'मनी, मसल्स र मिडियाले जस्तोसुकै निर्वाचन जित्न सकिन्छ भन्ने भ्रम छ । यो कतै स्थापित हुने हने कि भनेर आचारसंहिता लागू गरेका छौँ ।´
विराटनगर — प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको रकेट प्रक्षेपण भइसकेको अवस्थामा रोकिन खोजिए दुर्घटना हुने बताएका छन् । निर्वाचन आयोगले मंगलबार विराटनगरमा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त थपलियाले निर्वाचन रोकेर दुर्घटना निम्त्याउने अवस्थामा आयोग नरहेको बताएका हुन् ।
´निर्वाचन हुन ३१ दिन मात्रै बाँकी रहेको छ । ३० जिल्लाको मतपत्र छापिएर पठाउने क्रममा रहेको र निर्वाचन अधिकृतहरू नियुक्त भएर कार्यालय स्थापनाका तयारीमा छौँ,` उनले भने, ´निर्वाचन नभए लोकतन्त्र हार्छ ।`
त्यस्तै प्रमुख निर्वाचन आयुक्त थपलियाले कांग्रेस केन्द्रीय सदस्य शशांक कोइरालाले निर्वाचनमा ६ करोड खर्च भएको भनी दिएको अभिव्यक्ति निर्वाचन आचार संहिताविपरीत भएकाले पत्राचार गरेर प्रस्ट पार्न आग्रह गरेको बताए । कोइरालाले २० लाख ७५ हजार मात्रै खर्च गरेको हस्ताक्षर गरेकाले हस्ताक्षरलाई सत्य मान्ने कि भाषणमा भनेकालाई सत्य मान्नु त्यो विषय महत्त्वपूर्ण भएको उनको भनाइ थियो ।
´तीन एम मनी, मसल्स र मिडियाले जस्तोसुकै निर्वाचन जित्न सकिन्छ भन्ने भ्रम छ,´ उनले भने, ´यो कतै स्थापित हुने हने कि भनेर आचारसंहिता लागू गरेका छौँ ।´
सामाजिक सञ्जालमार्फत निर्वाचन प्रभावित पार्ने भ्रामक, तथ्यहीन सूचना र अपमानजनक गतिविधि नियमन गर्ने संरचना क्रियाशील रहेको थपलियाले बताए ।
त्यस्तै महिला प्रतिनिधित्व सुनिश्चितताका लागि अध्यक्ष/उपाध्यक्षमध्ये एकमा महिला अनिवार्य र एउटा मात्रै पदमा उम्मेद्वार उठाउने दललाई महिलालाई प्राथमिकतामा राखेर उम्मेदवारी दिन आग्रह गरिएको पनि उनले बताए ।
