पुस्तक २०२४ : विधामा विविधता, औसत बजार

पुस १६, २०८१

कान्तिपुर संवाददाता

Book 2024 : Variety in Genres, Average Market

काठमाडौँ — सन् २०२४ को नेपाली पुस्तक बजार औसत रह्यो। २०२३ मा गैरआख्यानको दबदबा रहे पनि यो वर्ष प्रकाशकले आख्यान र निबन्धका पुस्तक पनि बजारमा फिँजाए। तर, उनीहरु नै भन्छन्, 'पुस्तक पढ्ने पाठक निरन्तर घटिरहेका छन्, यो चिन्ताको विषय हो।'

यो वर्ष गैरआख्यानबाट बढी चर्चा लेखक सुधीर शर्माले पाए। उनका जुम्ल्याहा पुस्तक 'हिमालपारिको हुरी' र 'भिक्षु व्यापार र विद्रोह' विषय र महत्वका हिसाबले पनि पाठकका आँखामा जँचे । पुस्तकमा भोट–चीनसँगको नेपाल सम्बन्धलाई मिहिन ढंगले ऐतिहासिक अध्ययन गरिएको छ। यस्तै, वातावरण पत्रकार रमेश भुसालले तिब्बतदेखि नेपाल हुँदै भारतको गंगासम्म गरेको ४५ दिने यात्रावृत्तान्त 'छालबाटो : कैलाशदेखि गंगासम्म' को चर्चा पुस्तक बजारमा भइरहेकै छ । जलवायुदेखि जंगलसम्म, बाँधदेखि बाघसम्म, दलाई लामादेखि दबिएका समुदायसम्मका कथा समेटिएको पुस्तक पाठकको रोजाइमा छ ।

हेमन्त मिश्रको 'श्री ५ को सेवामा' पनि यसै वर्ष सार्वजनिक भयो । अर्नासँग राजा महेन्द्रको जम्काभेट, राजा वीरेन्द्रबाट गैंडा तर्पण, खम्बा विद्रोह र काठमाडौंमा हिप्पीका विषय पुस्तकले समेटेको छ । हालै दुर्गाबहादुर घर्तीको 'सांस्कृतिक अध्ययन' आएको छ। सांस्कृतिक अध्ययनको वैश्विक परम्परादेखि नेपाली साहित्यमा जागेको सांस्कृतिक सचेतनासम्मको बहसको उठान पुस्तकले गरेको छ।

पत्रकार घनश्याम खड्काको गैरआख्यान 'आनन्दसंहिता' सार्वजनिक गरे । पुस्तकको प्रत्येक अध्यायमा आनन्दप्राप्तिको सरल तर अद्भूत मीमांशासहित त्यसको प्रयोग गर्ने विधिसमेत छ । पत्रकार ददि सापकोटाले वर्ष २४ मै 'जीवगाथा' ल्याए, जसमा जीवजन्तुका फरक आनीबानी, जीवनशैली र विविध क्रियाकलापबारे रोचक तथ्य समावेश छन् । सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्तमाथि सुरेश ढलकाको 'इतिहासअघिको इतिहास' पनि बजारमा आएको छ। लिखित इतिहासभन्दा निकै परसम्म पुगेर लेखिएको पुस्तक अध्येताहरुका लागि संग्रहणीय बनेको छ।नेता राजेन्द्र महतोको राजनीतिक जीवनीमा आधारित 'अधुरा क्रान्ति', लेखक खगेन्द्र संग्रौलामाथि उदय अधिकारीले गरेको संवादको पुस्तक 'अविश्रान्त लखरलखर' ले भने अपेक्षित चर्चा पाउन सकेनन्। संग्रौलाका जीवनका पाटा विभिन्न पुस्तकमा भिन्नभिन्न तरिकाले आएकाले पनि पाठकले यसका उति ध्यान दिएनन्। प्राडा जगदीशचन्द्र रेग्मीको दुर्लभ किताब 'लिच्छवि संस्कृति' को पुनर्मुद्रण भने इतिहास अध्येताका लागि उपहार हो। रामजी उपाध्यायको 'नेपालको इतिहास दिग्दर्शन' भरखरै मात्र सार्वजनिक भएको छ। यो पनि अध्येताका लागि राम्रो खुराक बन्न सक्छ।

‘झापा विद्रोह’ को स्मरणमा आधारित कुमार भट्टराईकृत ‘२८ साल’, प्रा सूर्य सुवेदीको जीवनी 'सूर्य सुवेदी : महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म' पनि वर्ष २४ मै आए । मीना आचार्यको आत्मकथा 'स्वतन्त्रता र समानताको निरन्तर यात्रा', पूर्वसैनिक सचिव रथी विवेककुमार शाहको ‘दरबारबाट देखेको नेपाल’ संस्मरण यही वर्ष सार्वजनिक भयो । सीके राउतको वैरागदेखि बचावसम्मको पुन: प्रकाशन यही वर्ष भयो । हालै प्रकाश सायमीले नारायणगोपालको जीवनीका अनेक पाटा खोतल्दै 'स्वरसम्राट नारायणगोपाल' ल्याएका छन् ।

उपन्यास

पूर्वी पहाडको आञ्चलिकता र पारिवारिक द्वन्द्वको कथासहित पत्रकार बसन्त बस्नेत 'सिमसारा' उपन्यास लिएर आए। भाषा र शब्दविन्यासका कारण उपन्यास पाठकले रुचाइरहेका छन्। 

सरस्वती प्रतीक्षा उपन्यास 'स्व' लिएर आइन्। मूल कथामा बौद्धमार्गप्रतिको प्रेम भए पनि उपन्यासले आफूले आफैलाई चिन्न स्वअस्तित्वको खोजी गर्छ । मिठो भाषाशैलीमा रहेको पुस्तकले अपेक्षित चर्चा भने पाउन सकेन । बुद्धको जीवनीमा आधारित शैलेन्द्र अधिकारीको 'अर्हत्' र बुद्ध दर्शन नै समातेको सिर्जन अविरल 'तथागत' सार्वजनिक भयो। सानै उमेरमा गुम्बामा पुगेकीआनीकोकथा उपन्यासमा छ। यी तीनै लेखकको मोह बुद्ध दर्शन र त्यसका आयाममा केन्द्रित देखिन्छ।

वृद्धा आमालाई त्याज्य बनाउने परिवारको कथामा आधारित पत्रकार अखण्ड भण्डारीको उपन्यास 'बोरा', मिलन संग्रौलाको 'बावऋ', एआई र रोबोटिक्समा आधारित श्रीधर खनालको 'सावर्णि' उपन्यास पनि यही वर्ष आए । सरला गौतमको 'अम्रिकाने काशी' रूपचन्द्र विष्टको जीवनीमा आधारित टंक चौलागाईंको ‘रुदाने’ उपन्यास सार्वजनिक भए। प्रयोगपरकता रुचाउने रोशन थापा 'नीरव' ले उपन्यास 'सन्त्रासका साठी दिन' ल्याए।

आफ्ना बालाई केन्द्रमा राखेर लेखिएको उपन्यास 'मोहोर'का साथ सागर गैरे आए। क्रान्ति पराजुलीको 'प्रिय स्वप्नद्रष्टा', अनिता कोइरालाको 'उज्यालो औंसी', प्रकाश तिवारीको '९६ गड्डी', राधा पौडेलको किशोर उपन्यास 'उत्सव' यही वर्ष बजारमा आए।

कथा 

उषा शेरचनले नयाँ कथासंग्रह 'बेग्लै म'को फेसबुक लाइभमार्फत भर्चुअल विमोचन गरिन्। कोरोना महामारीका बेला लेखिएका र  २०३५ सालमै एक पत्रिकामा छापिएको कथालोपलाई समेत सङ्ग्रहमा समावेश गरेकी छन्। राधिका कल्पितको कथा 'सम्मोहन', सुदूरपश्चिमको आञ्चलिकतामा खेम बतासको 'बुढीपोल्ली', सानु शर्माको 'अर्को देशमा', चित्र माबोको'डोलीभर्ना' कथा वर्ष २४ मै आए । कवि रमेश क्षितिज कथाकार अवतारमा देखिए 'एउटा मायी नगरमा' मार्फत। काव्यिक कोमल भाषाशैलीको बुनोटमा रहेका कथा पाठकका लागि नयाँ हुन सक्छन्।

कविता

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले कवितासंग्रह 'अश्र'को आकस्मिक उपहार दिए।

कवि आर्यशको पहिलो कवितासङ्ग्रह 'म तिमी आउनुअघि नै गइसकेको थिएँ' यसै वर्षप्रकाशन भयो। गगन योक्पाङ्देनको ‘केवाफुङ्को गीत’, सुरज रानाको 'जब कविता निस्कन्छ जुलुसमा', जुनु रानाको 'रातो नदी' पनि सार्वजनिक भए। कवि तथा व्यंग्यकार विमल निभाको 'सत्र भोका काग'लेकविवृतमा चर्चा पाइरहेको छ। 

निबन्ध

यसै वर्ष आएको रोशन शेरचनको निबन्धसंग्रह 'गल्ली संसार'ले  उत्तम शान्ति पुरस्कार प्राप्त गर्यो र कुमारी लामाको 'दर्ज्यु संलाप', प्रदीप सापकोटाको 'यात्राको लय', मोमिलाको 'प्रश्नहरू त बाँकी नै रहन्छन्' जस्ता पुस्तकले निबन्धका पाठकलाई नयाँ स्वाद पस्केका छन् ।

कान्तिपुर

Link copied successfully