३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

डडेलधुरामा पुनः अधिवेशन हुनुपर्छ : शेखर

काठमाडौँ — कांग्रेस नेता शेखर कोइरालाले डडेलधुरामा पुनः अधिवेशन हुनुपर्ने बताएका छन् । उनले आइतबार केन्द्रीय कार्यालयमा धर्नारत डडेलधुरा जिल्ला सभापति कर्णबहादुर मल्लसहित नेता कार्यकर्ताको धर्नामा ऐक्यबद्धता जनाउँदै नेता कोइरालाले विधिविधान विपरीत राज्य सत्ताको दुरुपयोग गरी गरिएको अधिवेशन मान्य नहुने बताएका हुन् ।

डडेलधुरामा पुनः अधिवेशन हुनुपर्छ : शेखर

कोइरालाले निर्वाचन समितिले डडेलधुरामा भएको अवैधानिक अधिवेशनलाई बदर गरी वैधानिक अधिवेशनको मिति तोक्नुपर्ने माग गरेका छन् । ‘जिल्लामा सभापति र जिल्ला कार्यसमितिलाई बाहिर राखेर अधिवेशन गर्ने कुराको कल्पना समेत गर्न सकिदैन । विधानले त्यस्तो परिकल्पना नै गरेको छैन । तर, डडेलधुरामा अहिले त्यही भएको छ,’ नेता कोइरालाले भनेका थिए, ‘यस्तो अवैधानिक अधिवेशन देख्दा देख्दै निर्वाचन समिति अन्धो भएर बस्न मिल्दैन । तत्काल लोकतान्त्रिक मूल्य, मान्यता र कांग्रेसको विधान अनुरुप अधिवेशन गर्नका लागि मिति तय गरिनुपर्छ ।’

उनले आइतबारै निर्वाचन समितिका पदाधिकारीहरूलाई समेत भेटेर डडेलधुरासहित विभिन्न जिल्लामा देखिएका समस्या समाधानका लागि ध्यान दिन आग्रह गरेका छन् । डडेलधुरामा जिल्ला सभापति मल्लसहितको असहमतिका बीच सभापति शेरबहादुर देउवा पक्षले जिल्ला अधिवेशन गरिसकेको छ । त्यही अधिवेशनले देउवा र उनकी पत्नी आरजु देउवा राणासहितलाई महाधिवेशन प्रतिनिधि समेत चुनेको छ ।

तर, जिल्ला सभापति मल्ल पक्ष भने ११ दिनदेखि क्रियाशील सदस्यताको विवाद समाधान गरी पुनः अधिवेशन हुनुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा रिले अनसन बसिरहेको छ ।

प्रकाशित : मंसिर १२, २०७८ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?