विराटनगर — केन्द्रीय सभापतिका आकांक्षी शेखर कोइरालाको गृहजिल्ला मोरङमा कांग्रेस सभापतिका लागि आइतबार भएको त्रिपक्षीय निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि नतिजाका लागि दोस्रो चरणको निर्वाचन कुर्नपर्ने भएको छ ।
आइतबार भएको पहिलो चरणको निर्वाचनमा खसेको कुल मत संख्या ३ हजार ४ सय १३ मध्ये निवर्तमान सभापति डिगबहादुर लिम्बुले १ हजार ५ सय ४४, पूर्वउपसभापति दिलिप गच्छदारले १ हजार १ सय ५९ र पूर्वसचिव यदुकुमार विष्टले ५ सय ६३ मत ल्याएका छन् ।
खसेको मतमध्ये १ सय ४७ मत बदर भएको थियो । तीन जनामध्ये कुनै पनि उम्मेदवारले खसेको मतको ५० प्रतिशत कटाउन नसकेपछि सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचन सोमवार वा मंगलबार हुने निश्चित भएको छैन ।
दोस्रो चरणको निर्वाचन पहिलो चरणमा पहिलो र दोस्रो हुने लिम्बु र गच्छदारबीच हुने छ । गच्छदार संस्थापन पक्ष र लिम्बु इतरपक्षका उम्मेदवार हुन । यसअपघको अधिवेशनमा लिम्बु शेरवहादुर देउवा खेमावाट निर्वाचित भएका थिए । उनी पछिल्लो समय कोइराला पक्षमा छिरेका हुन । दोस्रो चरणको निर्वाचनमा विष्टलाई मतदिने मतदाताको निर्णायक मत हुने छ ।
सभापतिको टुङ्गो नलागेसम्म अन्य पदाधिकारीको मतगणना नहुने भएको छ । सभापतिको टुङ्गो नलागेसम्म अन्य पदाधिकारीको मतगणना गर्दा सभापतिको दोस्रो चरणको निर्वाचन प्रभावित हुने भएकाले गणना नगरिएको बताइएको छ ।
उपसभापतिमा लिम्बु समूहबाट नागेश कोइराला र भक्तिनाथ माझी थारु, गच्छदार समूहबाट गोपालबहादुर थापा र सुवोध सिंहसहित राजु मास्के प्रतिस्पर्धी छन् । त्यसैगरी सचिवमा लिम्बु खेमावाट मोदराज घिमिरे र ललितवहादुर श्रेष्ठ, गच्छदार खेमाबाट अर्जुन निरौला र शिवप्रसाद ढकालसहित मनमोज बस्नेत र रविन राई प्रतिस्पर्धामा छन् ।
