नेवार समुदायले हरेक वर्ष भाद्र कृष्ण द्वितीयामा मतयाः जात्रा मनाउने गर्छन् । समसामयिक विषयवस्तुमाथि व्यंग्य प्रस्तुत गरिने यो जात्रा ललितपुर थेच्वमा विशेष हुने गरेको छ ।
काठमाडौँ — अग्रपंक्तिमा स्याल राजा त्यसपछि ब्रह्मा, सरस्वती, जलदेवता र कुमारको भेषमा केही युवा क्रमशः कुचोले बाटो बढार्दै, कपडा बिछ्याउँदै, जल छर्कंदै र असर्फी राख्दै अगाडि बढेका देखिन्छन् । तीन जना युवा छन्, अग्नि, वायु र इन्द्र देवताको भेषमा ।
उनीहरूले क्रमशः धुपबत्ती, चमर हम्किने र झल्लरवाला छत्र ओढाएका देखिन्छन् । बीचमा छन् गौतम बुद्ध र पछाडि भिक्षु गण । सिद्धार्थ गौतमले ज्ञान प्राप्त गरेपछि पहिलो पटक लुम्बिनी फर्केको दृश्य हो यो । ललितपुर गोदावरी नगरपालिका–१२ थेच्वमा मतयाः (दीपयात्रा) जात्राका अवसरमा नवदुर्गा टोल सुधार समिति र नवदुर्गा धिमे पुचःले संयुक्त रूपमा देखाएको जात्रा हो ।
जात्राको दृश्य देखिपछि दंग नपर्ने सायदै हुन्छन् । त्यसैमध्येका हुन् पाटनका निर्मलरत्न शाक्य । जात्रा हेर्ने क्रममा उनी एक पटक तर्सिए पनि । कारण, नक्कली गुरुजु पल्टनका जवानले हावामा बन्दुक पड्काएका थिए । ललितपुर महानगर–१६ को कलाकार समितिको टोलीसँगै उनी जात्रा अवलोकनका लागि थेच्व पुगेका थिए । जात्रामा सरस्वती धिमे खलःले रातो मस्त्येन्द्रनाथको रथयात्रा निकालेर नगर परिक्रमा गरेका थिए । त्यसक्रममा उनीहरूले ठाउँ/ठाउँमा बारुद पड्काएर स्थानीयको ध्यान खिचेका थिए । माथिल्ला लाछी टोलमा नरिवल र तल्लो लाछी टोलमा नागलोकबाट प्राप्त मणि, माणिक्य आदि बहुमूल्य वस्तुजडित नक्कली भोटो देखाएर सहभागीलाई मनोरञ्जन दिइएको थियो ।
थेच्वमा जीवित देवी कुमारीको जात्रा हुँदैन । रथसँगै जात्रा अवलोकनमा आउनेलाई मनोरञ्जन प्रदान गर्न दुई बालिकालाई कुमारीको भेषमा सजाएर नक्कली सिंहासनमा विराजमान गराई जात्रामा सिंगारिएको थियो । थेच्वमा तल्लो लाछी टोल लक्की गाइज क्लबको अगुवाइमा खोकनाकी बालिका र सोह्रखुट्टे पाटीमा स्थानीय प्रकाश महर्जनकी छोरी कुमारीको भेषमा सजिएका थिए । नेवार समुदायले हरेक वर्ष गाईजात्राको भोलिपल्ट भाद्रकृष्ण द्वितीयामा मतयाः जात्रा मनाउने गर्छन् । यो जात्रा थेच्वमा विशेष हुने गरेको छ ।
नवदुर्गा टोल सुधार समितिका कोषाध्यक्ष रत्नबहादुर मालीले मतयाः जात्रा भन्नेबित्तिकै प्रायले व्यंग्यात्मक सम्झने भएकाले फरक ढंगबाट प्रस्तुत गरेको बताए । ‘यो बुद्धको ज्ञानको महत्त्व दर्शाउन खोजेका हौं,’ उनले भने ।
जात्राको सुरुमा ‘थेच्व सांस्कतिक बाजा संरक्षण समिति, ग्वासा खलः श्री ब्रह्मायणी सांस्कृतिक मंका खलः नीस्वक्वःगु मतयाः ज्याझ्व’ लेखिएको ब्यानर बोकेका परम्परागत भेषमा सजिएका दुई पुरुष अगाडि बढेका थिए । त्यसपछि लाखे नाच अनि गुन्युँचोलीमा सजिएका महिला र दौरा सुरुवाल र ढाकाटोपी लगाएका पुरुष बाँसुरीको तालमा नाच्दै थिए । जात्रामा परम्परागत पोसाकमा सजिएका बालबालिकादेखि युवायुवती र ज्येष्ठ नागरिकसमेत उपस्थित थिए ।
जात्राका क्रममा दुई बालबालिकालाई वृद्धवृद्धाको भेषमा सजाई पाँचौं जंक्व गरी/नगरी परिक्रमासमेत गराइएको थियो । कपासको बनावटी दाह्रीजुंगा, दौरा सुरुवाल, ढाकाटोपीले सजिएका बालक र बालिकालाई अति दुर्लभ मानिने पाँचौं जंक्व गराइएको हो । नेवार समुदायमा गराइने जंक्व (रथारोहण) देवत्व प्राप्त गरेको मानेर बोसल (उड्ने घोडा) बहान चढाएर यात्रा गराइन्छ । त्यस्तै सुनले सजिएका एक चिनियाँ नागरिकको भेषमा आएका र अन्य केही युवा मिलेर सुन प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला माछालाई उन्मुक्ति दिएको विषयमा व्यंग्यात्मक प्रस्तुति दिएका थिए । उनीहरूले ठेला गाडामा ‘शरणार्थीका फाइल यहाँ पाइन्छ, नेपाली नागरिकता, खानी, खोलानाला, जलविद्युत् आयोजना ठेक्का, सुन तस्करी जस्ता सेवा उपलब्ध छन्’ भन्ने लेखेर नगरपरिक्रमा गरेका थिए । त्यस्तै, मुर्रा भैंसीको सन्दर्भमा समेत व्यंग्य गरिएको थियो ।
पछिल्लो काठमाडौं उपत्यकाका देवी नाच लोप हुँदै गएका छन् । यसको संरक्षणमा सरकारले चासो नदिएको विषयमा व्यंग्य गर्दै न्हुछें दाफा खलःले देवी नाच प्रस्तुत गर्यो । जात्रामा तल्लो लाछी टोलमा परम्परागत ढोका बनाई त्यसमा कपडा बुन्ने हाते मेसिन, तबला, हलो, मकै, खुर्सानी सुकाएको, मसाल राख्ने परम्परागत भाँडो, घ्याम्पो, परम्परागत झ्याललगायत पुरातात्त्विक महत्त्वका वस्तु प्रदर्शनीमा राखिएको थियो । यी पुरातात्त्विक महत्त्वका वस्तुको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा राज्यले पहल नगरेको विषयलाई व्यंग्य गरिएको हो । जात्रामा ग्वा ननी टोलमा मौलिक बस्ती, मञ्जुश्री, भैरव, कुमारी, भगवतीको चित्र बनाएर राखिएको थियो । ५५ वर्षीया अष्टबहादुर महर्जनले गृहत्याग गरी मालीगाउँ टोलको पिपलको बोटमुनि बुद्धको भेषमा ध्यान गरेका थिए ।
जात्रामा माली गा दाफा खलले लाखे नाच प्रस्तुत गरेको थियो भने थेच्व दाजुभाइ समूहलगायतले स्वयंसेवकको भूमिका खेलका थिए । ब्रह्मायणी सांस्कृतिक मंका खलःका अध्यक्ष इच्छा महर्जनले जात्राको तयारीका लागि करिब एक महिना खटेको बताए । ‘थेच्वका धेरै सांस्कृतिक बाजागाजा लोप भइसकेका छन् । त्यसको संरक्षणका लागि सम्बन्धित निकायले ध्यान दिएको छैन,’ उनले भने, ‘मंका खलः लाई जिम्मेवारी दिएको खण्डमा संरक्षण गरेर देखाउन सक्छु ।’ उनले मतयाः जात्रा मात्र नभई अन्य लोप भइसकेका र हुन लागेका सांस्कृतिक जात्रापर्वलाई संरक्षण गर्नुपर्ने बताए । थेच्व सांस्कृतिक बाजा संरक्षण समिति मतयाः जात्रामा मात्र समिति भएकाले समस्या उत्पन्न भएको नवदुर्गा धिमे पुचःका कजि (व्यवस्थापक) वैकुण्ठ मालीको भनाइ छ । ‘लोप भएका अन्य बाजा संरक्षण प्रवर्द्धनमा चासो दिएको छैन,’ उनले भने ।
थेच्व सांस्कृतिक बाजा संरक्षण समितिका अध्यक्ष बाबुराम महर्जनले मतयाः जात्रासँगै अन्य संस्कृतिको संरक्षण प्रवर्द्धन गर्न योजना बनाइरहेको बताए । ‘मतयाः जात्रामा सीमित भएको जनगुनासो आएपछि अन्य बाजा संरक्षण प्रवर्द्धनमा लाग्ने योजना बनाएका छौं,’ उनले भने, ‘समितिको आफ्नै भवन बनाउन गोदावरी नगरपालिकामा पनि पहल भइरहेको छ ।’
गोदावरीका मेयर गजेन्द्र महर्जनले संस्कृति संरक्षण, प्रवर्द्धन गर्न कुनै कसुर बाँकी नराख्ने बताए । ‘सम्बन्धित निकाय सम्पर्कमा आएका सक्दो सहयोग गर्छु,’ उनले भने ।
१२ बाजा खलः को छाता संगठन थेच्व सांस्कृतिक बाजा संरक्षण समितिको संयोजनमा जात्रा आयोजना भएको हो । समितिमा आबद्ध बाजाखलः हरूले प्रत्येक वर्ष जात्रा पालैपालो आयोजना गर्छन् । २०७९ मा थेच्व नवदुर्गा भवानी देवी नाचको १२ वर्षे जात्रा परेकाले मतयाः पर्व रोकिएको थियो । त्यसअघि दुई वर्ष कोभिड महामारीका कारण जात्रा रोकिएको थियो । यात्राका क्रममा भएको प्रतियोगितामा नवदुर्गा धिमे पुचः प्रथम, कुसिक्व बाँसुरी खलः द्वितीय र न्ह्वाछें दाफा खलः तृतीय भएका थिए । त्यस्तै, पुरुष कलाकारको भूमिकाका लागि बाबुराम महर्जन र महिला कलाकारको भूमिकाका लागि चक्रमान महर्जन उत्कृष्ट भए । मालिगाँ उत्कृष्ट टोल घोषित भयो ।
