काठमाडौँ — सन् २०२४ सडक पूर्वाधारका लागि औसत वर्ष रह्यो । बाढी पहिरोले सबैभन्दा बढी सडक पूर्वाधारमा क्षति हुन पुग्यो । त्यसमा पनि बढी क्षति राजधानीलाई पूर्वी तराईसँग जोड्ने बीपी राजमार्गमा भयो । अहिले यो सडक अस्थायी रूपमा खोला तर्काएर सञ्चालन गरिएको छ । बजेट अभावमा स्थायी संचरनाका लागि ठेक्का हुन सकेको छैन । दैनिक ७ हजार बढी सवारी साधन यो सडक भएर ओहरदोहर गर्छन् ।
काभ्रेभन्ज्याङ–नेपालथोक खण्डको १२ किलोमिटर सडकमा गत असोज १० देखि १२ सम्म आएको बाढीपहिरोले क्षति गरेको हो । यसको ८.७ किमि सडकखण्ड रोशी खोलाले बगाएको छ । डाइर्भसन गरेर बनाइएको सडकमा सवारी चाप उच्च भएकाले दिनहुँ ट्राफिक जामको समस्या छ । काभ्रेको चौकीडाँडादेखि मुल्कोटसम्मको सडकमा समस्या छ । त्यसमा पनि बढी समस्या चौकीडाँडादेखि नेपालथोक खण्डमा छ ।
बाढीले सिन्धुली खण्डमा कम र काभ्रे खण्डमा बढी क्षति पुर्याएको हो । यसको अहिले निर्माणमा नै जाने गरी थालिएको अध्ययन अन्तिम चरणमा छ । प्रारम्भिक अध्ययन अनुसार निर्माणमा साढे ९ अर्ब लाग्ने अनुमान छ । अहिलेसम्म बजेटको जोहो हुन सकेको छैन । बजेट पाए बैशाखसम्म निर्माणमा जान सकिने दाबी सडक विभागको छ ।
बीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेलदेखि महोत्तरीको बर्दिबाससम्म १ सय ५८ किमि जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको हो । करिब २० वर्ष लगाएर यसको निर्माण गरिएको थियो । राजधानीलाई पूर्वी तराईसँग जोड्ने गरी सन् १९९६ मा यो सडक निर्माण सुरू गरेर २०१५ मा सम्पन्न गरी जापानले नेपाललाई हस्तान्तरण गरेको थियो । बाढीले अहिले यो सडकमा सबैभन्दा बढी क्षति गरेको हो ।
असोज ११ मा अविरल बर्षासँगैको पहिरोले नागढुंगा–नौबिसे–मुग्लिन सडक खण्ड अस्तव्यस्त बन्यो । ५ सय भन्दा बढी स्थानमा पहिरो खस्दा पन्छाउन सरकारी संयन्त्रलाई हम्मे-हम्मे परेको थियो । यातायात ठप्प बन्यो । यात्रु र दैनिक उपभोग्य बस्तु राजधानी भित्रन पाएनन् । सडक खण्डमा पहिरोले गर्दा ठूलो मानवीय क्षति भयो । नागढुंगाबाट २.७ किमि खण्डमा रहेको झ्याप्ले खोलानजिकै पहिरो खस्दा सडकमा रोकिराखेका यात्रु सवार दुईवटा माइक्रो र एउटा यात्रु बस पुरिए । 
त्यसमा सवार ३५ जना यात्रुको पहिरोमा पुरिएर मृत्यु भयो । एक वर्षको अवधिमा सबैभन्दा ठूलो क्षति सडक पूर्वाधारमा भएको सडक विभागका महानिर्देशक रामहरी पोखरेलले बताए । ‘बाढीले सडक बगायो, मानवीय क्षति हुन पुग्यो,’ उनले भने, ‘समग्रमा सन् २०२४ साल सडक पूर्वाधारका लागि औसत वर्ष रह्यो ।’ उनका अनुसार बाढीले पहिरोले पुल समेत बगाएर सडक सम्पर्क बन्द हुन पुग्यो ।
सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको खुर्कोट पुल बाढीले बगायो । जहाँ नेपाली सेनाको अगुवाइमा अस्थायी रुपमा बेलीब्रिज बनाएर सडक सञ्चालन गरिएको थियो । खोटाङ, सिन्धुपाल्चोकलगायत जिल्लामा आधा दर्जन बढी पुलमा बाढीले क्षति पुर्याएको थियो । बाढीले बगाएको बीपी राजमार्ग असोज २५ बाट सञ्चालनमा आएको थियो । कान्ति राजमार्ग पनि दसैं अघि नै सञ्चालनमा ल्याइएको थियो ।
त्यस्तै, चन्द्रागिरि–चित्लाङ–कुन्छाल–हेटौंडा,काठमाडौं–दक्षिणकाली–सिस्नेरी–कुलेखानी–हेटौंडा र नौबिसे–पालुङ–हेटौंडा सडकमा बाढीले क्षति गरेको थियो । दसैंअघि नै यी सडक मर्मत गरेर सञ्चालनमा ल्याइयो । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि काठमाडौं/तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को खोकना खण्डको जग्गा विवाद टुंगिन सकेन । ६.५ किमिको उक्त खण्डको समस्या समाधान हुन नसक्दाको प्रभाव समग्र आयोजनामा परेको छ । त्यस्तै चक्रपथ दोस्रो खण्ड विस्तारमा पनि अघिल्लो वर्ष जस्तै यो वर्ष केही प्रगति हुन सकेन ।
यस सडकको प्रगति भनेको नेपाल र चीन सरकारका प्रतिनिधिबीच विस्तारमा सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भयो । त्यसपछि थप प्रगति केही छैन । गत भदौ ६ मा नेपाल र चीन सरकारका प्रतिनिधिबीच विस्तारमा सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो । तर चार महिना बितिसक्दा पनि प्रगति केही भएको छैन । चीनको अनुदानमा दोस्रो खण्ड कलंकीदेखि बसुन्धरा कर्ल्भटसम्म ८.२ किलोमिटर सडक विस्तार गर्न लागिएको हो । जथाभावि सडक भत्काइएकाले अहिले धुलो र ट्राफिक जामको सास्ती थपिएको छ ।
सन् २०२४ मा पूर्वाधार क्षेत्रमा केही उपलब्धीहरू पनि रहे । बहुचर्चित आयोजना फास्ट ट्र्याकमा पर्ने दुईवटा सुरुङ छिचोलिएका छन् । मकवानपुरका लेनडाँडा र धेद्रेमा रहेका निजगढबाट काठमाडौंतर्फ आउने अनि काठमाडौंबाट निजगढतर्फ जाने दुईवटै सुरुङ छिचोलिए । धेद्रे सुरुङको निजगढबाट काठमाडौंतर्फ आउने खण्ड गत जेठमा छिचोलिएको हो, यसको दूरी १.६५ किमि छ । धेद्रेकै काठमाडौंबाट निजगढतर्फ निस्कने १.७२८ किमि दूरीको सुरुङको गत साउन २१ मा ‘ब्रेक थ्रु’ भएको हो ।
लेनडाँडामा रहेको निजगढबाट काठमाडौंतर्फ जाने १.६१२ किमि सुरुङको ‘ब्रेक थ्रु’ असार २० मा भएको थियो भने काठमाडौंबाट निजगढतर्फ निस्कने १.६३३ किमि सुरुङको ‘ब्रेक थ्रु’ गत जेठ ४ मा गरिएको थियो । महादेवटार सुरुङ ‘ब्रेक थ्रु’को अन्तिम तयारीमा छ । निर्माण थालेको ५३ महिनामा गत बैशाख ३ मा नागढुंगा–सिस्ने खोलाको मुख्य सुरुङ मार्ग ‘ब्रेक थ्रु’ गरिएको छ । मुख्य सुरुङको दूरी २.६८८ किमि रहेको र अहिले यसको फिनिसिङको काम भइरहेको छ ।
‘राम्रो उपलब्धी भनेको नागढुंगा सुरुङमार्ग छिचोलियो,’ उनले भने, ‘यो सुरुङबाट सवारी साधन सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।’ अघिल्ला वर्षहरू जस्तै यस वर्ष पनि नारायणगढ–बुटवल सडक विस्तारमा प्रगति हुन सकेन । यो खण्ड भएर ओहरदोहर गर्ने यात्रु, चालकले यात्रा क्रममा सास्ती खेपी रहनै पर्यो । मुग्लिन–पोखरा सडक खण्डमा भने तुलनात्मक रुपमा यो वर्ष केही प्रगती बढेको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ ‘ब्रेक थ्रु’ गर्ने अन्तिम तयारी छ । मुख्य सुरुङको लम्बाइ १ हजार १ सय २६ मिटर छ । तीन वटा क्रस पासेजको दुरी ४ सय ४१ मिटर रहेकोमा तीनवटैको ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरुङ र क्रस पासेजसहितको कुल दूरी १ हजार ५ सय ६७ मिटर छ । ठेक्का भएर काम भइरहेका काँकडभिट्टा–लौकही, कमला–कञ्चनपुर, नागढुंगा–मुग्लिन, सुर्यविनायक–धुलीखेल सडक विस्तारको काममा भने आशातित प्रगति देखिएन ।
