दैलेखमा त्रिपक्षीय प्रतिस्पर्धा

कार्तिक २२, २०७९

कान्तिपुर संवाददाता

दैलेख — मंसिर ४ गते हुने निर्वाचनमा दैलेखका दुईवटै प्रतिनिधिसभा र ४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभा सदस्यका लागि दैलेख क्षेत्र नं. १ मा एमालेका जिल्ला अध्यक्ष रवीन्द्र शर्मा, गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अमरबहादुर थापा र राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाहीबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

एमालेका शर्मा पूर्वप्रतिनिधिसभा सदस्य हुन् भने थापा पूर्वप्रतिनिधिसभा सदस्य र प्रदेश सरकारका मन्त्री । शाही संघीय सरकारको राज्यमन्त्रीसमेत भइसकेकी छन् । २०६४ सालदेखि २ पल्ट लगातार सामानुपातिक सांसद बनेकी राप्रपा महामन्त्री शाही पहिलोपटक प्रत्यक्षतफको उम्मेदवार बनेकी छन् । आफू सांसद हुँदा धेरै जनपक्षीय काम गरेकाले आफूले जित्ने उनको दाबी छ । 

एमालेका शर्माले भने आफ्नो जितलाई फेरि दोहर्‍याउने दाउमा छन् । उनले आफ्नो प्रतिस्पर्धा गठबन्धनका उम्मेदवारसँग हुने बताए । विगत ४० वर्षयताको दैलेखको राजनीतिलाई आफूले नजिकबाट नियालिरहेकाले उनले आफूले जित्ने दाबी गरे ।  

गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका नेता थापाले एमालेभन्दा झन्डै ११ हजार मतले गठबन्धनले अघि रहेकाले जित्ने निश्चित भएको दाबी गरे । उनले सडक, खोनपानी र युवालाई स्वरोजगारको अवसर दिलाउन आफूले धेरै काम गरेको दाबी गरे । 

२३ वर्षसम्म नजितेको कांग्रेसले नजितेको क्षेत्र २ मा पनि  प्रतिस्पर्धा हुने भएको छ । जहाँ नयाँ र पुराना अनुहारबीच कडा प्रतिस्पर्धा हुने भएको हो । यस क्षेत्रबाट प्रतिनिधिसभातर्फ गठबन्धनका साझा उम्मेदवार कांग्रेसका दिक्पाल शाही र एमालेका जिल्ला इन्चार्ज लक्ष्मीप्रसाद पोखरेलबीच  प्रतिस्पर्धा हुने भएको छ । २०७० सालमा संविधानसभाको सदस्य बनेका एमालेका पोख्ररेलेलाई भने कांग्रेसको शाहीले चुनौती दिएका छन् । २३ वर्षयता दैलेख–२ मा कांग्रेसले चुनाव जितेको छैन ।   क्षेत्र नं २ मा २०४८ यता कांग्रेस, नेपाल मजदुर किसान पार्टी र एमालेबीच प्रतिस्पर्धा हुँदै आएको छ । २०४८ यताको ६ वटा संसदीय चुनावमा कांग्रेसले २, नेमकिपाले १ र एमालेले तीन पटक जितेको थियो । 

कान्तिपुर

Link copied successfully