काभ्रे — बाढीपहिरोले प्रभावित काभ्रेको पनौती नगरपालिका–१२ स्थित कलाँतीमा ड्रोनबाट राहत सामग्री वितरण गरिएको छ । पहिरोले सडक अवरुद्ध हुँदा कलाँतीको मगर गाउँमा राहत पुर्याउन कठिनाइ भएको थियो । आइतबार प्रशासनसँगको समन्वयमा ‘हामी नेपाल’ संस्थाले ड्रोनबाट राहत सामग्री पुर्याएको हो ।
मगर गाउँ कलाँतीबाट ४–५ किलोमिटरको उचाइमा छ । एक सातादेखि यहाँका स्थानीयले खाद्यान्न, खानेपानी, बिजुलीको समस्या भोग्दै आएका छन् । वडाभरि भने करिब ३ सय घरपरिवार बाढीपहिरोबाट प्रभावित भएका छन् । ‘हामी नेपाल’ ले ३ दिनअघि मगर गाउँ पुगेर त्यहाँको स्थिति सर्वेक्षण गरेको र राहत संकलन गरेर ड्रोनमार्फत वितरण थालेको संस्थाका अध्यक्ष सुदन गुरुङले बताए ।
‘आइतबार खाद्यान्न, सोलार, खानेपानी, बच्चाका सामग्रीहरूसहित एक पटकमा ३५ किलो राहत सामग्री पठाएका थियौं,’ उनले भने, ‘यहाँबाट पठाएको सामग्री रिसिभ गर्ने टिम माथि मगर गाउँमा हुनुहुन्थ्यो, उहाँहरूले सामान लिएर प्रभावितलाई वितरण गर्नुभएको छ ।’ ड्रोनबाट आइतबार ३० फ्लाइटमा करिब ६ सय किलो राहत सामग्री मगर गाउँका बाढीपहिरो प्रभावित करिब ८५ परिवारलाई वितरण गरिएको उनले जानकारी दिए ।
‘हाम्रो सर्वेक्षणमा मगर गाउँमा तत्काल राहतको आवश्यकता देख्यौं । तर, त्यहाँका स्थानीय राहत लिन पैदलै पनि आउन सक्ने स्थिति देखिएन । त्यसैले ड्रोन प्रयोग गर्ने निष्कर्षमा पुगेका हौं,’ उनले भने, ‘ड्रोन चलाउन र राहत सामग्री वितरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय काभ्रेबाट अनुमति र स्वीकृति लियौं । सर्टिफाइड अपरेटरहरूमार्फत हामीले ड्रोनको परीक्षण गरेर राहत सामग्री वितरण सुरु गरेका हौं ।’
गुरुङका अनुसार यो ड्रोन सामान ढुवानीका लागि बनाइएको हो । ‘यसको मूल्य करिब १ करोड पर्छ,’ उनले भने, ‘भौगोलिक रूपमा विकटता ठाउँमा सामान ओसारपसार गर्न बनाइएको हो । विशेष गरेर यस्तै विपद्को समयमा यो उपयोगी हुन्छ ।’ संस्थाले प्रयोग गरेको उक्त ड्रोन चीनबाट आयात गरिएको हो । ‘एयरलिफ्ट टेक्नोलोजी’ संस्थाको प्राविधिक सहयोगमा २ जना दक्ष अपरेटरले ड्रोनको सहायताले राहत वितरण गरेको गुरुङले बताए ।
उनका अनुसार करिब ३ मिनेटमा ड्रोनले सामान पुर्याएर फर्किसकेको थियो । एक पटकमा ३५ किलोसम्मको सामग्री पठाउन सकिने उनले बताए । हाल राहत वितरणमा प्रयोग गरिएको ड्रोनले करिब ४–५ किलोमिटर टाढासम्म सामान बोकेर जान सक्छ । ‘ब्याट्रीबाट सञ्चालित हुने यो ड्रोन सामान बोकेर गएकै बेलामा ब्याट्री सकिएमा आफैं सुरक्षित अवतरण गर्न सक्छ,’ गुरुङले भने । काभ्रेका अन्य क्षेत्रमा पनि ड्रोनबाट राहत वितरणका लागि सर्भे गरिरहेको उनले जानकारी दिए ।
राहत वितरणमा ड्रोनको प्रयोगले धेरै सहज भएको जिल्ला विपद् समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । भौगोलिक विकटता भएको स्थानमा यस्ता ड्रोन प्रयोग गर्न सके समयमै प्रभावितले राहत पाउने उनको भनाइ छ । विपद्मा समयमै उद्धार तथा राहत वितरणका लागि ड्रोनको प्रयोग प्रभावकारी देखिएको पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले बताए । ‘पनौतीमा गरिएको अभ्यास निकै नै सराहनीय छ । प्रविधिले उद्धार र राहत वितरणमा सहज बनाएको छ,’ उनले भने ।
युवाको सक्रियतामा विपद् उद्धार तथा राहत वितरण गर्ने उद्देश्यका साथ ‘हामी नेपाल’ २०७२ सालमा स्थापना गरिएको थियो । २०७२ सालको भूकम्पपछि नेपालमा भएका हरेक विपद्मा उद्धार तथा राहत वितरणमा सक्रिय रहेको अध्यक्ष गुरुङले बताए । उनका अनुसार, अहिले प्रविधिमा भएको विकासले राहत वितरणमा धेरै सहज भएको छ । ‘२०७२ सालमा भएको भूकम्पमा धेरै मानवीय तथा भौतिक क्षति भयो,’ उनले भने, ‘भौगोलिक विकटताका कारण प्रभावितलाई राहत वितरणमा निकै कठिन भएको थियो । गत साल जाजरकोटमा गएको भूकम्प प्रभावितलाई पनि राहत वितरणमा निकै समस्या भएको थियो । घण्टौं हिँडेर, खच्चड चढेर राहतका सामग्री बोकेर त्यहाँ पुगेका थियौं ।’
बाढीपहिरोले ठूलो मानवीय र भौतिक क्षति गरेपछि सरकारले काभ्रेका ८ पालिकालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । संकटग्रस्त क्षेत्रमा प्रभावितलाई राहत वितरण भइरहेको छ । तर, भौगोलिक विकटताका कारण केही स्थानमा राहत वितरणमा कठिनाइ देखिएको छ । बाढीपहिरोका कारण सडक, बिजुली, सञ्चार, खानेपानीलगायत सेवा अवरुद्ध भएको छ, जसका कारण पनि प्रभावितलाई समयमै राहत वितरण गर्न नसकिएको प्रशासनको भनाइ छ ।
