२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

निषेधाज्ञापछि सुनसान नारायणगढ [तस्बिरहरु]

रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगरपालिकाभित्र लागू भएको निषेधाज्ञाका कारण चितवन जिल्लाको मुख्य बजार क्षेत्र नारायणगढ र भरतपुर सुनसान भएको छ । सडकमा अत्यावश्यक सेवा बाहेकका गाडीहरु चलेको देखिँदैन ।

पैदलयात्रुहरु पनि निकै नै कम छन् । बजार क्षेत्र पूरै बन्द छ । महानगरपालिकाभित्र शुक्रबार मध्यरातदेखि भदौ ५ गते मध्यरातसम्म चितवन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेको छ ।

चितवनमा पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण तीव्र हुन थालेसँगै महानगरपालिकाभित्र लागू हुने गरेर निषेधाज्ञा गर्ने निर्णय भएको हो । शुक्रबार बिहान महानगरपालिकामा प्रहरी र प्रशासनको पनि संयुक्त बैठक बसेर भएको छलफलले यस्तो निर्णय लिएको भएको भरतपुर–१० का वडाध्यक्ष तथा महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले जानकारी दिए ।

निषेधाज्ञा पालना गराउनका लागि ठाउँ–ठाउँमा सुरक्षाकर्मी तैनाथ छन् । उद्योगी तथा व्यवसायीहरुको संस्था चितवन उद्योग वाणिज्य संघ र उद्योग संघ चितवनले शुक्रबार नै छुट्टाछुट्टै विज्ञप्ति निकालेर लकडाउन पालना गर्न समस्त उद्योगी व्यवसायीहरुलाई अपिल गरेका थिए ।

चितवनमा साउन २१ यता कोरोना भाइरसको संक्रमण तीव्र हुन थालेको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार शुक्रबारसम्म जिल्लाभर संक्रमितको संख्या १७२ पुगेको छ ।

यीमध्ये ५६ जना साउन २१ यता मात्रै संक्रमित भएका हुन् । बजार, बैंक, अस्पताल, प्रहरी जताततै संक्रमण पुगेको छ । जिल्लाको आधा क्षेत्रफल र जनसंख्या रहेको भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै संक्रमितहरु रहेका छन् ।


प्रकाशित : श्रावण ३१, २०७७ १४:००
प्रतिक्रिया
पठाउनुहोस्