वैदेशिक रोजगारीमा रहेका पतिको माया पर्खेकी ‘बुलबुल’ की रणकला होस् वा वैदेशिक रोजगारीमा छँदा निधन भएका पतिको लासलाई सँगै गाडीमा राखेर यात्रा गर्दा चालकसँग नजिकिएकी पुष्पामा बाँचिरहँदा स्वस्तिमाले यस्ता चरित्रको मनोविज्ञान बुझ्न थालेकी छन्
काठमाडौँ — उमेरले ३० छुनै लाग्दा मीनालाई बिहेको दबाब बढ्दो छ । उनको घरबार बसेको देख्न चाहन्छन्, छिमेकी । परिवारलाई पनि छोरीको बिहे गराइदिने हतारो उस्तै छ । यस्तो दबाबमा मीनाले कस्तो निर्णय लिन्छिन् होला त ? असोज १७देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुलीफ्रम मेघौली’ की उनै मीनालाई पछ्याउनुपर्नेछ । उक्त पात्रको भूमिकामा छिन्, अभिनेत्रीस्वस्तिमा खड्का ।
स्वस्तिमा पनि यतिबेला २९ वर्षकी भइन् । तर, स्वस्तिमाले भने मीनाले जस्तो बिहेको दबाब झेल्नु परेन । २० वर्षकै छँदा निर्देशक निश्चल बस्नेतलाई आफैंले पति छानिन् । तर, मीनाको जस्तो समस्या उनले साथीसंगीबाट महसुस भने गरेकी छन् । भन्छिन्, ‘मेरो नजिकका कति साथीहरूलाई फिल्म देखाउँदा यो त मेरै लागि बनेको हो भन्दै पनि थिए ।’
मीना चरित्रमा बाँचिसकेपछि स्वस्तिमाले बुझेकी छन्, दक्षिण एसियाली क्षेत्रमा बिहेलाई लिएर निश्चित उमेर समूह तोकिदिएको छ । हिजो २० कट्दा बिहेको दबाब हुन्थ्यो, अहिले ३० छुन लागेका महिलाहरू ‘बिक्दैनन्’ भन्ने गलत भाष्य छ । समाजमा मीनाजस्ता चरित्रले बिहेका लागि समाज र परिवारको अनावश्यक दबाब झेल्दै आएको स्वस्तिमालाई लाग्छ । ‘मीना चरित्र गरिरहँदा बिहे गर्ने आफ्नो इच्छामा भन्दा पनि नातागोता, छरछिमेकीको दबाब धेरै हुँदो रहेछ । त्यही दबाबले परिवारमा पनि दबाब सिर्जना हुन्छ,’ स्वस्तिमा सुनाउँछिन्, ‘छोरीले पार्टनर छान्नुमा भन्दा परिवार पर्फेक्ट ज्वाइँको खोजीमा हुँदोरहेछ ।’
स्वस्तिमाले भने वास्तविक जीवनमा यस्ता दबाब झेल्नुपरेको छैन, आफ्ना लागि आफैं निर्णय लिँदै आएकी छन् । निश्चलसँग बिहे गर्ने निर्णय पहिलो पटक सुनाउँदा परिवार नै छक्क परेका थिए । किनभने स्वस्तिमाको त्यसअघि घरमा समेत बिहेको कुरै चलेको थिएन, न कोही बिहेको प्रस्ताव लिएरै आएका थिए । स्वस्तिमा ‘बुलबुल’ र ‘चिसो मान्छे’ मा आफूले गरेको चरित्रभन्दा निकै फरक भएको बताउँछिन्, मीनालाई ।
मीनामा ढल्न आफूले यो पात्रको आन्तरिक पक्षलाई समातेको उनी बताउँछिन् । तर, अहिले पनि चरित्र निर्माणमा पात्रको आत्मालाई छुनुभन्दा पनि बाहिरी आवरणमै धेरै ध्यान दिइने गरेको स्वस्तिमाले ‘बेहुली फ्रम मेघौली’ गर्दा अनुभव गरेको बताइन् । यो फिल्मकी निर्माता पनि हुन्, स्वस्तिमा । कलाकारलाई फिल्ममा अनुबन्धित गर्ने क्रममा यो पटक स्वस्तिमाले पर्दा पछाडि रहेर यी कामहरू नियालिन् । कुनै कलाकारलाई भूमिका दिँदा उनीहरू सुरुमै चरित्रको लुक्सलाई लिएर चिन्तित हुन्थे ।
‘पर्दामा राम्रो देखियो भने चरित्रमा काम गरेको होइन भन्ने छ । भुइँमान्छेको चरित्र बाँचिदियो भने चरित्रमा खतरा काम गर्यो भन्ने बुझाइ छ । खासमा यो भाष्य हामीले हटाउनुपर्छ जस्तो लाग्छ,’ उनले भनिन्, ‘कोही अभिनेत्री पर्दामा चिट्टिक्क बनेको छ भने त्यो पनि चरित्र हो । त्यो चरित्र कस्तो देखियो भन्दा पनि त्यो चरित्रको आन्तरिक पाटोमा कलाकारले कति काम गर्यो त्यो महत्त्वपूर्ण हो ।’
चरित्र निर्माणमा पुरुष कलाकारले झैं मिहिनेत गरिरहँदा महिलाहरूले भने अझै पनि ‘हिरोइन’ बन्न सम्झौता गरिरहनुपरेको स्वस्तिमाको बुझाइ छ । ‘हिरोइन भइसकेपछि शरीर सधैं एकैनास देखिनुपर्ने, हाँस्दा होस् वा रुँदा जतिबेला पनि राम्री नै देखिनुपर्ने रे,’ स्वस्तिमाले भनिन् । दोस्रो फिल्म ‘लभ लभ लभ’ मा स्वस्तिमाको चरित्रले अस्पतालमा रुनुपर्ने दृश्य थियो । उक्त दृश्यमा स्वस्तिमा मास्कसहित भित्र प्रवेश गरेकी हुन्छिन् । तर, उक्त दृश्यमा निर्देशक दीपेन्द्रकुमार खनालले मास्क खोल्न लगाएको स्मरण गर्दै भनिन्, ‘तिमी हिरोइन हो, मास्क त खोल्नुपर्यो नि भनियो ।’
तर ‘चिसो मान्छे’ सम्म आइपुग्दा तिनै निर्देशक ‘हिरोइन’ प्रति निकै फेरिएको महसुस गरेको पनि उनले सुनाइन् । ‘चिसो मान्छे’ को चरित्र निर्माणमा दीपेन्द्रले स्वस्तिमालाई स्वतन्त्र छोडिदिएका रहेछन् । त्यतिबेला निर्देशक दीपेन्द्रले उनलाई कहिल्यै पनि ‘हिरोइन राम्री देखिनुपर्छ’ भन्ने पक्षमा जोड दिएनन् रे । ‘सौन्दर्यको आ–आफ्नै भाष्य होला । मैले ‘चिसो मान्छे’ मा गरेको चरित्र निकै सुन्दर लाग्छ । तर, त्यो चरित्र गरिरहँदा निर्देशकले मलाई तिमी हिरोइन हौ अनुहार चिट्टिक्क देखाउनुपर्छ भनेर कहिल्यै भन्नुभएन,’ उनले भनिन् । ‘चिसो मान्छे’ को पुष्पा चरित्रका लागि लवजमै पनि स्वस्तिमाले निकै मिहिनेत गरेकी थिइन् ।
स्वस्तिमाले अभिनय पढेकी होइनन् । इन्जिनियरिङ पढिरहँदै अभिनयतिर ढल्किइन् । हरेक प्रोजेक्ट उनका लागि सिकाइ बने । ‘खासमा जीवन भनेको नै सिकाइ रहेछ । अभिनय पढेर आइन, तर परेर सिकें । मेरो सर्कल अभिनय पढेर आएकाहरू भए,’ स्वस्तिमा सुनाउँछिन्, ‘पहिलो फिल्म (होस्टेल रिटर्न्स) मै पनि नाजिरलगायतका धेरै कलाकार थिएटरबाट आएका थिए । उनीहरूको काम गर्ने तरिका हेर्दा अभिनय मैले सोचेजस्तो रहेनछ भन्ने बुझिसकेको थिएँ । अभिनय योभन्दा धेरै हो भन्ने बुझाइ हुँदै आयो ।’
स्वस्तिमालाई ‘बुलबुल’ गर्नु अगाडिदेखि नै यस किसिमको फिल्म गर्ने मन थियो । ‘खासमा म त्यस्तै फिल्म कुरिरहेको थिएँ,’ स्वस्तिमाले भनिन् । ‘बुलबुल’ को स्क्रिप्ट उनले निश्चलबाटै पाएकी थिइन् । तर निश्चलले नै भनेका थिए, ‘यस्तो चरित्र गर्न सक्दैनौ होला तिमीले ?’ त्यो कुराले झन् आफूलाई प्रमाणित गर्ने अठोट गरिन्, स्वस्तिमाले । ‘स्वस्तिमाले गर्न सक्दिन भन्ने नहोस् भन्ने लाग्थ्यो सधैं,’ उनले भनिन् ।
फरक फिल्महरूसँगै स्वस्तिमाले अभिनय मात्रै सिक्दै आइनन्, तिनका चरित्रहरूमार्फत आफ्नै व्यक्तित्व विकास भएको अनुभव पनि गरेकी छन् । ‘बुलबुल’की रणकला वैदेशिक रोजगारीमा भएका पतिको पर्खाइमा छिन्, वर्षौंदेखि । रणकलालाई मायाको खाँचो छ । चोपेन्द्र पात्रसँग नजिकिँदै जान्छिन् । एउटा दृश्यमा रणकला उक्त पात्रसँग शारीरिक सम्बन्धमा अगाडि बढेको देखाइएको छ । रणकला बनिसकेपछि उनले रणकलाका आवश्यकता र परिस्थितिहरूलाई बुझ्दै गइन् । ‘जब उक्त पात्रलाई फिल्म रिलिज भइसकेपछि हलमा हेरें तब मलाई लाग्यो मैले यो चरित्रलाई किन साँघुरो सोचसहित हेर्ने ? रणकला बाँचिसकेपछि मलाई उक्त पात्र झनै सही लाग्यो,’ उनले भनिन् ।
‘चिसो मान्छे’ की पुष्पाकै चरित्र गर्दा पनि त्यस्तै भएको थियो रे उनलाई । धेरैले पुष्पा चरित्रलाई प्रश्न गर्न थालिसकेका थिए । पतिको लास गाडीमा छ, ससुरा छेउमा छन् अनि पुष्पा छेउको ड्राइभरतर्फ आकर्षित हुन सुहाउँछ ? ‘पुष्पाजस्तै चरित्रलाई अब म जज गर्दिनँ । त्यो चरित्र नगरेको भए त्यस किसिमका चरित्रलाई मैले पनि जज गर्थें होला । फरक दृष्टिकोण बोकेको यस्तो चरित्रले आफैंलाई पनि फरक आयाममा सोच्न लगाउँदो रहेछ,’ स्वस्तिमा परिपक्व सुनिइन् ।
