ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलाको ट्रेजुङ खोलामा आएको बाढीले पुल बगाएको छ । वडासदस्य टासी शेर्पाका अनुसार बाढी तमोर नदीसम्म झरेको छ ।
बाढीले रूखहरू नबगाएकाले तमोर नदी भने थुनिएको छैन । शनिबार बिहान ठूलो आवाज गर्दै बाढी झरेपछि स्थानीय त्यहाँ पुगेका थिए । पुल बगाएपछि बस्तीबाट खर्कजान समस्या हुने भएको वडाका कर्मचारी तेञ्जीङ शेर्पाले बताएका छन् ।
ताप्लेजुङमा शुक्रबारदेखिनै वर्षा भइरहेको छ । वर्षाले शनिबार बिहान सदरमुकाम फुङलिङमा लाग्ने शनिबारे हाटसमेत केही प्रभावित भएको छ । गाउँबाट किसानहरू कृषि उपज लिएर आउन सकेका छैनन् ।
