ओखलढुंगा — एमालेका प्रदेशस्तरीय नेता अम्बिरबाबु गुरुङ प्रतिनिधिसभाको टिकटका आकांक्षी थिए । प्रदेश १ मा तत्कालीन नेकपा नेतृत्वको सरकार हुँदा भौतिक पूर्वाधारमन्त्री भएका गुरुङ पुनः प्रदेशसभा ‘१’ को चुनावी मैदानमा छन् ।
कांग्रेसका केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवार पनि प्रतिनिधिसभामा उठ्न चाहन्थे । तर उनलाई पनि प्रदेशसभा ‘१’ को टिकट थमाइयो । कांग्रेसको दुई पटक जिल्ला सभापति भइसकेका सुनुवार सत्तारूढ गठबन्धनको उम्मेदवार बनेर चुनावी दौडमा छन् ।
गुरुङले आफ्नो कार्यकालमा धेरै बजेट ल्याएको भनी चर्चामा छन् । सुनुवार हालसम्म परीक्षण नभएको हक्की नेताको रूपमा चिनिन्छन् । उनलाई गठबन्धनको सरकार गठन भएमा मुख्यमन्त्रीको दाबेदार मानिएको छ ।
अघिल्लो निर्वाचनमा गुरुङले मतदातालाई आर्थिक प्रलोभनमा पारेको आरोप छ सुनुवारको । ‘मतदाता सधैं बिक्दैनन्, योग्यता र क्षमतालाई हेरेर भोट दिन्छन् भन्नेमा विश्वस्त छु,’ सुनुवारले भने, ‘जनताका सुखदुःखमा साथ दिएकाले मेरो जित सुनिश्चित छ ।’
गुरुङ आफ्नो कार्यकालमा सुरु भएका काम पूरा गर्न मतदाताले पुनः जिताउनेमा विश्वस्त छन् । ‘मेरो पालामा नसोचेको स्तरमा विकासका योजना र बजेट ल्याएको छु, ती कतिपय काम पूरा भएका छैनन्,’ गुरुङले भने, ‘ती सबै बाँकी काम पूरा गर्न मतदाताले मलाई चुन्नुहुन्छ भन्नेमा ढुक्क छु ।’ प्रदेशसभा ‘१’ मा तुलनात्मक रूपमा प्रदेशसभा ‘२’ भन्दा माओवादीको संगठन बलियो मानिन्छ । माओवादीको सहयोगमा चुनाव जित्नेमा सुनुवार ढुक्क छन् । गुरुङ असन्तुष्ट कांग्रेस र माओवादी नै एमालेमा प्रवेश गरेकोले जित्नेमा ढुक्क देखिन्छन् ।
जिल्लामा दुई प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ‘२’ को प्रतिस्पर्धा पनि रोचक हुने देखिएको छ । सत्ता गठबन्धनबाट माओवादीका बाबुराम गौतम र एमालेबाट ज्ञानबहादुर खड्का स्पर्धामा छन् । दुवै पहिलो पटक उम्मेदवार बनेका हुन् । ‘२’ मा एमालेको संगठन तुलनात्मक रूपमा बलियो मानिन्छ । गौतम विगत एक दशकदेखि राजनीतिमा सक्रिय छन् । खड्का यहाँका लागि नयाँ हुन् ।
खड्का र गौतम दुवैको एजेन्डा जिल्लाको पश्चिमी भूभागको विकासमा परिवर्तन ल्याउने छ । ‘पूर्वाधार नै प्रमुख आवश्यकता छ, अहिले पनि पश्चिमका जनता सदरमुकाम आउनु तीन जिल्ला घुम्नुपर्ने बाध्यतामा छन्,’ गौतमले भने, ‘म निर्वाचित भएमा यी समस्यालाई स्थायी रूपमा समाधान गर्छु ।’ खड्काले अघिल्लो कार्यकालमा माओवादी निर्वाचित हुँदा कुनै विकास हुन नसकेकोले आफू निर्वाचित भएमा विकासमा कायापलट गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा ५६ हजार ७ सय ३३ मतदाता छन् । निर्वाचन क्षेत्र नं. २ मा ६१ हजार १ सय ६४ मतदाता छन् ।
