माछा परिकार, आर्थिक भर

आठ वर्षअघि नै १७ वर्षको उमेरमा माछा खुवाउन होटल सुरु गरेका आशिष अहिले दैनिक ४० हजार रुपैयाँसम्मको खाना, खाजा बेच्छन्, उनी यहीं जाँगर चलाउने हो भने युवाहरू वैदेशिक रोजगारका लागि भासिनु नपर्ने बताउँछन्

आश्विन ७, २०८१

अर्जुन शाह

Fish dishes, economical filling

धनगढी — वारिपारि सल्लाको जंगल, बीचमा नागबेली आकारमा बगिरहेको बुढीगंगा नदी । बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी सडक भर्खर कालोपत्र गर्ने सुरसार हुँदै थियो । त्यही बेला १७ वर्षको उमेरमा आशिष कार्कीले बाजुराको बडीमालिका–६ रापकनजिक बुढीगंगा किनारमा काठको सानो छाप्रो बनाए ।

छेवैमा बग्ने बुढीगंगा नदी र त्यही नदीमा प्रशस्तै पाइने स्वादिष्ट माछाका परिकार बनाएर होटल चलाउने सोचले उनले अस्थायी छाप्रो बनाएका थिए । 

‘दिउँसो स्कुल जान्थें, साँझ–बिहान मात्र माछा पकाएर बिक्री गर्थें । आफ्नो पढाइ र व्यक्तिगत खर्च होटलकै कमाइबाट चल्थ्यो,’ आशिषले सुरुसुरुका दिनहरू सम्झँदै भने, ‘एसएलसी दिइसकेपछि त पूर्ण रूपमा यसैमा लागें ।’ पाँच वर्षअघि उनले सुरु गरेको छाप्रोको होटललाई अलिकति फराकिलो बनाए । साँझ–बिहानको समयमा माछा पकाएर बिक्री गर्दै आएको समयलाई बढाएर दिनभर चलाउने तयारी गरे ।

माछासँगै इच्छुक ग्राहकलाई स्थानीय परिकारको खाना पस्कन सके राम्रै व्यापार हुन्छ कि भन्ने सोचे, अनि त्यसै अनुरूप चाँजोपाँजो मिलाए । केही गरौं भन्ने जाँगर अनि मिहिनेतमा विश्वास गर्ने आशिष छेवैमा बगिरहेको बुढीगंगामा पाइने माछाकै परिकारको ‘ब्रान्ड’ बनाएर बिक्री गर्न सके राम्रो आम्दानी गर्न सकिनेमा विश्वस्त थिए । उनले सुरुआत पनि त्यसरी नै गरे । 

Fish dishes, economical fillingदैनिक माछा मार्ने गाउँलेहरू तमाम थिए । उनले नियमित माछा मार्ने व्यवसाय गर्दैर् आएका गाउँलेहरूको माछा पनि नियमित रूपमा आफूले किन्दिने भए । बाजुरा सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडक कालोपत्र भयो । सवारीसाधन तथा यात्रुको चाप बढ्न थाल्यो । सदरमुकाम मार्तडीबाट करिब ५/७ किलोमिटरको दूरीमा समथर फाँट, नजिकै मनमोहक बिरे झर्ना । छुट्टीको दिन घुमघाम गर्दै बुढीगंगाको किनारमा बसेर माछाका अनेक परिकारको स्वाद चाख्न चाहने मार्तडीका कर्मचारीदेखि स्थानीय पारखीका लागि त सहज र नजिकको एकमात्र गन्तव्य बन्यो रापक । त्यही रापकमा माछाका परिकारका लागि चर्चित बनिसकेको थियो, आशिषको माछा पसल ।

स्वादका पारखी ग्राहकका अनेक इच्छाअनुसार कसैलाई ताजा माछाको सुप त कसैलाई माछाको सुकुटीको परिकार पस्कन थाले आशिषले । यहाँ पाइने सुको माछा ७ सय रुपैयाँ प्रतिकिलो पर्छ । त्यसको सुकुटी नै प्रतिकिलो साढे चार हजार पर्ने उनले बताए । ‘ग्राहकको चाहनाअनुसारका स्वाद पस्किने प्रयास गर्छु,’ आशिष भन्छन्, ‘हिजोआज त छुट्टीको दिन ग्राहकको थेगिनसक्नु घुइँचो पो हुन्छ ।’ दैनिक १० देखि १५ किलोसम्म माछाका परिकार बिक्री गर्छन् उनी । लोकल चामल, त्यहींको बारी र कान्लामा उत्पादित विभिन्न प्रकारका तरकारी । ‘बाहिर जिल्लाका ग्राहकहरूको खुबै माग आउँछ,’ आशिषले भने, ‘बाहिरबाट आयातित कुनै पनि खाद्य सामग्री प्रयोग नगरी रैथाने मरमसलाबाटै खानाखाजा बनाउने गरेको छु ।’

तीन भाइ र एक बहिनीमाथिका जेठा आशिषको व्यापार चम्कँदै थियो । तर केही महिनाअघि रातको समयमा उनको होटलमा आगजनी गरिदियो कसैले । सल्लाको काठबाट बनाइएको होटलको संरचनासँगै सबथोक क्षणभरमै खरानी भयो । ‘मैले तुरुन्तै जिल्लामा प्रहरीलाई खबर गरेको थिएँ, तर कुनै वास्ता गरेनन् । न त पछि पनि खोजबिन नै गर्दिए,’ आशिष दुखेसो पोख्छन्, ‘कसैले मलाई लडाउने प्रयास गर्‍यो । तर मैले हिम्मत हारिनँ । भौतिक चिज पो गयो त, म त छँदै छु, मेरो हिम्मत त छँदै छ नि भन्ने सोचें ।’ त्यसपछि तीन दिनमै खरानी भएको पुरानो संरचनामा नयाँ र अझ व्यवस्थित संरचना खडा गरे । अचेल उनको व्यापार झन् फस्टाएको छ । 

Fish dishes, economical filling‘कमै व्यापार भएको दिन पनि २० हजार रुपैयाँ हुन्छ । राम्रै भएको दिन त ४० हजारसम्म पुग्छ । दैनिक तीन हजार त केही गरी पनि नाफा भइहाल्छ,’ विगत ८ वर्षदेखि यही काममा रत्तिएका आशिषले आफ्नो व्यापारिक हिसाबकिताब सुनाए । उनको गाउँ बाजुराको पानीनाउलालगायत आसपासका अधिकांश युवामा वैदेशिक रोजगारको लहर चलिरहेका बेला आशिष भने गाउँमै उद्यम गर्दै जमेर बसेका छन् ।

उनलाई विदेश काम गर्न जाने कुराले कहिल्यै आकर्षित गरेन रे । भन्छन्, ‘विदेश जानु पनि त पैसा कमाउनकै लागि न हो । पैसाकै लागि घरपरिवार छाडेर परदेशमा एक्लो हुनुभन्दा युवाहरूले आफ्नै गाउँघरमा जाँगर चलाए भने केही न केही गर्न सक्छन् । मलाई त यहीं अनेक अवसर छ भन्ने लाग्छ ।’ 

युवा ग्यालरी

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully