काठमाडौं कलिङमा कर्णाली

भाद्र १८, २०८०

कलेन्द्र सेजुवाल

काठमाडौँ — ‘नदेखिएको कर्णाली, नलेखिएको कर्णाली’ । शुक्रबारदेखि तीन दिनसम्म चलेको काठमाडौं कलिङ साहित्य महोत्सवको एउटा सत्रको शीर्षक हो यो । ओम रिजाल सहजकर्ता रहेको उक्त सत्रमा मात्र होइन, उत्सवमा कर्णालीको प्रतिनिधित्व बाक्लै देखियो । कर्णालीबाट आएका अध्येता, लेखक, साहित्यकार र सर्जकले कर्णालीलाई चिनाउने मौका पाए ।

 कर्णाली कस्तो छ ? ‘हटारु’ का लेखकसमेत रहेका सहजकर्ता रिजालको प्रश्नमा प्राज्ञ मधुसूदन गिरीको जवाफ थियो, ‘हात्तीजस्तो’ । ‘कर्णाली हात्ती हो । खुट्टा छाम्नेले खाँबोजस्तो भन्छन् । कान छाम्नेले सुपो (नाङ्म्लो) जस्तो भन्छन्,’ उनले भने, ‘अहिलेसम्म कसैले पनि सिंगो हात्ती छाम्न सकेकै छैन ।’ उनले कर्णालीमाथि अध्ययन–अनुसन्धान गर्नेमध्ये केहीमात्र गहिराइमा पुग्ने गरेका बताए । कतिपयले निहित स्वार्थ राखेर सतही अध्ययन गर्ने गरेका उनको दाबी छ । नेपाली भाषाको माउ मानिने खस भाषालाई अहिले भाषिकाका रूपमा राखिनु दुःखद् भएको उनको भनाइ छ ।

 रिजालको सोही प्रश्नमा ‘उज्यालो कर्णाली’ का लेखक प्रतीक ढकालले ‘मोसो लागेको लालटिन’ को सिसाको संज्ञा दिए । ‘कर्णालीले मुलुकलाई भाषा दियो, सभ्यता दियो अनि प्रजातन्त्रको परिभाषा दियो,’ ढकालले प्रस्ट्याउँदै भने, ‘कर्णालीमा सबै चिज तयार छ, कपडाले मोसो पुछ्यो भने झलमल्ल हुन्छ ।’ कर्णालीमा चर्चित प्राचीन गीति उखानले प्रजातन्त्रको परिभाषा सिकाएको उनले बताए ।

गीत हो, ‘उङ्कुस्यामा हात्ती बस्या, पाउटी बस्या बाज, मान्ठ बस्या मर्यादामा चल्छ राजकाज ।’ हात्ती र बाज आफ्नो बस्ने ठाउँमा बसेझैं मान्छे पनि आफ्नो मर्यादामा बसेमा राजकाज राम्रोसँग चल्ने कर्णालीको बुझाइ रहेको उनले बताए । 

‘भाषाको बकपत्र’ का लेखकसमेत रहेका मध्यपश्चिम विश्वविद्यालयका पूर्वरजिस्ट्रार महेन्द्रकुमार मल्लले विश्वविद्यालयीय शिक्षामा कर्णालीलाई लेख्ने र देखाउने काम भएको बताए । कर्णालीको भाषा, संस्कृति र सभ्यतालाई विश्वव्यापी रूपमा प्रचार–प्रसार गर्न स्नातकोत्तर तहमा लोकवार्ता विज्ञान विषयको अध्यापन थालिएको उनको भनाइ छ । ‘कर्णालीको जलस्रोतको अपार भण्डारलाई उच्च शिक्षामा अध्ययन–अनुसन्धानको क्षेत्र बनाउन नेपालमै पहिलोपटक हाइड्रोपावर इन्जिनियरिङ पढाइ सुरुवात गर्‍यौं,’ उनले भने, ‘मध्यपश्चिम विश्वविद्यालयले पनि कर्णालीलाई देखाउने र चिनाउने काम गरिरहेको छ ।’ 

 सामाजिक अभियन्ता राधिका बुड्थापाले इस्वी सन् ७४२ भन्दा अगाडि कर्णालीमा मातृसत्ता रहेको उल्लेख गर्दै कर्णालीको गर्विलो लैंगिक इतिहास सुनाइन् । ‘कर्णाली कहिले छाउपडीमा दुख्छ त कहिले छोइछिटोमा पोखिन्छ,’ उनले भनिन्, ‘तर खासमा प्राचीनकालदेखि कर्णाली सभ्य, सुन्दर र समृद्ध छ ।’ ‘नदेखिएको कर्णाली, नलेखिएको कर्णाली’ सेसनका अतिरिक्त उत्सवमा कर्णालीबाट उदाएका करिब एक दर्जन स्रष्टा सहभागी भए । ‘औषधि र सिर्जना’ सेसनमा ‘शून्यको मूल्य×’ का लेखक नवराज केसीले हरेक व्यक्ति अस्पतालमा रोगमात्र नभई जीवन बोकेर जाने भएकाले चिकित्सक र स्वास्थ्यकर्मी सबैभन्दा बढी भावनात्मक हुनुपर्ने बताए । उत्सवमा कर्णालीका साहित्यकारहरू पहल असीम, महेश के. भट्टराई, हेमन्त हेमलक, धीरेन अनुपमलगायतले गजल, कविता सेसनमा सहभागिता जनाएका थिए ।

युवा ग्यालरी

कलेन्द्र

Link copied successfully