मोरङमा जेठ १७ गतेसम्म निषेधाज्ञा थप

जेष्ठ १०, २०७८

कान्तिपुर संवाददाता

मोरङ — जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको समयावधि सोमबार थप गरेको छ । प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जिल्लामा जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा अवधि थप गरेका हुन् ।

जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले १७ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ ११ गते राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी राख्ने निर्णय भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए । उनले सुनसरी, मोरङ र झापाको निषेधाज्ञामा एकरुपता कायम गर्ने समेत निर्णय भएको बताए । 

निषेधाज्ञा अवधीभर उद्योगमा काम गर्ने कामदारहरुलाई उद्योगमै बस्ने व्यवस्था मिलाउने गरिएको पोखरेलले बताए । उद्योगहरुमा बाहिरबाटे कर्मचारी तथा कामदार ल्याउन र लैजानुपर्ने भए उद्योगको परिचय पत्र देखाएर बिहान ९ बजेदेखि १० बजेसम्म र बेलुका ६ बजेदेखि ७ बजेसम्म मात्रै गर्न पाउने व्यवस्था गरिएको उनले बताए । 

सार्वजनिक निर्माण काममा प्रयोग हुने सवारी साधनलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्रै निर्माण सामग्री ढुवानी गर्न पाउने व्यवस्था गरिएको छ । 

मोरङमा पहिलोपटक वैशाख १८ गते राति १२ बजेदेखि लागू हुनेगरी ७ दिने निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि निरन्तर निषेधाज्ञाको समयावधि थप हुँदै आएको छ ।

कोरोना खोपकोरोना भाइरस

कान्तिपुर

Link copied successfully