मुगुमा कसले जित्ला ?

प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट कांग्रेसका ऐनबहादुर शाही र एमालेका राजु कार्कीबीच प्रतिस्पर्धा

कार्तिक २२, २०७९

राजबहादुर शाही

मुगु — मुगुमा सत्ता गठबन्धन र एमालेका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ निर्वाचन क्षेत्र रहेको मुगुमा मुख्यगरी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र एमालेका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट कांग्रेसका ऐनबहादुर शाही र एमालेका राजु कार्कीबीच प्रतिस्पर्धा हुने देखिएको छ । अहिले गठबन्धन र एमालेका नेता–कार्यकर्ताहरूले उम्मेदवारसहित गाउँगाउँमा प्रचारप्रसारलाई तीव्र बनाएका छन् । गठबन्धन दल र एमालेका एजेन्डाहरू भने उस्तैउस्तै छन् । दुवैले सडक, सिँचाइ, खानेपानीलगायत विकास पूर्वाधार र शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा जोड दिँदै आफ्ना घोषणापत्र अघि सारेका छन् ।

कांग्रेस जिल्ला सभापति शाही यसअघि प्रतिनिधिसभा सदस्यमा पराजित भइसकेका व्यक्ति हुन् । कार्की भने पहिलोपल्ट उम्मेदवार बनेका हुन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार गोपाल बम १३ हजार ३४ मत ल्याएर विजयी भएका थिए । उनी अहिले एकीकृत समाजवादीमा छन् । उनलाई सत्ता गठबन्धनले प्रदेशसभा–१ (१) बाट उम्मेदवार बनाएको छ ।

गत स्थानीय निर्वाचनमा जिल्लाका ४ स्थानीय तहमध्ये २ प्रमुख र ३ उपाध्यक्षमा कांग्रेस विजयी भएको थियो । एमाले र एकीकृत समाजवादीले एक/एक पालिका जितेका छन् । स्थानीय निर्वाचनको परिणामअनुसार गठबन्धन एमालेभन्दा झन्डै ८ हजार ५ सय मतले अघि देखिन्छ । अहिले सत्ता गठबन्धन रहेकाले अघिल्ला दुवै निर्वाचन जितेको एमालेलाई आफ्नो साख जोगाउन मुस्किल रहेको कांग्रेस महासमिति सदस्य लेकविक्रम शाहले दाबी गरे । ‘गठबन्धन दलबाट अन्तरघात नभए २०७४ सालमा एमालेले जितेका तीनवटै सिट गुमाउन सक्ने देखिएको छ,’ उनले भने, ‘स्थानीय निर्वाचनको मतका आधारमा हामी झन्डै दोब्बर मतले अघि छौं ।’ उनले यसअघि प्रतिनिधिसभामा निर्वाचित सांसद अहिले गठबन्धनबाट प्रदेशमा लडेकाले पनि गठबन्धनले जित्नेमा ढुक्क रहेको बताए ।

एमाले जिल्ला सचिव डबल रोकायाले पुरानै जनमतलाई जनताले अनुमोदन गर्ने दाबी गरे । ‘एमालेकै पालामा मुगुमा विकासमा पनि उल्लेख्य प्रगति भएको छ,’ उनले भने, ‘एमालेका काम जनमैत्री र जनपक्षीय भएकाले पनि जनताले हामीलाई नै विश्वास गरेका छन् ।’

गत प्रदेशसभा निर्वाचनमा पनि एमालेले दुवै क्षेत्र जितेको थियो । प्रदेश–१ (१) मा एमालेका दानसिंह परियार ५ हजार ६ सय ५३ मतले विजयी हुँदा कांग्रेसका तिलकबहादुर मल्ल ५ हजार २ सय ९९ मत ल्याएर पराजित भएका थिए । अहिले उक्त क्षेत्रमा गठबन्धन दलले एकीकृत समाजवादीका गोपाल बमलाई साझा उम्मेदवार बनाएको छ भने एमालेले पार्टीका जिल्ला अध्यक्ष जितबहादुर मल्ललाई मैदानमा उतारेको छ । २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा चुनाव जित्न सफल भएका बम यो पटक गठबन्धनबाट प्रदेशमा उम्मेदवार बनेका हुन् ।

त्यस्तै, यसअघिको निर्वाचनमा प्रदेश–१ (२) मा एमालेका चन्द्रबहादुर शाहीले ६ हजार ८ सय ४५ मत ल्याएर चुनाव जित्दा कांग्रेसका खड्गबहादुर शाहीले ४ हजार ६ सय १२ मत मात्र पाएका थिए । यसपालि गठबन्धनका तर्फबाट माओवादी जिल्ला संयोजक मंगलबहादुर शाही र एमालेका कर्णबहादुर मल्ल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 

प्रतिनिधिसभाका उम्मेदवार कांग्रेसका शाहीले गत निर्वाचनमा आन्तरिक समस्याका कारण आफू पराजित भएकाले यसपालि ठूलो जनमतसहित विजयी हुने दाबी गरे । ‘गत निर्वाचनमा एमाले र माओवादी एक हुँदा पनि मैले राम्रै दबाब दिएको थिएँ,’ उनले भने, ‘अहिले त मसँग गठबन्धनको पूरै मत छ, चुनाव जसरी पनि जितिन्छ ।’ कार्कीले भने एमालेको संगठन कमजोर नभएकाले आफूले जित्नेमा द्विुविधा नराख्न आग्रह गरे । ‘निर्वाचनमा होमिएपछि हामीसँग जित्ने प्रशस्त आधार छन्,’ उनले भने, ‘मतदाताको भरोसा र विश्वास धेरै छ, अरू कुरा मत परिणामले देखाउला ।’

राजबहादुर

Link copied successfully