खुम्बु पासाङ ल्हामु गाउँपालिकाको तेङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा मंगलबार बिहानैदेखि हिमपात भइरहेको छ ।
सोलुखुम्बु — विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा हिमपात भएको छ । मौसममा बदली आएसँगै हिजो साँझदेखि नै खुम्बुमा हिउँ पर्न थालेको हो । खुम्बु पासाङ ल्हामु गाउँपालिकाको तेङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा मंगलबार बिहानैदेखि हिमपात भइरहेको छ ।
खुम्बु क्षेत्रमा हिमपातका कारण पर्यटन प्रभावित भएको छ । सगरमाथा क्षेत्रको भ्रमणमा त्यस क्षेत्रमा पुगेका पर्यटक होटलभित्रै थन्किएका छन् । हिउँ परेका कारण स्वदेशी तथा विदेशी पर्यटकहरू होटलभित्रै सुरक्षित स्थानमा बसेका छन् । नाम्चे बजारमा भने हिजोदेखि नै पानी परिरहेको छ ।
तेङ्बोचे, लबुचे र सगारमाथा आधार शिविरमा हिउँ परिरहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताए । अहिले माथिल्लो क्षेत्रमा ९ सयको हाराहारीमा विदेशी पर्यटक भ्रमणमा छन् । अटम सिजनको उत्तरार्धमा घुम्न आएका पर्यटकलाई हिमपातका कारण प्रभावित बनाएको छ ।
माथिल्लो क्षेत्रमा परेको हिमपातले पर्यटन उद्योग र मानिस तथा पशु चौपाया सबैलाई प्रभावित बनाएको स्थानीय पासाङ शेर्पाले बताए । खुम्बु क्षेत्रमा आज मात्रै हिमपात हुने र त्यसपछिका २ दिन मौसम सफा रहने मौसमविद् डेभिड ढकालले बताए । ३ दिनपछि भने फेरि हिमपातको सम्भावना रहेको मौसमविद् ढकालको भनाइ छ ।
