मनाङको माथिल्लो भाग तिलिचो, थोराङ्ला र नार्पाभूमिमा बाक्लो हिमपात भएपछि प्रशासनले पर्यटकहरूलाई जहाँको त्यहीँ रहन आग्रह गरेको छ ।
What you should know
लमजुङ — माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ । सोमबार राति साढे ९ बजेतिरबाट सुरु भएको हिमपात मंगलबार बिहानसम्म रोकिएको छैन ।
मनाङको माथिल्लो क्षेत्र पिसाङ (३,२०० मि.) देखि माथिल्लो क्षेत्र र नार्पाभूमिमा हिमपात भइरहेको हो ।
मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार सबैभन्दा बढी तिलिचो र थोराङ्ला क्षेत्रमा हिमपात भएको छ । खाङसारदेखि तिलिचो बेसक्याम्पतर्फ बाक्लो हिमपात भएको जानकारी प्राप्त भएको उनले बताए । ‘सदरमुकाम चामेमा पानी परिरहेको छ । माथिल्लो क्षेत्रमा राति साढे ९ बजेदेखि हिमपात भइरहेको छ,’ उनले भने । उनका अनुसार चक्रीय अन्नपूर्ण पदमार्गबाट तिलिचो र थोराङ्ला पास गर्ने पर्यटकलाई हिमपात नरोकिएसम्म जहाँको त्यहीँ रोकिन भनिएको छ ।
उनका अनुसार अहिले तिलिचोतर्फ बेसक्याम्पतर्फ मात्रै नेपाली मात्रै ८ सयदेखि १ हजारको संख्यामा नेपाली पर्यटक रहेको बताए । थोराङ्लातर्फ भने प्रायः विदेशी पर्यटक रहेको उनले बताए । माथिल्लो मनाङमा १ हजार ५ सयको हाराहारी र चामे क्षेत्रमा ३ सयको हाराहारीमा स्वदेशी पर्यटक छन् । नार्पाभूमितिर सम्पर्क हुन नसकेको उनले बताए । ![Heavy snowfall in Upper Manang, administration urges tourists to stop traveling [Photos]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/manang-himpat-2-28102025040131-1000x0.jpg)
'नार्पाभूमितर्फ हिमलुङ हिमाल आरोहण गर्ने पर्यटकहरु समेत अहिले बेसक्याम्पमा रहेकाले उनीहरुलाई बेसक्याम्पमै बस्न भनेमा छौं,' उनले भने, 'हिमपात नरोकिएसम्म बेँसीसहरबाट पर्यटक नपठाउन आग्रह गरिएको छ ।'
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका रेन्जर प्रकाश अधिकारीका अनुसार तल्लो पिसाङदेखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ । सोमबार साँझपख पानी परेको र रातीदेखि हिमपात भएको उनले बताए ।
हिमपातका कारण पर्यटक गन्तव्यमा जान रोकिएका छन् । ‘हिमपात भइरहेको बेला गन्तव्यमा जान उचित छैन । हामीले पनि पर्यटकलाई हिमपात पूर्ण रुपमा नरोकिएसम्म गन्तव्यमा नजान भनेका छौं,’ उनले भने ।
उनका अनुसार मनाङमा एकसातादेखि दैनिक २ सयको हाराहारीमा विदेशी पर्यटक भित्रिएका छन् । उनले मनाङको माथिल्लो क्षेत्रमा मात्रै १ हजारदेखि १ हजार ५ सयसम्म विदेशी पर्यटक हुन सक्ने बताए ।
मनाङको हुम्डे र माथिल्लो मनाङ क्षेत्रमा भएको हिमपात । तस्बिर सौजन्य : सन्जोग लामिछाने, प्रकाश अधिकारी, सोम मग्राती
![Heavy snowfall in Upper Manang, administration urges tourists to stop traveling [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/humde-himpat-4-28102025040115-1000x0.jpg&w=1001&h=0)