अस्पतालमा घट्न थाले संक्रमित- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पतालमा घट्न थाले संक्रमित

सीमित संख्यामा रहेका भेन्टिलेटर र आईसीयू भने अझै भरिभराउ
लीला श्रेष्ठ

भक्तपुर — क्षमताभन्दा बढी कोरोना संक्रमित बिरामी भर्ना गरेर उपचार गराएका भक्तपुरका अस्पतालहरूमा शय्या खाली हुन थालेका छन् । तीन साताअघि नयाँ भर्ना लिन नसक्ने अवस्थामा पुगेका अस्पतालहरू सामान्य अवस्थामा फर्किएको अस्पताल व्यवस्थापन र चिकित्सकहरू बताउँछन् ।

भक्तपुरको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको कोभिड आकस्मिक कक्ष । तस्बिर : लीला/कान्तिपुर

‘अक्सिजनको अभावले वैशाख २८ मा नयाँ भर्ना लिने कार्य बन्द भएको सूचना टाँस्न बाध्य भयौं,’ भक्तपुर अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. सुमित्रा गौतमले भनिन्, ‘अहिले त्यो अवस्था छैन, सामान्य हुँदै आएको छ ।’

डा. गौतमका अनुसार शुक्रबारसम्म अस्पतालको आईसीयूमा ६, भेन्टिलेटरमा २, एचडीयूमा १०, जनरल वार्डमा १९ गरी ३७ संक्रमितको उपचार भइरहेको छ । ६८ शय्या क्षमताको आइसोलेसन सञ्चालन गरेको यो अस्पतालले ८३ जनासम्म संक्रमितलाई भर्ना गरेर सेवा दिएको थियो । संक्रमितको संख्या बढ्दै जाँदा आकस्मिक कक्षलाई समेत कोभिड वार्डमा रुपान्तरण गरी उपचार गरेको थियो । हाल १ सय ४० जनासम्म संक्रमितलाई भर्ना गरेर उपचार गर्न सकिने क्षमता अस्पतालमा रहेको डा. गौतम बताउँछिन् ।

अस्पतालमा एचडीयू र जनरल आइसोलेसनमा संक्रमितलाई भर्ना गर्न सक्ने अवस्था भए पनि आईसीयू र भेन्टिलेटर चाहिने बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था कायमै छ । ‘आईसीयू शय्या र भेन्टिलेटर सीमित छ, नयाँ बिरामी भर्ना लिन अझै हाम्रो पहुँचमा छैन,’ उनले भनिन् ।

मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको १० शय्या क्षमताको आकस्मिक कक्षमा शुक्रबार ३ संक्रमितको मात्रै उपचार भइरहेको थियो । दुई साताअघिसम्म आईसीयू, भेन्टिलेटर, एचडीयू र आकस्मिक कक्षसमेत कोरोना संक्रमितले भरिएको थियो । मध्यपुर थिमि नगर प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार शुक्रबारसम्म अस्पतालको आईसीयूमा ६, भेन्टिलेटरमा ४, एचडीयूमा १२ र आकस्मिक कक्षमा ३ गरी २५ संक्रमित उपचाररत छन् । आईसीयू, भेन्टिलेटर र एचडीयूमा अझै नयाँ संक्रमितलाई भर्ना गर्न सक्ने अवस्था छैन ।

संक्रमितलाई प्रभावकारी सेवा पुर्‍याउँदै आएको यो अस्पताललाई बिहीबार इन्गेज नेपाल नामक संस्थाले ६३ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । उक्त अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएपछि संक्रमित बिरामी भर्ना गर्ने क्षमतामा वृद्धि भएको अस्पतालले जनाएको छ ।

अक्सिजन अभाव देखाउँदै दुई साताअघिसम्म निजी अस्पतालले मात्र होइन, सरकारी अस्पतालले समेत संक्रमितको भर्ना नलिने सूचना निकाले । जिल्लाका चारवटै स्थानीय तहका जनप्रतिनिधिको ध्यान अक्सिजन उत्पादनमा गयो । मध्यपुर थिमिले नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा करिब ६५ लाख रुपैयाँको लागतमा प्लान्ट राखी दैनिक ३० सिलिन्डर अक्सिजन उत्पादन नै सुरु गर्‍यो ।

संक्रमित बिरामीहरू थपिने क्रम बढेसँगै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा आइसोलेसन केन्द्र र आकस्मिक सेवामा अक्सिजनको माग बढ्न थाल्यो । नगरपालिकाले स्वास्थ्य मन्त्रालयसँग अक्सिजन सिलिन्डर उपलब्ध गराइदिन पटक–पटक आग्रह गर्‍यो । वैशाख २७ मा दैनिक ३० सिलिन्डर र भोलिपल्ट दैनिक ८० सिलिन्डर अक्सिजन ख्वपः अस्पताललाई प्रदान गर्ने भनी सीसीएमसीले निर्णय त गर्‍यो तर अक्सिजन उपलब्ध भएन ।

‘अक्सिजन अभावमा संक्रमितको मृत्यु हुने सम्भावना बढ्न थाल्यो, नगरपालिकाका कर्मचारीहरूले विभिन्न अक्सिजन प्लान्टहरूमा रातभर बसेर अक्सिजन भर्ने काम भयो,’ नगर प्रमुख सुनील प्रजापतीले भने, ‘तर त्यो लामो समयसम्म सम्भव थिएन, हामीले आफैं अक्सिजन प्लान्ट निर्माण गर्ने निर्णय गर्‍यौं र सहयोगी हातहरूमाझ सहयोगको अपिल गर्‍यौं ।’

प्लान्ट स्थापना गर्न हालसम्म करिब ५ करोड रुपैयाँ सहयोग संकलन भएको उनले जनाए । नगरपालिकाले वैशाख १७ बाट ५० शय्याको आइसोलेसन र २५ शय्याको एचडीयू सञ्चालनमा ल्याएको छ । जसमा चौबीसै घण्टा चिकित्सकीय सेवा दिँदै आइएको छ ।

आइसोलेसनमा सम्पूर्ण सेवा निःशुल्क प्रदान गर्दै आएको नगर प्रमुख प्रजापतीले बताए । त्यसैगरी, चाँगुनारायण नगरपालिकाले चाँगुनारायण नगर अस्पताललाई १५ शय्याको कोभिड अस्पतालको रूपमा सञ्चालन गरेको छ । चाँगुनारायण–४ का वडा सदस्य दिनेश खनालका अनुसार अस्पतालमा हाल ९ जना संक्रमित उपचाररत छन् ।

प्रकाशित : जेष्ठ २२, २०७८ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्

जनस्वास्थ्य रक्षाको आदेश माग्दै रिट

कान्तिपुर संवाददाता

बागलुङ — जनताको जीउधनको सुरक्षामा प्रभावकारी काम गर्न, गराउन अन्तरिम आदेश माग गर्दै डीसीसीएमसीसहितका प्रशासनिक र स्वास्थ्य संस्थाविरुद्ध उच्च अदालत पोखरा, बागलुङ इजलासमा बिहीबार रिट दायर भएको छ ।

अधिवक्ता राम शर्मा, पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेल, पत्रकार मुकेशचन्द्र राजभण्डारी र सामाजिक अभियन्ता सावित्री खड्काले रिट दर्ता गरेका हुन् । उनीहरूले विपक्षीको नाउँमा परमादेशसहितका उपयुक्त आदेश जारी गरी प्रत्येक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुरक्षा गर्न माग गरेका छन् । त्यस्तै संक्रमित रोगबाट बच्ने अधिकार, स्वास्थ्य उपचारको अधिकार, गुणस्तरीय सेवा पाउने अधिकार र सूचनाको अधिकारसमेतको संरक्षण माग गरेका छन् ।

रिटमा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, धौलागिरि अस्पतालका मेसु डा.शैलेन्द्र पोखरेल, डीसीसीएमसी, धौलागिरि अस्पताल र जिल्ला प्रशासनलाई विपक्षी बनाइएको छ । विपक्षीको कामकारबाही प्रभावकारी नभएकाले कोरोना रोकथाम हुन नसकेको समेत रिटमा आरोप लगाइएको छ ।

कोरोना संक्रमण भएको बिरामीले अन्य समस्याको पनि उपचार नपाउने भएपछि मृत्युदर बढेको, अत्यावश्यक स्वास्थ्य सेवाबाट वञ्चित भएको र सही सूचनासमेत नपाएको भन्दै जनताको अधिकारका लागि मुद्दा दायर गर्नुपरेको अधिवक्ता शर्माले बताए । उनीहरूले विपक्षीलाई संविधान र कानुनद्वारा प्रदत्त कर्तव्य बोध गर्राइ आमनागरिकको बाँच्न पाउने अधिकार, स्वास्थ्य उपचार र गुणस्तरीय सेवा पाउने अधिकारको रक्षा गर्न अदालतको आदेश चाहिएको बताए ।

संविधानको धारा १४४ को उपधारा १ को दफा २ बमोजिम, न्याय प्रशासन ऐन २०७३ को तफा ८(१), उच्च अदालत नियमावली २०७३ को नियम ३६, ३७, ३९ र ४२ को संवैधानिक र कानुनी व्यवस्थाअनुसार अदालतको आदेशपछि ती संस्थाहरू उत्तरदायी हुने विश्वाससमेत लिइएको छ । ‘कोरोना संक्रमणको समयमा जटिल बिरामीले उपचार नपाएर मरेका छन्,’ रिट निवेदक खड्काले भनिन्, ‘राज्यले जुनसुकै समस्याका लागि पनि उपचार सेवा दिनुपर्छ ।’ निःशुल्क सेवासमेत नपाएको उनीहरूको धारणा छ ।

प्रकाशित : जेष्ठ २२, २०७८ १०:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×