राष्ट्रकवि घिमिरे पुरस्कार खरेललाई

आश्विन ८, २०८१

कान्तिपुर संवाददाता

National Poet Ghimire Award to Kharel

काठमाडौँ — राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०५औं जन्मजयन्तीका अवसरमा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा सोमबार राष्ट्रपति भवन शीतल निवासमा पुरस्कार वितरण गरिएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार यस वर्ष गीतकार किरण खरेललाई प्रदान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रदान गरिएको उक्त पुरस्कार राशि १ लाख रुपैयाँ रहेको छ । 

पुरस्कार वितरण समारोहमा बोल्दै राष्ट्रपति पौडेलले राष्ट्रकवि घिमिरेको नेपाली साहित्य क्षेत्रमा अतुलनीय योगदान रहेको बताए । ‘राष्ट्रकवि घिमिरेका साहित्यिक सृजना हाम्रै पाखापखेराका नेपाली जनजीवनका भोगाइ, प्रकृति, संस्कृति र मानवीय संवेदना मात्र नभई राष्ट्रिय भावनाले ओतप्रोत भएको पाइन्छ,’ राष्ट्रपति पौडेलले भने, ‘यसले भाषा, साहित्य मात्र नभएर समग्र वाङ्मयको क्षेत्रलाई समृद्ध बनाउन र हाम्रो राष्ट्रिय स्वाभिमानको भावना अभिवृद्धि गर्न योगदान दिएको छ ।’ उनले राज्यले मात्र नभई जनस्तर र वाङ्मयप्रेमीले पनि स्रष्टाको सम्मानमा कन्जुस्याइँ गर्न नहुने बताए । 

साथै, नेपाल प्रज्ञा प्रतिष्ठानको ६७ औं वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सवमा विजयी कविहरूलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गरेका थिए ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully