चितवन — भरतपुर महानगरपालिकाभित्र लागू भएको निषेधाज्ञाका कारण चितवन जिल्लाको मुख्य बजार क्षेत्र नारायणगढ र भरतपुर सुनसान भएको छ । सडकमा अत्यावश्यक सेवा बाहेकका गाडीहरु चलेको देखिँदैन ।
पैदलयात्रुहरु पनि निकै नै कम छन् । बजार क्षेत्र पूरै बन्द छ । महानगरपालिकाभित्र शुक्रबार मध्यरातदेखि भदौ ५ गते मध्यरातसम्म चितवन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेको छ ।
चितवनमा पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण तीव्र हुन थालेसँगै महानगरपालिकाभित्र लागू हुने गरेर निषेधाज्ञा गर्ने निर्णय भएको हो । शुक्रबार बिहान महानगरपालिकामा प्रहरी र प्रशासनको पनि संयुक्त बैठक बसेर भएको छलफलले यस्तो निर्णय लिएको भएको भरतपुर–१० का वडाध्यक्ष तथा महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले जानकारी दिए ।
चितवनमा साउन २१ यता कोरोना भाइरसको संक्रमण तीव्र हुन थालेको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार शुक्रबारसम्म जिल्लाभर संक्रमितको संख्या १७२ पुगेको छ ।



