संक्रमणमुक्त हुने बढे

जेष्ठ २२, २०७८

कान्तिपुर संवाददाता

विराटनगर — प्रदेश १ मा कोरोना संक्रमितबाट निको हुनेको संख्या दैनिक बढ्दै गएको छ । यस प्रदेशमा शुक्रबार ९ सय ९३ जना संक्रमित निको भएर घर फर्किंदा ८ सय ५१ जना संक्रमित भएका छन् ।

यस्तै, बिहीबार ७ सय ६४ जना संक्रमित हुँदा ९ सय ३३ जना निको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बुधबार ७ सय १८ संक्रमित हुँदा ९ सय २५ निको, मंगलबार ६ सय ६३ संक्रमित हुँदा ९ सय ३ जना निको, सोमबार ६ सय ९७ संक्रमित हुँदा ८ सय ९३ जना निको, आइतबार १ हजार ५ संक्रमित हुँदा ७ सय ८१ निको र शनिबार ७ सय १ संक्रमित हुँदा ९ सय ४५ जना निको भएर फर्केको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा हालसम्ममा संक्रमित भएका ६१ हजार ७५ जनामध्ये ४० हजार ४ सय ६ जना निको भएका छन् । कोरोना संक्रमणले ९ सय ४१ जनाको मृत्यु भइसकेको र अहिले यस प्रदेशमा १९ हजार ७ सय २८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो एक सातामा ५ हजार ३ सय ९९ जना कोरोना संक्रमित हुँदा ६ हजार ३ सय २१ जना निको भएका छन् । यो एक सातामा प्रदेशभरि १२ हजार ७ सय १३ जनाको पीसीआर र एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो दुई दिनदेखि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ । शुक्रबार र बिहीबार ८/८ जना संक्रमितको मृत्यु भएको हो । पछिल्लो एक सातामा यस प्रदेशमा कुल ९४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकले जनाएको छ ।

कोसी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले पछिल्लो समय संक्रमण दर कम भएकाले अस्पतालमा भर्ना हुने संक्रमित बिरामीको चाप पनि घटेको बताए ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully