लगातार वर्षाका कारण राजमार्ग तथा ग्रामीण सडक जताततै पहिरो र हिलो

भाद्र ६, २०८१

विप्लव महर्जन

Landslides and mudslides everywhere on highways and rural roads due to incessant rains

सल्यान — दैनिकजसो परेको वर्षाले पहिरो खस्ने र सडक हिलाम्य हुँदा यहाँका मुख्य र विभिन्न ग्रामीण क्षेत्रका सडक बन्द भएका छन् । सडक बन्द हुँदा स्थानीयबासीको जनजीवन प्रभावित बनेको छ र उनीहरू सास्ती भोग्न बाध्य भएका छन् ।

संघ, प्रदेश तथा स्थानीय तहको बजेटमा निर्माण गरिएका सडकबाट तत्काल पहिरो पन्छाउने र खाल्डाखुल्डी पुर्नेमा सम्बन्धित निकायले खासै चासो नदेखाएको र कतिपय स्थानमा पहिरो पन्छाए पनि पुनः खसेकाले जिल्लावासी तथा यात्रुलाई सास्ती भएको हो । 

सडकका ठाउँठाउँमा खसेको पहिरो, हिलाम्मे तथा खाल्डाखुल्डीका कारण नियमित गाडी चल्न नसक्दा जिल्लावासीलाई सदरमुकाम तथा बाहिरी जिल्ला आउजाउमा समस्या मात्र भएको छैन, हिलोमा फसेका गाडी निकाल्न यात्रु आफैंले धकेल्नु परेको छ । वर्षातका कारण बिग्रेको सडकले गर्दा गाडी दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । 

जिल्लाको बाग्चौरदेखि रागेचौर हुँदै चौरजहारी जाने सडक पूर्वाधार विकास कार्यालयले केही किलोमिटर कालोपत्र गरेको र केही वर्षअगाडि संघीय सरकारको बजेटमार्फत ग्राभेल गरे पनि वर्षातको भेलले बगाउँदा बडागाउँदेखि तलतिरको सडक हिलाम्मे भएकाले आउजाउ गर्न कठिनाइ हुने गरेको कुमाख गाउँपालिका–५ का भद्रबहादुर बुढाले बताए । Landslides and mudslides everywhere on highways and rural roads due to incessant rainsवर्षातका कारण खोलाले सडकमा ढुंगामाटो थुपारेपछि सकी नसकी चारैतिरबाट समातेर मोटरसाइकल पार गराउँदै कालीमाटीका स्थानीय र राप्ती राजमार्गअन्तर्गत जलेखर्कनजिकै हिलाम्मे सडकमा बस फसेपछि धकेल्दै यात्रु तथा सुरक्षाकर्मी । तस्बिर : कान्तिपुर 

कुमाख गाउँपालिकाको रागेचौरबाट र बाग्चौर नगरपालिकाको थारमारे बजार पुग्नलाई एक घन्टा मात्रै लाग्ने भए पनि सडक पूरै हिलाम्मे भएकाले गाडी फस्ने गरेका कारण झन्डै दुई घन्टा बढी समय लाग्ने गरेको र बिरामीलाई उपचारका लागि जिल्ला अस्पताल लैजान पर्दा साह्रै गाह्रो हुने गरेको उनले बताए । वर्षातका कारण सडकको दुरावस्था भए पनि सम्बन्धित निकाय मौन रहेको उनको गुनासो छ । 

सडक हिलाम्मे मात्र नभई वर्षातको भेलले खोलामा चिरा पारेको र ढुंगा, बालुवा थुपारेकाले गाडी चल्न नसक्दा पालिकाको केन्द्र पुग्न कठिनाइ हुने गरेको कालीमाटी गाउँपालिका–५ दम्दवालीका सुरेश गाहा मगरले बताए । पालिकामा कुनै कामका लागि जान पर्दा अचेल दम्दवालीदेखि बालुवासम्म करिब ढाइ घन्टा हिँड्नु पर्ने बाध्यता रहेको उनले जानकारी गराए । 

‘वर्षातका कारण ग्रामीण सडक हिलाम्मे मात्र नभई गाडी चल्न छाडेपछि दुई सातादेखि दम्दवाली, हात्तीदमारका स्थानीय घरबाहिर जान पाएका छैनन्,’ उनले भने, ‘गाउँमा कोही बिरामी भयो भने स्टेचरमा बोकेर लग्नुपर्ने अवस्था छ । खलंगादेखि कालीमाटी–दम्दवाली–घुइयाबारी हुँदै नेपालगन्ज जाने सडक निकुञ्जका कारण बजेट परे पनि ट्र्याक खोल्न तथा स्तरवृद्धि हुन सकेको छैन ।’

वर्षातकै कारण सालचौर निगालचुला सडक हिलाम्मे हुनुका साथै चिराचिरा परेर बिगारेपछि नियमित गाडी नचल्दा सदरमुकाम जानु परेमा सालचौरसम्म दुई घन्टा हिँडेर आउजाउ गर्नुपर्ने अवस्था रहेको बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाका वडाध्यक्ष लालबहादुर घर्तीले बताए । उनले घाम लागे मात्र गाडी चल्ने गरेको पनि जानकारी गराए ।

‘सम्बन्धित निकायले गत वर्ष ७० लाखभन्दा बढी रकम खर्च गरेर सडक स्तर वृद्धिका लागि कटिङ गरेको थियो,’ उनले भने, ‘त्यसले गर्दा पानी पर्ने बित्तिकै सडक हिलाम्मे मात्र नभई चिप्लो हुने गर्छ । केही स्थानमा चिराचिरा पारेको छ । त्यसले गर्दा गाडी आउजाउमा समेत समस्या छ ।’

वर्षात हुने बित्तिकै राप्ती राजमार्गअन्तर्गत पर्ने दार्मा गाउँपालिका–५ जलेखर्कमा सडक हिलाम्मे हुँदा दैनिक जसो गाडी फस्ने गरेको र सबै यात्रु मिलेर धकेल्नु पर्ने अवस्था रहेको स्थानीय विमल खड्काले बताए । ‘सम्बन्धित निकायले विगतमा उक्त सडक खण्ड कालोपत्र गरेको थियो । केही उकालो भएकाले कालोपत्र टिकेको छैन,’ उनले भने, ‘माथिबाट खसेको पहिरोले सडक हिलाम्मे हुँदा लामो समय नटिक्दा र सडक हिलाम्मे हुँदा दाङ–सल्यान– रुकुम आउजाउ गर्ने यात्रुले विभिन्न किसिमको समस्या भोग्दै आएका छन् ।’

दैनिक जसो हुने बर्षातले गर्दा पालिका भित्रका ग्रामिण सडक बिग्रदा यात्रुलाई मात्र नभई बेमौसमी तरकारी उत्पादन गर्ने किसानलाई कपुरकोट हाटबजारसम्म पुर्‍याउन गाह्रो भएको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले बताए ।

वर्षातका कारण सडक हिलाम्मे मात्र नभई ठाउँठाउँमा चिरा पारेकाले मोटरसाइकल तथा चारपांग्रे सवारी साधनमा सवार गर्दा हैरानी हुने गरेको र ज्यानसमेत जोखिममा पर्ने गरेको दार्मा गाउँपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक यज्ञबहादुर बस्नेतले बताए । ‘ग्रामीण सडकको दुरावस्थाका कारण गाउँघरमा उत्पादित वस्तुसमेत त्यत्तिकै खेर गइरहेको छ,’ उनले भने । 

बाढी पहिरो

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully