मुगु — अविरल वर्षाका कारण कर्णाली राजमार्गमा पहिरो पन्छाउन समस्या भएको छ । गत शुक्रबारदेखिको वर्षाका कारण राजमार्गको कालिकोट सडक खण्डको हुल्म र कालिकोट-दैलेखको सीमाना दहिखोला नजिक गगनेखोला, सातमोड लगायत चार ठाउँमा पहिरो खसेको छ ।
निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समेत समस्या भएको सडक डिभिजन कार्यालयले जनाएको छ । कर्णाली राजमार्गको पहिरो पन्छाउन कठिनाई उत्पन्न भइरहेको सडक डिभिजन कार्यालयका प्रमुख चेतन कुमार मण्डलले जानकारी दिए ।
मेसिन लगाएर पहिरो पन्छाउने काम सुरु गरेपनि पहिरो नरोकिँदा अफ्ठ्यारो भएको उनले बताए । गगनेखोला र हुल्ममा माथिबाट ठूल्ठूला ढुंगा खसेर सडक अवरुद्ध पारेको छ । ढुंगा मेसिनले फुटाउन समय लाग्ने सडक डिभिजन प्रमुख मण्डलको भनाइ छ । पहिरो नपन्छाउँदासम्म सडक सुचारु नहुने सडक डिभिजन कार्यालयले जनाएको छ ।
भारी वर्षाले कर्णाली राजमार्ग अबरुद्ध हुँदा दर्जनौँ सवारी साधन बीच बाटोमा अलपत्र परेका छन् । सुर्खेत नेपालगञ्जदेखि मुगु, जुम्ला, कालिकोट सम्म सवारी आगमन रोकिएको छ ।
