तमोर करिडोर : नावा खोलाको अवरोध खुल्यो, चल्न थाले चार पाङ्ग्रे सवारी

आश्विन २०, २०८१

लक्ष्मी गौतम

Tamor Corridor: Nawa river barrier opened, Four wheelers started running

पाँचथर — बाढीका कारण अवरुद्व तमोर करिडोरको धनकुटा मुलघाटदेखि पाँचथरको फिदिम खण्डमा चार पाङ्ग्रे साधन सञ्चालनमा आएका छन् । असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षासँगै धनुकटा र पाँचथरलाई सीमाना छुट्याएर बग्ने नावा खोलामा बाढी र पहिरोका कारण सडक सञ्चालन हुन सकेको थिएन ।

 यसैबीच नावा खोलामा स्काभेटर लगाएर खोला फिजाइ चार पाङ्ग्रे साधन आवत जावत गर्न मिल्ने बनाइएको हो ।

खोलो फराकिलो बनाएर गाडी तर्न सक्ने बनाइएसँगै आइतबार बिहानैदेखि दमक, इटहरी, विराटनगर र धरान हुँदै धनकुटाको मुलघाटबाट पाँचथरको फिदिमसम्म आउने र फिदिमबाट त्यसतर्फ जाने सवारी साधन आवागमन गर्न थालेका छन् ।

तमोर करिडोर आयोजनाका प्रमुख प्रदिप निरौलाले मोटरसाइकल सहितका दुई पाङ्ग्रे साधन भने उक्त सडक मार्फत तत्काल ल्याउन लैजान नसकिने बताए ।

‘पानीको मात्रा उल्लेख्य रहेकाले अहिल्यै तार्न सक्ने अवस्था छैन, घटेपछि केही सहज हुन सक्छ,' उनले भने । 

तमोर करिडोर सञ्चालनमा ल्याइएसॅगै धरानको बाटो भएर पेट्रोलियम पदार्थ लिएर आएका ट्याङ्कर आइतबार बिहानै पाँचथरको फिदिम आइपुगेका छन् ।

धनकुटा पाँचथर खण्ड खुलेपनि पाँचथर-ताप्लेजुङ खण्डको अवरोध भने यथावत छ । सोही सडक खण्डको हेवा खोलामा बाढीले सडक भत्काएको छ भने हेवा खोलाको बेलिब्रिज बगेका कारण आवागमन ठप्प भएको हो । 

बाढी पहिरो

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully