पाँचथर — सडक डिभिजन कार्यालयले पर्याप्त ह्युम पाइप नल्याँउदा मेची राजमार्गको हेवा खोलामा डाइभर्सनको काम अनिश्चित बनेको छ ।
असोज १२ गते आएको बाढीले बेलिब्रिज बगेपछि हेवा पारीको पाँचथर र ताप्लेजुङसम्म टुटेको सडक सञ्जाललाई अस्थायी रुपमा जोड्न डाइभर्सन निर्माण थालिएको थियो । थोरै संख्यामा मात्रै ह्युम पाइप आँउदा तत्काल चार पाङ्ग्रे साधन हेवा खोला वारपार गर्न भने केहीदिन नपाउने भएका छन् ।
पुल बगेलगत्तै जिल्ला प्रशासन कार्यालय पाँचथरमा बसेका विपद् व्यवस्थापन समिति र सर्वदलीय बैठकले हेवा खोला डाइर्सन गरेर दसैँ अगावै खाद्यान्नसहितका अत्यावश्यस्यक वस्तु ताप्लेजुङ पुर्याउने वातावरण मिलाउने निर्णय गरेको थियो ।
सडक डिभिजन इलामका प्रमुख पवन भट्टराई नेतृत्वको टोलीले डाइभर्सन गर्न १ मिटर २० सेन्टिमिटर गोलाइ भएका १६ वटा ह्युम पाइप लाग्ने लागत अनुमान गरेर सोही अनुसारका सामग्री झिकाएको थियो ।
शनिबार अपराह्न हेवा खोलामा ह्युम पाइप आइपुगेपछि आइतबार बिहानै काम थालिएपनि १६ वटा पाइप नपुगेपछि डाइभर्सन निर्माणको अवधि लम्बिने निश्चित भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताए ।
‘काम सकेर आइबार साँझदेखि चारपाङ्ग्रे साधन सुचारु गर्ने योजना थियो, त्यो सफल हुन सकेन,’ प्रजिअ कोइरालाले भने ।
डाइभर्सन निर्माणमा थप २० वटा ह्युम पाइप लाग्ने बताइएको छ । ती पाइप इटहरीबाट ल्याउँदै गरिएको र आइपुगेपछि डाइभर्सन निर्माणको काम पुनः सुरु हुने सडक डिभिजन इलामका इन्जिनियर विपिन ढुंगानाले जानकारी दिए ।
पुल बगेपछि नेपाली सेनाले हेवा खोलामा फड्के निर्माण गरेको छ । सोही फड्केबाट मानिस र मोटसाइकल आउजाउ गरिरहेका छन्।
