ताप्लेजुङ — आसन्न स्थानीय तह निर्वाचनका लागि एमालेले उम्मेदवार छनोट प्रक्रियालाई निरन्तरता दिएको छ । कांग्रेसले पनि वडा र पालिकाको उम्मेदवार छानिरहेको छ । सत्तारूढ दलमध्येको जनता समाजवादीले भने उम्मेदवारको नाम सार्वजनिक गरिसकेको छ ।
जिल्लामा क्रियाशील संघीय लिम्वुवान मञ्चले पनि उम्मेदवार घोषणा गर्न थालेको छ । अहिलेसम्म नेकपा माओवादी केन्द्र र नेकपा एसले मात्रै उम्मेदवार सार्वजनिक गर्न बाँकी छ । समीकरणका लागि सत्तारूढ दलको बैठक पनि दिनहुँजसो बसिरहेको छ । तर भागबन्डा मिलाउन सकेका छैनन् ।
स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीले पालिकाको उपप्रमुखमा दाबी प्रस्ताव गरेको छ । माओवादीले चार प्रमुख र अन्य उपप्रमुखमा प्रस्ताव गरेको छ । कांग्रेसले माओवादीलाई दुई प्रमुख र अरू उपप्रमुखको प्रस्ताव गरेको छ । एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङमा मैवाखोला र फक्ताङलुङ गाउँपालिका प्रमुख माओवादीलाई दिन कांग्रेस तयार छ । तर यीबाहेक फुङलिङ नगरपालिका र सिरिजंगा गाउँपालिकामध्ये एकमा प्रमुख दिन माओवादीको प्रस्ताव रहेको स्रोतको दाबी छ । कांग्रेस भने राजी छैन ।
सिरिजंगा गाउँपालिकाका वर्तमान सभापति गजेन्द्रप्रसाद तुम्याहाङको पालिका भएको र नगरपालिकामा कांग्रेस संगठनात्मक हिसाबले एमालेभन्दा बलियो भएकाले दिन नहुने पक्षमा कांग्रेस नेता छन् ।
सिदिङवा गाउँपालिकामा माओवादी र एमालेबीच समीकरण गर्ने निश्चित जस्तै भएको छ । वर्तमान उपाध्यक्ष जीवन ताम्लिङले उपाध्यक्षमै बसेर एमालेसँग समीकरणको खाका तयार पारेका छन् । ताम्लिङले अरू जस्तो नभई यहाँको भौगोलिक अवस्था र कार्यकर्ताको मनसाय फरक रहेकाले फरक खाले समीकरण हुन सक्ने बताए । वडाध्यक्ष/सदस्य पद एमाले र माओवादीको समीकरणअनुसार तयार भएको एक एमाले नेताको भनाइ छ ।
