मातृभाषालाई चुनावी एजेण्डा बनाउन माग

चैत्र २७, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — वैशाखमा हुने स्थानीय निर्वाचनमा मातृभाषाको प्रवर्द्धनलाई प्रमुख एजेण्डा बनाउन विज्ञहरुले माग गरेका छन् । संविधानमा व्यवस्था भएअनुसार मातृभाषामा शिक्षाको अधिकार तथा भाषा आयोगले प्रदेशगत सरकारी कामकाजको भाषा सिफारिस गरिसकेकाले निर्वाचनमा अरु मातृभाषाको समेत प्रवर्द्धनलाई प्रमुख एजेण्डा बनाउन विज्ञहरुले राजनीतिक दलहरूको ध्यानाकर्षण हुनुपर्ने जनाएका छन् ।

भाषिक मानवअधिकार समाजले आयोजना गरेको ‘स्थानीय निर्वाचनको सन्दर्भमा मातृभाषाको सवाल’ विषयक अन्तरक्रियामा विज्ञहरुले त्यस्तो धारणा राखेका हुन् । स्थानीय सरकारले मुलुकमा बोलिने मातृभाषा देशकै सम्पदा भएकाले त्यसको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु पर्ने आवश्यकता पनि उनीहरुले औंल्याएका छन् ।

‘चुनावमा मातृभाषा मूल नारा बन्नुपर्छ र त्यसनिम्ति राजनीतिक दलहरूको ध्यान पुग्न जरुरी छ,’ भाषाविद् अमृत योन्जन तामाङले भने, ‘विद्यालय तह सञ्चालन जिम्मेवारी स्थानीय सरकारको भएकाले जनप्रतिनिधिहरूले चासो लिएर समुदायलाई मातृभाषा प्रवर्द्धनमा विश्वस्त तुल्याउन आवश्यक छ ।’ तामाङले मातृभाषा संरक्षणका निम्ति भाषा ऐन बन्नुपर्ने र स्थानीय तहमा प्रज्ञा प्रतिष्ठान गठन हुनुपर्ने तथा ती प्रतिष्ठानले स्थानीय भाषाहरूको अध्ययन, अनुसन्धान, प्रकाशन प्रवर्द्धन गर्नुपर्ने उल्लेख गरे ।

भाषाशास्त्री तारामणि राईले स्थानीय समुदायले बोल्ने मातृभाषाको महत्त्वलाई राजनीति दल र दल सम्वद्ध जनप्रतिनिधिले कम आकलन गर्न नमिल्ने बताए । ‘मुलुकमा बोलिने मातृभाषाबारे दलका प्रमुख र जनप्रनिधिहरूबीच छलफल भएर त्यसको उत्थानका निम्ति प्राथमिकता दिने नीति बन्नुपर्छ,’ उनले भने ।

अवधी भाषाका अभियन्ता हँसावती कुर्मीले विगतमा पार्टी नेतृत्वले स्थानीय भाषालाई प्राथमिकतामा नराखेको गुनासो गरिन् । अमित थेबेले आदिवासी जनजाति महासंघले प्रमुख राजनीतिक दलहरूको ध्यानाकर्षण गराउनु पर्नेमा जोड दिए । केवरत भाषाका ज्ञाता चतुर्भुज केवरतले मातृभाषालाई रोजगारीसँग जोड्न नसक्दा स्थानीय मातृभाषीमा निरासा आएको बताए । ‘मातृभाषाको महत्त्व बुझाउन र यसबाट आयआर्जन गर्न/गराउने बाटो पहिल्याउनका निम्ति स्थानीय जनप्रतिनिधिको दृष्टिकोण हुनुपर्छ,’ त्रिविका उपप्राध्यापक केवरतले भने, ‘स्थानीय उम्मेदवार सजग समूह निर्माण गरेर नेटवर्क विकास गरेमा राम्रो हुनसक्छ ।’

प्राज्ञ अमर तुम्याहाङले २०७४ को स्थानीय चुनावमा प्रदेश–१ का सचेत उम्मेदवारले लिम्बु भाषाको कार्यान्वयनमा सकारात्मक पहल गरेको बताए । ‘मातृभाषा सबै पार्टीको एजेन्डा नबन्न सक्छ तर जो सचेत जनप्रतिनिधि छन्, उनीहरूले जितेपछि पालिका तहमा मातृभाषा शिक्षा कार्यान्वयन गरेर देखाएका छन्,’ उनले भने, ‘हिमाल, पहाड, तराई जहाँ सुकैका भएपनि अबको चुनावमा उठ्ने उम्मेदवारले त्यो बाटोलाई भुल्न मिल्दैन ।’

नेवाः भाषा नेवा स्कुलका अभियन्ता दीपक तुलाधरले विगत अढाइ दशकमा मातृभाषाप्रतिको बुझाइ फरक परेको बताए । ‘मातृभाषामा शिक्षा कि मातृभाषाको शिक्षा भन्नेबारे स्पष्ट हुनुपर्छ,’ काठमाडौं महानगरपालिकाले नेवार भाषाका निम्ति सकारात्मक पहल गरेको उल्लेख गर्दै तुलाधरले भने, ‘हामीले चाहेको मातृभाषाको शिक्षा हो । माध्यम भाषा नै मातृभाषा हुनुपर्छ ।’

अभियन्ता तथा चिकित्सक डा. युवराज लिम्बुले वर्चस्वशाली समुदायको भाषालाई मात्र प्राथमिकता दिइएकाले अल्पसंख्यक मातृभाषी समुदायलाई अन्यायमा परेको बताए । ‘मातृभाषासँग परम्परागत ज्ञान लुकेको हुन्छ, त्यसैले मातृभाषालाई जीविकोपार्जनसँग जोड्न आवश्यक छ,’ उनले भने, ‘त्यसका निम्ति राजनीतिक दलहरूले स्थानीय समुदायको ज्ञानको भण्डारको संरक्षण अभियानमा ध्यान पुग्न जरुरी छ ।’

रविन्द्र थिङ तामाङले पार्टीभित्र मातृभाषाबारे कुरो उठ्न नसकेको बताए । ‘पार्टीको प्रतिवद्धतापत्र बन्दै गरेको बेला सामाजिक संघसंस्था र समुदायका प्रतिनिधिले पार्टीको ध्यानाकर्षण गराउन जरुरी छ,’ उनले भने ।

‘विकास भनेको धारा, बिजुली, बाटोघाटोमात्र होइन,’ अर्का सहभागी बाबु घिसिङले भने, ‘प्रमुख दलहरूको घोषणापत्रमा स्थानीय मातृभाषाको संरक्षण संवर्द्धन गर्न प्रतिवद्धता उल्लेख हुनुपर्छ ।’

मधेस प्रदेशबाट सहभागी राजनीतिशास्त्रका प्राध्यापक अयोध्या श्रीवास्तवले अहिलेसम्म केन्द्रीकृत भाषा नीति रहेको र अब प्रदेश तथा स्थानीय तहको सरकारी कामकाजको भाषा बन्नुपर्ने बताए । ‘भाषा राजनीतिमात्र नभएर समाजको ऐना हो,’ उनले भने, ‘केन्द्रीय पार्टीहरूले आफ्नो घोषणापत्रमा मातृभाषाको एजेन्डा समेट्न जरुरी छ ।’

आयोजक संस्थाका सचिव निष्णु थिङले स्थानीय तहमा प्रज्ञा प्रतिष्ठान गठन हुनुपर्ने बताए । ‘अहिले हरेक पालिकामा योजना शाखा छन्,’ प्रतिष्ठानको अवधारणा भाषा र साहित्यका निम्तिमात्र नभएको उल्लेख गर्दै उनले भने, ‘ती योजना शाखाले टिपोटकै आधारमा योजना बनाएर बजेट छुटाउँछन् । तर अब समग्र विकास गर्न अनुसन्धानमुखी संस्था बनाउन जरुरी छ ।’ स्थानीय समुदाय भाषा, साहित्य, संस्कृति, जीवस्तर, आवश्यकता अध्ययन हुनुपर्ने बताए ।

कान्तिपुर

Link copied successfully