बर्दिया — अल्पसंख्यक सोनाहा जातिले आफूहरू सधैं उपेक्षित हुनु परेको गुनासो गरेका छन् । वर्षौंदेखि आदिवासी–जनजातिमा सूचीकृत गर्न दबाब दिए पनि सुनुवाइ नभएकाले उम्मेदवारका कुरा पत्याउन छाडेको उनीहरूले बताएका हुन् । सरकारले सूचीकृत नगरेका कारण राज्यबाट पाउने सुविधाबाट वञ्चित भएको उनीहरूको भनाइ छ ।
राजापुर–१ प्रेमनगरकी तेजकुमारी सोनाहाले उम्मेदवारले निर्वाचित भएपछि यो मुद्दाको समाधान गर्ने वाचा गर्दै आएको बताइन् । ‘चुनाव जितेपछि जनप्रतिनिधि फर्केर आउँदैनन्,’ उनले भनिन्, ‘अब त विश्वासै लाग्दैन ।’
जिल्लाको कर्णाली नदी तटीय क्षेत्रमा बस्दै आएका सोनाहा जातिको मुख्य र पुख्र्यौली पेसा माछा मार्ने, डुंगा चलाउने र नदीमा सुन चाल्ने हो । यहाँका अधिकांश पुरुष भारतीय सहरमा मजदुरी गरिरहेका छन् । निर्वाचन आउन लाग्दा दलका नेताले विगतमा सोनाहा जातिको माग सम्बोधन गर्ने झूटो आश्वासन दिएको सोनाहा विकास समाजका अध्यक्ष बलबहादुर सोनाहाले बताए । ‘अब लिखित प्रतिबद्धता जाहेर गर्नेलाई मात्र विश्वास गर्ने हो,’ उनले भने ।
सोनाहालाई अन्यको सूचीबाट हटाई आदिवासीमा राख्नु पर्ने, मुक्त कमैयासरह सुविधा दिनु पर्ने र निकुञ्ज क्षेत्रमा माछा मार्न दिनु पर्ने माग उनीहरूको छ । यो जातिलाई सूचीकृत गर्न पहल गर्ने बर्दिया–२ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सुरेश पन्थले बताए । यसै गरी राप्रपाका उम्मेदवार विनय रावलले पनि सोनाहा जातिको मुद्दालाई प्राथमिकताका साथ उठाउने बताए ।
