कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक खुल्यो

आश्विन २०, २०८१

प्रताप विष्ट

Kulekhani-Sisneri-Dakshinkali road opened

हेटौँडा — बाढीपहिरोका कारण नौ दिनदेखि अवरुद्ध कुलेखानी– सिस्नेरी– दक्षिणकाली –काठमाडौँ सडक आइतबार साढे १२ बजेदेखि संचालनमा आएको छ । दक्षिणकालीबाट सिस्नेरीसम्म शुक्रबार नै खुलेको थियो ।

सिस्नरीबाट कुलेखानी अर्थात् सिमखोलासम्मको अवरुद्ध सडक संचालनमा आइसकेको छ । बाढीले क्षतिग्रस्त कुलेखानी सिमखोलाको सडकको डाइभर्सन  तयार भएपछि हेटौँडा–भीमफेदी, कुलेखानी, फाखेल, फर्पिङ र हेटौँडा, भिमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली सडक संचालनमा आउने वाग्मती प्रदेश यातायात पुर्वाधार निर्देशनालयका निर्देशक पुस्करराज पोखरेलले

 बताए । हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो दुरीको वैकल्पिक मोटरबाटो कुलेखानी, फाखेल फर्पिङ र कुलेखानी सिस्नेरी दक्षिणकाली सडक आइतबार ५ बजेसम्ममा संचालनमा आउन निर्देशक पोखरेलले बताए ।

'कुलेखानी ड्याममुनिको  डाइभर्सनको काम सकिएपछि फाखेल र सिस्नेरीको दुवैतर्फको मोटरबाटो संचालनमा आउने छ,' उनले भने । दसैँ लागिसकेको सवारी साधनको चाप हुने भएकाले सिस्नेरी र फाखेलतर्फ आउँदा एकातर्फबाट जाँदा अर्कोतर्फबाट सवारी साधन चलाउने प्रदेशको यातायात मन्त्रालयले सोच बनाइरहेको जनाएको छ ।

'बाढीपहिरोका कारण विभिन्न ठाउँमा एकलेनको मात्र सडक भएकाले वान वे चलाउन खोजेका हौँ,' मन्त्रालयका एक अधिकृत भने । हेटौँडाबाट काठमाडौँ प्रवेश गर्ने छोटो दुरीको  वैकल्पिक मार्ग होस् वा कान्ति लोकपथ बाढीपहिरोले क्षतिग्रस्त बनाएकाले त्रिभुवन राजपथ हुँदै चित्लाङ–चन्द्रागिरीमा सवारी साधनको चाप बढेको थियो।

हेटौडाबाट  राजधानी प्रवेश गर्ने छोटो दुरीको वैकल्पिक मार्ग संचालनमा आउने बितिक्कै त्रिभुवनराजपथमा सवारी साधनको चाप  न्युन हुने छ । सिमखोलाको डाइभर्सन कति बेला तयार होला भनेर दुवैतर्फ सवारी साधनहरु लाइनमा बसिरहेका छन् । पुर्वाधार निर्देशनालयले डाईभर्सनको काम सम्पन्न हुन केही समय लाग्ने जनाएको छ ।

बाढी पहिरो

प्रताप

Link copied successfully