महामारीमा गाउँ बचाउन जुटे युवा

फेसबुकमार्फत ‘जन्मभूमिका लागि स्वास्थ्य सामग्री’ अभियान

जेष्ठ २२, २०७८

विप्लव भट्टराई, कुम्भराज राई

ओखलढुंगा, इलाम — कोभिड संक्रमणले आफ्नो जिल्ला प्रभावित बनेपछि विदेशमा रहेकाहरूले सहयोग जुटाउने अभियान तीव्र बनाएका छन् । आफू जन्मेको जिल्लालाई कोभिडसँग जुध्न सहयोग गर्ने प्रतिबद्धतासहित सहयोगका लागि जुटेका हुन् । इलाम र ओखलढुंगा घर भएका विदेशमा बसिरहेकाहरूबाट सहयोग जुटिरहेको छ ।

‘जन्मभूमिका लागि स्वास्थ्य सामग्री’ भन्ने अभियानसहित ओखलढुंगावासीले फेसबुकमार्फत सहयोग जुटाइरहेका छन् । पहिलो चरणमा मिसन अस्पताल ओखलढुंगा र जिल्ला अस्पताल रुम्जाटारलाई दुई–दुई वटा आईसीयू बेड, जिल्लाको आठै वटा स्थानीय तहलाई पाँच वटाको दरले आवश्यक उपकरणसहितको अक्सिजन सिलिन्डर उपलब्ध गराइने भएको छ ।

बेलायत रहेका अभियानका संयोजक शिवजी श्रेष्ठका अनुसार यी सामान पठाउने तयारी भइरहेको छ । बेलायत, अमेरिका, अस्ट्रेलिया, कोरिया, जापान, पोर्चुगल, साइप्रस, दुबई, साउदी अरब, कतारलगायत दर्जनौं देशहरूमा रहेका सयौं जिल्लावासीहरू अभियानमा जोडिएका छन् ।

हालसम्म गाउँमा ५४ जनाको संक्रमण पुष्टि भइसकेको छ । गाउँको अवस्था नाजुक बनेपछि थप संक्रमण फैलिन नदिन र संक्रमितलाई बचाउनका लागि गाउँकै तीन जना युवाहरू मिलेर सहयोग अभियान सुरु गरे । स्थानीय सर्वधन तामाङ, देशवीर तामाङ र बेलायत रहेका दिलीपकुमार तामाङले अभियान सुरु गरे । वडाध्यक्ष हेमकुमार तामाङ र गाउँकै एकराज तामाङ र धनराज तामाङले साथ दिए । 

उनीहरूले हालसम्म ९ लाख रुपैयाँभन्दा बढी संकलन गरिसकेका छन् । संक्रमितलाई आवश्यक स्वास्थ्य सामग्री, पोषण सामग्री बाँडिरहेका छन् । अक्सिमिटर, सुगर नाप्ने यन्त्र, थर्मलगन, पीपीई सेट, मास्क, सेनिटाइजरलगायत सामग्री प्रत्येक गाउँलेलाई निःशुल्क वितरण गरेका हुन् ।

‘हाम्रो अभियान थप संक्रमण फैलिन नदिन र संक्रमितलाई छिटो निको बनाउने हो,’ सर्वधनले भने, ‘सबै बाँचौं, सबैलाई बचाऔं, सुरक्षित रहौं भन्ने उद्देश्यले सबै गाउँलेले यसमा सहयोग गरिरहनुभएको छ ।’

संक्रमितलाई अस्पताल लानुपरेमा निःशुल्क गाडीको व्यवस्था पनि गरेका छन् । घरैमा लगेर अण्डा, हर्लिक्स जस्ता पोषिलो खाना दिने गरेका छन् । स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरू साथ दिएका छन् । 

‘इलामेलीको पीडामा मल्हमपट्टी हाम्रो अभियान’

इलामका लागि पनि स्वतःस्फूर्त रूपमा सेवामा जुट्नेहरूको सक्रियता बढ्दै गएको छ । विभिन्न संघसंस्थामार्फत र व्यक्ति स्वयंले स्वास्थ्य सामग्री जुटाउनेदेखि बिरामीलाई गाउँगाउँबाट अस्पतालसम्म पुर्‍याउने गरिएको छ ।

कोभिड व्यवस्थापन तथा राहत कोषमार्फत १८ लाख रुपैयाँभन्दा धेरैको स्वास्थ्य सामग्री सदरमुकामको इलाम अस्पतालसहित १० वटै पालिकासम्म पुर्‍याइएको छ । हरेक पालिकालाई सेमिफोल्डिड बेड ३ थान, सादा बेड २ थान, पीपीई १० सेट, सेनिटाइजर १० लिटर, मास्क ५ सय थान, ग्लोब्स ४ सय जोर, फेससिल्ड १० थान, थर्मल गन १ थान र अक्सिमिटर ३ थान हस्तान्तरण गरिएको छ । 

‘इलामेलीको पीडामा मल्हमपट्टी हाम्रो अभियान’ अन्तर्गत जुटेको सहयोगलाई कोभिडबाट प्रभावित जिल्लावासीलाई तत्काल राहत पुर्‍याउने उदेश्यले उक्त सामग्री वितरण गरिएको अभियानमा सक्रिय निरोज खड्गीले बताए । 

अभियानमा इलाम उद्योग वाणिज्य संघ, रेडक्रस, पत्रकार महासंघ र समाजसेवी जुटेका हुन् । अभियानअन्तर्गत इलाम अस्पताललाई ६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । 

कोषमा अमेरिका र क्यानडाका इलामेलीहरूले थप करिब १८ लाख रुपैयाँ सहयोग जुटाएका छन् । ‘इलाममा कोभिडले ठूलो क्षति भइरहेको अवस्थामा प्रवासमा बसेर पनि केही सहयोग गरौं भन्ने उद्देश्यले रकम संकलन अभियान चलाएका हौं,’ अमेरिकामा रहेका माधव गुरुङले भने । संकलित रकम इलाम उद्योग वाणिज्य संघको खातामा जम्मा हुने गरेको छ । 

यस्तै काठमाडौंवासी इलामेलीले संकलन गरेको स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालयलाई दिइएको छ । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कामार्फत हस्तान्तरण गरिएको हो । 

हस्तान्तरित सामग्रीमा मास्क १ लाख थान, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) ४ सय सेट, एन्टिजेन किट ३ सय थान, केएन ९५ मास्क २ हजार ५ सय थान, पल्स अक्सिमिटर २५ थान, सेनिटाइजर १ सय थान, प्यारासिटामोल १० हजार थान र जिन्क ५ हजार थान छन् । 

यस्तै काठमाडौंमा रहेर विभिन्न सामाजिक क्षेत्रमा सहयोग पुर्‍याउँदै आएका तारा–रोजु सापकोटाको तर्फबाट जनस्वास्थ्य कार्यालय इलामसहित सूर्योदय नगरपालिकामा सामग्री दिइएको छ । १० लाख रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको इलामको सूर्योदय नगरपालिकाको जहरसिंह गाउँ पुर्ख्यौली घर भएका तारा सापकोटाले बताए । 

कोरोना भाइरस

विप्लव

कुम्भराज

Link copied successfully