलका लागि स्थानीय तहको चुनाव जीवनमरणको सवाल बनेको छ । एमालेलाई चुनावमा सबैभन्दा ठूलो दल बन्ने र राप्रपा नेपाललाई अस्तित्व जोगाउने चुनौती छ । 

‘कांग्रेस र एमाले राजतन्त्र छाडेरै गणतन्त्रवादी भएका हुन्’

कमल थापा, अध्यक्ष, राप्रपा नेपाल

राप्रपा नेपाल र एमालेको सम्झौतालाई नयाँ प्रकारको पार्टी एकीकरण भनेर टिप्पणी भइरहेको छ । एकतै भएको हो ?

आरोप लगाउनेहरूले अनेक भन्छन् । ठूला राजनीतिक दलहरूले तालमेल गर्ने भएपछि तुलनात्मक रूपमा सानो राजनीतिक दल राप्रपा नेपाल एक्लै चुनावमा जानु बुद्धिमानी होइन । त्यसैले एमालेसँग सहकार्य गर्ने निर्णय गरेका हौं । राष्ट्रियता, आर्थिक समृद्धि र स्थिरताजस्ता मुद्दाका कारण पनि हामीले एमाले रोजेका हौं । 

एमालेको चिह्न लिएर चुनावमा जाने निर्णय गर्नुभयो, आफ्नै चुनाव चिह्न किन छाड्नुभयो ? 

सूर्य चुनाव चिह्न लिनुका पछि मुख्य तीन कारण छन् । पहिलो, निर्वाचनसम्बन्धी कानुनमै राजनीतिक दलहरूले सहमति गरेर साझा चिह्न लिएर जान सक्ने व्यवस्था छ । दोस्रो, मतपत्रमा उम्मेदवार नभएको ठाउँमा पनि सबै पार्टीको चुनाव चिह्न हुन्छ । हाम्रो चिह्न र एमालेको चिह्नमा छाप लगाउँदा धेरै मत बदर हुन सक्छ । चुनाव जितेपछि हाम्रा उम्मेदवार राप्रपा नेपालमै रहन्छन् । चुनाव प्रचारमा हाम्रै तर्फबाट हुन्छ । तेस्रो, यसअघि पनि ठूला दलले यस्तो अभ्यास गरिसकेका छन् । राप्रपा नेपालको निर्णय अत्यन्तै स्वाभाविक, व्यावहारिक, बुद्धिमानीपूर्ण छ । 

एमालेसँग विचारधारा फरक छ । एकै ठाउँमा बस्ने अवस्था कसरी बन्यो ?

पूर्व र पश्चिम हिँडेका ५ दलको गठबन्धन चलिरहेको छ । राप्रपा नेपाल राजसंस्थाको अजेन्डा छाडेर लोकतन्त्रमा आएका छौं । लोकतन्त्रको अजेन्डामा हामी एमालेसँगै छौं । राष्ट्रियता, समृद्धि र स्थिरताका विषयमा पनि साझा धारणा छ । स्थानीय चुनाव स्थानीय विकाससँग सम्बन्धित हुने भएकाले धेरै टाउको दुखाउनु आवश्यक छैन । 

चार दशकभन्दा बढी राजतन्त्रको पक्षमा राजनीति गर्नुभयो । अहिले राजतन्त्रको मुद्दा छाड्दा सार्वजनिक रूपमा पश्चाताप गर्नुपर्छ जस्तो लाग्दैन ?

यो प्रश्न किन एमाले र कांग्रेससँग गरिँदैन ? किन मलाई मात्रै चरित्र हत्या गर्ने प्रकारले आरोप लगाइन्छ ? कांग्रेसले स्थापनाकालदेखि २०६३ सालसम्म संवैधानिक राजसंस्थाको अजेन्डा बोकेको थियो । ऊ किन संवैधानिक राजतन्त्रको अजेन्डा छाडेर गणतन्त्रमा गयो ? एमालेले २०४७ देखि २०६२/०६३ सालसम्म राजसंस्थासँग सहकार्य गर्‍यो । एमाले किन राजसंस्थालाई छाडेर गणतन्त्रमा गयो ? राजनीतिक दलले अवलम्बन गर्ने विचार सर्वकालीन हुँदैन ।

समय, परिस्थिति र जनताको भावनाअनुसार विचार, नीति र सिद्धान्त परिमार्जन गर्दै जानुपर्छ । हामीले १५ वर्षसम्म राजसंस्थासहितको प्रजातन्त्रका लागि संघर्ष गर्‍यौं । त्यसमा पश्चाताप छैन । अहिले पनि राजसंस्थाप्रति मेरो सम्मान छ । १५ वर्षको राजनीतिक अभ्यासबाट जनताको भावनामा के देख्यौं भने राजसंस्था पुनःस्थापना सम्भव छैन । राप्रपा नेपाल सामाजिक, राजनीतिक र आर्थिक रूपान्तरणको बृहत् मान्यता बोकेर खडा भएको हो । एउटा अजेन्डा कमजोर भएपछि त्यसैलाई सधैं समातेर बसिराख्नुपर्छ भन्ने छैन ।  

गणतन्त्र वा राजतन्त्र राजनीतिको सामान्य विषय हो र ? 

निश्चय समय र परिस्थितिअनुसार आफ्ना मान्यता परिमार्जन गर्दै जानुपर्छ । हामीले पनि त्यही गरेका हौं । जसले ममाथि राजतन्त्रको अजेन्डा छाडेको आरोप लगाइरहेका छन्, उहाँहरूले के बुझ्नुपर्‍यो भने कमल थापा जस्तो व्यक्तिले २०६३ सालमा मुलुक गणतन्त्रमय भएको समयमा टाउकोमा कफन बाँधेर राजसंस्थाको अजेन्डा बोकेको थियो । त्यस्तो व्यक्तिले राजसंस्थाको अजेन्डा छाड्नुपर्ने स्थिति किन सिर्जना भयो ? कसले सिर्जना गर्‍यो ? यस्ता विषयमा प्रश्न गर्नु भने जायज हुन्छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीमा पौराणिक राष्ट्रवाद देखिन्छ, तपाईं हिन्दु राष्ट्रका लागि रथयात्रा गर्ने नेता हुनुहुन्छ । तपाईंहरूलाई हिन्दु धर्मको अजेन्डाले एकै स्थानमा ल्याएको हो ?

अहिले कुनै अजेन्डाले तालमेल भएको होइन । चुनाव जित्ने मुख्य उद्देश्य हो । 

एमालेसँगको गठबन्धनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा पनि सहभागिता हुन्छ ?

यो विषय थाहा छैन । सत्ता गठबन्धनले अन्य दलसँग चुनावी तालमेल नगर्ने भनेपछि साना पार्टीले अस्तित्व रक्षाका निम्ति कुनै न कुनै आधार खोज्नुपर्‍यो नि । ५ दल एकातिर र एमाले अर्कोतिर छ । हामी एक्लै चुनावमा जाँदा निरर्थक हुन्छ । हामीसँग तुलनात्मक रूपमा निकट देखिएको एमाले हो । त्यसैसँग सहकार्य गरेका हौं । नयाँ दल राप्रपा नेपालसँग सहकार्य गर्न तयार भएकामा एमालेलाई धन्यवाद दिन चाहन्छु । 

एमालेसँग एकीकरणको सम्भावना कति छ ?

छैन । कांग्रेस र माओवादीबीच एकताको सम्भावना जति छ, त्यति नै हो राप्रपा नेपाल र एमालेबीचको एकताको सम्भावना । 

मणि दाहाल विगत डेढ दशकदेखि पत्रकारितामा क्रियासिल छन् । उनी हाल इकान्तिपुरसँग आवद्ध रहेका छन्।

Link copied successfully