कोरोना संक्रमित बालबालिकालाई २० प्रतिशत बेड छुट्याउन अनुरोध- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमित बालबालिकालाई २० प्रतिशत बेड छुट्याउन अनुरोध

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई कम्तीमा २० प्रतिशत बेड संक्रमित बालबालिकाका लागि छुट्याउन अनुरोध गरेको छ । 

कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा.मदनकुमार उपाध्यायले सबै अस्पताल र स्वास्थ्य संस्थालाई शुक्रबार पत्र पठाउँदै अनुरोध गरेका हुन् ।

‘प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ र युवा संक्रमित भएकाले व्यवस्थापनसम्बन्धी तयारी पनि यही समूहलक्षित मात्र हुन पुगेको छ,’ उपाध्यायले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘दोस्रो लहरजस्तै पुनः तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न हुन अनुरोध छ ।’

ती बेडमा अक्सिजनको व्यवस्थासमेत गर्न पनि भनिएको छ ।


प्रकाशित : जेष्ठ २२, २०७८ ०६:२६
प्रतिक्रिया
पठाउनुहोस्

दोहा र दिल्ली उडान अनिश्‍चित

यात्रुले ‘बारकोड तथा फोटोसहितको पीसीआर रिपोर्ट (नेगेटिभ)’ ल्याउनुपर्ने मापदण्ड तय भएपछि उडान अवरुद्ध हुन सक्ने
कान्तिपुर संवाददाता

काठमाडौँ — यो साताबाट हवाई उडान खुला गरिएका मुलुकबाट नेपाल आउन यात्रुले अनिवार्य ‘बारकोड तथा फोटोसहितको पीसीआर रिपोर्ट (नेगेटिभ)’ ल्याउनुपर्ने मापदण्ड तय भएपछि दोहा तथा दिल्लीबाट काठमाडौं आउने उडान अवरुद्ध हुने देखिएको छ ।

फोटोसहितको पीसीआर रिपोर्टको नियमका कारण आगामी सोमबार नेपाल वायुसेवाको दोहा र बुधबारको दिल्ली उडान अवरुद्ध हुन सक्नेबारे मन्त्रालयलाई अवगत भएर पनि यसबारे कुनै संशोधन आएको छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले यो साताबाट कतार, भारत, चीन र टर्कीमा साताको एउटा उडान सेवा सञ्चालन हुने गरी यात्रु आवागमनमा विशेष मापदण्ड सार्वजनिक गरेको थियो । ‘बाहिरी विश्व परिस्थितिसँग जानकार नरहेको र नभएको अवस्थामा यात्रु आवागमनको मापदण्ड सार्वजनिक गरिएकाले यात्रुले कतारबाट उडान भर्न नसक्ने देखिन्छ,’ दोहास्थित नेपाली राजदूत नारदनाथ भारद्वाजले कान्तिपुरसँग फोनमा भने, ‘बारकोड र फोटोसहितको पीसीआर रिपोर्ट भन्ने प्रबन्ध आफैंमा नौलो देखिन्छ, कतारका हकमा यहाँको केन्द्रीय ल्याबले मात्रै पीसीआर परीक्षण रिपोर्ट दिने र यसमा फोटो टाँस्ने प्रबन्ध नभएकाले हाम्रो आवश्यकताका लागि तिमीहरुको पद्धति बदलिदेऊ भन्न नसकिने स्थिति छ ।’ कतारमा रहेको नेपाली समुदाय र अन्य यात्रुले समेत ‘फोटो र बारकोडसहितको पीसीआर रिपोर्ट’ बारेमा कठिनाइ सुनाएपछि आफूले परराष्ट्र मन्त्रालयमा यस्तो प्रबन्ध हटाउन अनुरोध गरेर पत्र पठाइसकेको राजदूत भारद्वाजले बताए ।

एक महिनाअघिसम्म दिल्लीबाट आउने यात्रुका हकमा पनि ‘बारकोड र फोटोसहितको पीसीआर रिपोर्ट’ को मापदण्ड तोकिएपछि दिल्ली दूतावासको आग्रहमा यो नियम हटाइएको थियो । ‘अहिले आएको मापदण्डमा फेरि पनि दिल्लीबाट काठमाडौं जाने हवाई यात्रुका हकमा फोटोसहितको पीसीआर रिपोर्टको नियम तोकिएको रहेछ,’ दिल्लीस्थित नियोगका उपप्रमुख रामप्रसाद सुवेदीले भने, ‘भारतमा समेत केही मात्रै ल्याबले फोटोसहितको पीसीआर रिपोर्ट दिने गरेका छन्, धेरैमा यो व्यवस्था छैन । यसकारण यो अपरिपक्व प्रबन्ध हटाउनका लागि अनुरोध गरिनेछ ।’

गत साता मन्त्रिपरिषद्ले निर्णय गरेको नेपाली तथा विदेशी नागरिक नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्डको पहिलो बुँदामा ‘पछिल्लो ७२ घण्टाको फोटो एवं बारकोड (क्यूआर कोड) सहितको पीसीआर रिपोर्ट (नेगेटिभ) साथमा ल्याउनुपर्ने’ भनिएको छ । सरकारले खुला गरे पनि चीनको उडान निश्चित भएको छैन । टर्किस एयरलाइन्सले पनि आगामी साताबाट उडान सुरु गर्दै छ ।

प्रकाशित : जेष्ठ २१, २०७८ २२:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×