पानीजहाजमा फनफनी

लकडाउनका कारण एयरपोर्ट बन्द भएर देश फर्किन नपाएका एक नेपालीले अन्टार्टिकादेखि पेरिससम्म गरेको पानीजहाज यात्राको कथा

श्रावण ३१, २०७७

हर्क बोहरा

मार्च २० तारिखदेखि काठमाडौं एयरपोर्ट बन्द हुँदै थियो, लकडाउन  सुरु हुँदै थियो । साथी सौरभले नेपालबाट यसको अपडेट मलाई २ दिनअघि गराइसकेको थियो । मार्च २० बाटै सिड्नीबाट मेरो मलेसियन एयरलायन्सको फ्लाइट थियो काठमाडौंका लागि । 

बिहान सिड्नी एयरपोर्टको काउन्टरमा लाइनमा उभिएको थिएँ । साथीले खबर गरिसकेकाले मैले नेपाल फर्किने पाउने आशा मारिसकेको थिएँ । काउन्टर पुग्नुअघि नै एयरलाइन्सका कर्मचारीले नेपाल जान लागेको भनेपछि ‘सरी’ भनिदिए । मलाई त्यो स्वभाविक नै थियो । अर्को एकजना नेपाली महिला विद्यार्थी पनि लाइनमा थिइन् । एयरलाइन्सका कर्मचारीले ‘सरी’ भन्नेबितिकै उनले बुबा सिकिस्त हुनुहुन्थ्यो भन्दै आँसु झार्न थालेपछि मलाई मन थाम्ने आधार बनेको थियो । 

***

सेप्टेम्बर २० मा फ्रान्सको बोर्डेबाट क्रुजमा मेरो काम सुरु भएको थियो । ‘सिल्भर सी क्रुजेज’मा म फुड एन्ड बेभरेजको सुपरभाइजर थिएँ । पहिला पनि चीन र जापानमा पानीजहाजमा काम गरिसकेको थिएँ । यसपटकको उत्साह छुट्टै थियो । बोर्डेबाट सुरु भएको क्रुजको निरन्तर यात्रा क्यानाडाको हेलिफ्याक्स, सिड्नी, क्युबेक, मोन्ट्रेरियल, अमेरिकाको न्युयोर्क, बोस्टन, साउथ क्यारोलिना, एन्टिगुवा, बार्बाडोस, सेन्ट लुसिया, एन्टिगुवा, सेन्ट किट्स, बर्मुडा, मेक्सिको हुँदै दक्षिण अमेरिका पुगेको थियो । 

गन्तव्य अन्टार्टिका थियो । उरुग्वे, ब्राजिल, पुर्टोरिको, अर्जेन्टिनाबाट डार्क पेसेज हुँदै अन्टार्टिका जानु थियो । डार्क पेसेजबाट जहाज निकै हानिँदै अगाडि बढ्नु पर्ने रहेछ । पानीको बहाव निकै उच्च रहेकाले जहाज निकै हल्लिएको थियो । अन्टार्टिका हिउँले भरिएको स्थान हो । यहाँ मानव बस्ती छैन भन्नेमात्र थाहा थियो । अफिसले त्यहाँ स्याटेलाइट नटिप्ने भएकाले इन्टरनेट नचल्ने भनेर पहिल्यै सूचना दिइसकेको थियो । 

बिहान ८ बजेतिर अन्टार्टिका पुगिएको थियो । मेरो त्यो दिन साप्ताहिक बिदा थियो । पानीजहाजको ११ औं तल्लामा गएर हेरेको त अन्टार्टिकाले पूरै ‘सरप्राइज’ बनाइदियो । डाँडादेखि समुद्रका पानीसम्म पूरै हिउँ नै हिउँ थियो । हिमालका टुक्राहरु चुँडिएर समुद्रमा मिसिरहेका थिए । जताततै आइसबर्ग थियो । अन्टार्टिकाको महत्व मलाई खासै थाहा थिएन । अन्टार्टिका जाँदैछु भनेर भन्दा अरुले सुनाएका कुराबाट यसबारे थाहा पाएको थिएँ । यो सितिमिति पुगिने ठाउँ होइन रहेछ । अन्टार्टिका धेरैको सपना रहेछ । मेरो सपना थिएन तर म त्यहाँ पुग्न सफल भएको थिएँ । १०–१५ मिटरको दूरीमा पानीजहाजबाटै ह्वेल माछाको फोटो खिच्न पाउनुको आनन्द बेग्लै थियो । 

२ दिन त्यहाँ बसेर अर्जेन्टिना, चिली, फिजी हुँदै अस्ट्रेलियाको सिड्नी पुगेको थियो हाम्रो जहाज । यो यात्रा ६ महिनाको थियो । ६ महिना काम गरिसकेपछि २ महिना घर फर्किएर छुट्टी बस्नुपर्छ । म त्यसैको प्रक्रियामा थिएँ र सिड्नी एयरपोर्ट पुगेको थिएँ । काउन्टर पुग्नुअघि नै लाइनबाट फर्काइदिएपछि कम्पनीको एजेन्टलाई फोन गरे । एयरपोर्टबाट एजेन्टले नजिककैको होटलमा लगे । खाना बस्नको कुनै समस्या थिएन । तर, सिड्नीमा पनि लकडाउन लाग्न सुरु भइसकेको थियो । हाम्रो होटलमा खाना सेप्रेट मेनुमा खुम्चिइसकेको थियो । सीमित खानामात्र हुन्थ्यो । एक्लै पनि हुने भएँ भनेर कम्पनीलाई सिड्नी छाड्छु भनेको थिएँ । सिड्नीमा ५ रात बसेपछि छैटौं दिन फ्लाइटमा पर्थ लागियो । २ सय ८० सिट क्षमताको हाम्रो फ्लाइटमा १२ जनामात्र थियौं । कोभिड–१९ को असर छर्लङ्गै त्यहीँ देखिएको थियो । 

***

जहाजबाट निस्किएपछि फेरि त्यही जान नपाउने कम्पनीको नियम छ । मेरो ‘केस’ अपवाद नै बन्यो । त्यसैले मैले सिड्नी छाड्ने बेला ‘ट्राभलिङ टु पर्थ’ लेखेको फेसबुक स्टाटस कम्पनीको अनुरोधमा मेट्नु पनि परेको थियो । एक प्रान्तबाट अर्को प्रान्त जानु परेकाले सुक्ष्म स्वास्थ अनुसन्धान सुरु भइसकेको थियो । ६ दिनपछि पुन: पानीजहाज भित्रै फर्किनु पर्ने भयो ।

पानी जहाजभित्र जानुअघि एउटा एम्बुलेन्समा एकजना नर्स र म थियौं । छेउमा ८–९ जना प्रहरी थिए । म जहाजभित्र छिरेपछि उनीहरु गए । पानीजहाजभित्र पनि त्यस्तै । मैले कोरोना ल्याएको छु भनेर जहाज भित्र रहेका मानिसहरु डराउँथे । जहाजको छैटौं तल्लामा मलाई क्वारेन्टाइनमा राखियो । त्यो एउटा कोठाबाट बाहिर निस्किन नपाउने थियो । बार्दलीमा गएर समून्द्र हेरे मात्र हो । क्वारेन्टाइनको त्यो अवधि समुद्री छाललाई कल्पनामा नापेर दिन बिताउनुबाहेकको विकल्प मसँग थिएन । रुम ठूलो थियो । दौडिन पनि मिल्थ्यो ।

सिल्भर सी क्रुजभित्र बसेर मैले अनिश्चित यात्रा गर्नु थियो । कन्ट्रयाक्ट सकिइसकेकाले जागिर पनि थिएन । खान बस्न सबै कम्पनीले चाहेको जस्तो दिन्थ्यो, मलाई पनि दिएको थियो । म चढेको जहाज दक्षिण अफ्रिकाको केपटाउन जाँदै थियो । जहाजमा गइरहने, जहाँ पुग्दा काठमाडौंको एयरपोर्ट खुल्छ त्यहीँबाट पठाइदिने कम्पनीले भनेको थियो ।

केपटाउन पुग्नु एक दिनअघि मेरो क्वारेन्टाइन अवधि सकियो । यसले जहाजका सबै साथीभाइलाई खुशी बनाएको थियो, कोठा बाहिर निस्किदा सबैले ताली बजाएका थिए । पार्टी राखेका थिए । मलाई त नयाँ जीवन पाएजस्तो भयो । बेतलबी कामदार भएकाले मैले काम गर्न पर्दैनथ्यो । जता पनि जान पाउने छुट थियो क्वारेन्टाइन अवधि सकिएकाले । कम्पनीको पाहुनाका रुपमा म जहाजभित्र थिएँ । केपटाउनबाट दुई सातापछि जहाज स्पेनको टेनरिफ लाग्यो । तर, काठमाडौं एयरपोर्ट खुलेन । अफिसको मानव स्रोत विभागले चार्टड विमानको विकल्प पनि खोज्यो तर निकासको कुनै सम्भावना भेटिएन ।

सिड्नीबाहेक कतै पनि पानीजहाजबाट बाहिर निस्किन पाइएको थिएन । टेनेरिफमा भने एउटा पानीजहाजबाट अर्को पानीजहाजमा निस्किनु पर्ने भएकाले ४५ दिनमा जमिन छुन पाइयो । टेनेरिफबाट ९ दिन लगाएर इंग्ल्यान्डको साउथह्याम्पटन पुगियो । पानीजहाजभित्र काम अवधि सकेर घर फर्कनु पर्ने ४ सय कर्मचारी लकडाउनले थुनिएका थियौं । लगभग ६० राष्ट्रका साथीहरु साउथह्याम्पटनबाट घर फर्किएका थिए, त्यसमा धेरै फिलिपिन्सका थिए । एक महिना ९ दिन साउथह्याम्पटनमा क्रुजभित्र बस्नु परेको थियो ।

मेरो सेनजेन भिसाको अवधि पनि सकिएको थियो । ब्रिटिस भिसा त छँदै थिएन । केही बन्दोबस्ती भइहाल्छ की भनेर लन्डनमा नेपाली दूतावासलाई मेल लेखेको जबाफ आएन । ट्विटरमा भने दूतावासले मेन्सन गर्दै भन्यो, ‘हामीले नोट गर्‍यौै ।’ लन्डनको दूतावासले ब्रिटेन र आयरल्यान्डमा बस्नेका लागि नेपाल फर्किने हो भने अवसर मिल्नसक्ने भनेर समाजिक सञ्जालमा सूचना निकाल्यो । जुन ११ को त्यो सूचना नै मलाई र अर्को नेपाली साथी सुजन सुवेदीलाई घर पुगेको जस्तो भयो ।

मैले र सुजनले दूतावासको फर्म भरेर पठायौं । दुई साता जस्तोपछि जुन २४ र २६ मा बेलायतको नेपाली दूतावासले लन्डनबाट काठमाडौं फर्किन चार्टड फ्लाइटको व्यवस्था गर्‍यो । कथाले फेरि यहाँ अर्को मोड लियो । हाम्रो पानीजहाज जुन २० मै फ्रान्सको मार्से जाने भयो । साउथह्याम्पटनबाट बाहिर निस्किएर बस्न बेलायतको अध्यागमनले दुई दिनमात्र दिन्थ्यो । हाम्रो ‘केस’ हेरेर लन्डन दूतावासले हामीलाई जुन २४ को पहिलो फ्लाइटमै राखेको थियो । मसँग भने त्यही पानीजहाजमा मार्से जानुको विकल्प थिएन । एउटा आशाको त्यान्द्रो भने अझै झुन्डिएको थियो ।

जुन २६ मा हाम्रो पानीजहाज बिहानै मार्से पुग्ने तालिका थियो । मार्सेबाट दुई घन्टाको फ्लाइटमा लन्डन आएर दूतावासले गरेको चार्टड फ्लाइट भ्याउन सकिन्थ्यो । पानीजहाजको क्याप्टेनले २६ जुनमा बिहान पुग्न चाँडो कुदाइदिन्छु भनेर पनि भनेका थिए । तर, त्यसका पछाडि धेरै अप्ठयाराहरु थिए । चाँडो कुदाउँदा इन्धन पनि धेरै लाग्ने रहेछ, जुन हाम्रो कम्पनीको रेखदेखमा हुने भएकाले सम्भव थिएन । अर्को हामी मार्से पुग्ने समय तय भइसकेको थियो ।

मार्सेको बन्दरगाह क्षेत्रमा पुगेपछि भने स्थानीय पाइलटले चलाउनु पर्ने भएकाले हाम्रो पानीजहाज चाँडो पुगेमा पाइलटलाई अगाडि नै बोलाउँदा ८,९ हजार डलर अतिरिक्त तिर्नुपर्थ्यो । हामी दुई जनाका लागि कम्पनीले त्यत्रो आर्थिक भार बेहोर्दैनथ्यो । अब त सबै ढोका बन्द भइसकेको थियो नेपाल फर्किने । 

***

मार्सेमै रहँदा अर्को सूचना पाइयो– पेरिसबाट जुन २९ र जुलाई २ मा कतार एयरवेजको दुई चार्टड फ्लाइट काठमाडौं जाने ! फ्रान्सको नेपाली दूतावाससँग बुझ्न बाँकी भएकाले जुन २९ को फ्लाइट हाम्रो हातबाट गइसकेको थियो । जुन २ का लागि मैले र सुजनले टिकट बुक गर्‍यौं । क्रुजबाट बाहिर निस्किन पर्ने भएकाले तीन दिनको सेनजेन भिसा पनि लियौं । मार्सेमा एक दिन मजाले घुमेर आनन्द लियौं । सिड्नी काउन्टरबाट फर्किएर १ सय ३ दिन पानीजहाजभित्र ‘लकडाउन यात्रा’ गरेपछि नेपाल पुग्न सफल भयौं ।

जहाजमा प्रत्येक दिन स्वास्थ परिक्षण गर्नु पर्ने हुन्थ्यो । पीसीआर जरुरी थिएन । तर, ती परीक्षणहरु पीसीआरभन्दा माथि थिएजस्तो लाग्छ । नेपाल आएर होटलमा कोरेन्टाइनमा बसें । ९ दिनपछि पीसीआर रिपोर्ट नेगेटिभ आयो । अनी साथीसँग उसको कोठामा बस्दै आएको छु । मेरो घर कञ्चनपुरको पिपलाँडी हो । कञ्चनपुर गएपछि फेरि पीसीआर गर्नु पर्ने र क्वारेन्टाइनमा बस्नु पर्छ होला । 

-विनोद पाण्डेसँगको कुराकानीमा आधारित

कोरोना भाइरस

हर्क

Link copied successfully