बजेटमा कोशी प्रदेश : पूर्वाधारदेखि पर्यटनसम्मका महत्त्वाकांक्षी योजना

सरकारले बजेटमा कोशी प्रदेशमा पूर्वाधार, ऊर्जा, खेलकुद, पर्यटन, खानेपानी तथा धार्मिक पर्यटन प्रवर्द्धनसहितका विभिन्न महत्त्वाकांक्षी योजनालाई प्राथमिकतामा राखेको छ ।

जेष्ठ १६, २०८३

पर्वत पोर्तेल

Koshi Province in the budget: Ambitious plans from infrastructure to tourism

What you should know

विराटनगर — संघीय सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत कोशी प्रदेशका लागि पूर्वाधार, ऊर्जा, खेलकुद, पर्यटन, खानेपानी तथा धार्मिक पर्यटन प्रवर्द्धनका विभिन्न महत्त्वाकांक्षी योजनालाई प्राथमिकतामा राखेको छ ।

बजेटमा कोशी प्रदेशको रणनीतिक महत्त्व बोकेको कोशी करिडोरको उत्तरी खण्डअन्तर्गत १५ किलोमिटर सडक कालोपत्रे गर्ने योजना समेटिएको छ । यो कार्य तीनवटा मुख्य करिडोरका लागि विनियोजित कुल ६ अर्ब २५ करोड रुपैयाँको बजेटअन्तर्गत अघि बढाइनेछ । त्यस्तै, भारतसँगको व्यापार तथा यातायात सम्पर्कलाई सुदृढ बनाउन बथनाहा–विराटनगर रेलमार्गको बाँकी निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने व्यवस्था पनि गरिएको छ ।

ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सरकारले कोशी प्रदेशलाई जलविद्युत् उत्पादनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । यसअन्तर्गत १ हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि स्रोत सुनिश्चित गरी ठेक्का प्रक्रिया अगाडि बढाइनेछ । ४ सय ९० मेगावाट क्षमताको अरुण–४ आयोजनाको वित्तीय व्यवस्थापन तथा विकास प्रक्रिया अघि बढाइने भएको छ । साथै निर्माणाधीन अरुण तेस्रो र तल्लो अरुण जलविद्युत् आयोजनाको विकास तथा कार्यान्वयनका लागि आवश्यक सहजीकरण गर्ने बजेटमा उल्लेख छ ।

खानेपानी तथा सरसफाइतर्फ झापाको दमक, सुनसरीको धरान र इटहरीलगायत प्रमुख सहरमा खानेपानी तथा ढल निर्माण र प्रशोधन कार्यक्रम सञ्चालन गरिने भएको छ । यसका लागि ६ वटा सहरमा सञ्चालन हुने आयोजनाका लागि कुल २ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरिएको छ । संखुवासभाको खाँदबारीमा जल तथा ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने योजना पनि बजेटमा समावेश गरिएको छ ।

सिँचाइ तथा नदी व्यवस्थापनका क्षेत्रमा सुनसरी–मोरङ सिँचाइ आयोजना, कोशी पम्प सिँचाइ प्रणालीलगायतका आयोजनाको मर्मत, सम्भार तथा पुनःस्थापनाका लागि बजेट व्यवस्था गरिएको छ । विभिन्न सिँचाइ प्रणालीका लागि ४४ करोड रुपैयाँ विनियोजन गरिएको छ भने कोशी नदी व्यवस्थापनका कार्यक्रमलाई समेत निरन्तरता दिइने भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काँकडभिट्टा–लौकहीसम्म चार लेनको सडक स्तरोन्नति गरिने छ । 

आवास कार्यक्रमअन्तर्गत झापाको मेचीनगरस्थित राष्ट्रिय आवास कम्पनीको जमिनमा एक सय आवास निर्माण गरी सर्वसाधारणलाई बेचिने छ । साथै, एकीकृत फोहोरमैला व्यवस्थापन परियोजना सञ्चालन गर्ने र जेन-जी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी कार्यालय तथा संरचनाको पुनर्निर्माण गर्ने योजना पनि बजेटमा समेटिएको छ ।

खेलकुद पूर्वाधार विकासतर्फ विराटनगरमा आगामी ३ वर्षभित्र कम्तीमा दुई हजार दर्शक क्षमताको इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विराटनगरमै आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने तथा गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको डिजाइन पुनरावलोकन गरी निर्माण कार्यलाई गति दिने योजना बजेटमा समावेश छ ।

पर्यटन प्रवर्द्धनका लागि पूर्वी पहाडी क्षेत्रमा तीनजुरे–पाथीभरा ट्रेकिङ मार्ग विकास गरिने भएको छ । साथै कोशी टप्पु–कञ्चनजंघासम्म समेटेर विशेष पर्यटकीय योजना अघि बढाइने जनाइएको छ । खोटाङको हलेसी, ताप्लेजुङको पाथीभरा र सुनसरीको चतराधामलाई समेटेर प्रादेशिक धार्मिक–पर्यटकीय करिडोरका रूपमा विकास तथा प्रवर्द्धन गर्ने योजना बजेटले अघि सारेको छ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully