स्याङ्जा — गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहमध्ये स्याङ्जाको वालिङ नगरपालिकाले कोरोना विरुद्धको खोप खरिद प्रक्रिया अघि बढाएको छ । कोरोनाविरुद्धको खोप किन्न लागेको वालिङ नगरपालिका गण्डकी प्रदेशकै पहिलो स्थानीय तह हो ।
गण्डकीमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । स्याङ्जामा पनि सोमबार मात्रै २ सय ३० जना थपिए । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५३ पुगेको छ । जिल्लाका ११ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी कोराना संक्रमित वालिङ नगरपालिकामा रहेका छन् । नगरपालिकाको तथ्यांक अनुसार सोमबार मात्रै नगरभित्र २६ जनामा कोरोना देखिएको छ । नगरभित्र ५ सयजना संक्रमित छन् । अस्पताल भर्ना २१ जना छन् ।
नगरभित्र संक्रमितको संख्या दिनदिनै थपिदै गएपछि नगरपालिकाले कोरोना विरुद्धको खोप किन्ने तयारी थालेको हो । वालिङ नपाले कोभिड भ्याक्सिन खरिदको लागि केन्द्र सरकारसँग अनुमति मागेको छ ।
सोमबार बसेको नगर कार्यपालिकाको बैठकले संघीय सरकारसँग कोभिडविरुद्धको भ्याक्सिन माग गर्दै यदि उपलब्ध गराउन नसके अनुमति दिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको हो । नगरप्रमुख दिलीपप्रताप खाँडले सिंगो पालिका नै कोरोना भाइरसबाट ग्रसित भएको बताए । ‘यो महामारी अब हामीले मात्र थेग्न सक्ने अवस्था छैन,’ उनले भने, ‘कि त संघ सरकारले आवश्यकता अनुसार हामीलाई कोरोनाको खोप दिनुपर्यो । यदि दिन सक्दैन भने, अनुमति दिनुपर्यो । हामी आफ्नै खर्चले खोप किन्छौं ।’ नगरबासीले पनि आफैं पैसा तिर्ने गरी नगरपालिकालाई खोप ल्याउन माग राखेको उनले बताए । उनले महामारीको बेलामा नगरपालिकाले आफ्ना जनतालाई खोपको अभावमा अकालमै मर्न नदिने बताएका छन् ।
नगरपालिकाले पहिलो पटक दुई चरणमा खोप किन्न लागेको उनले बताए । ‘हामीले २० हजार खोप ल्याउन खोजेका छौं,’ नगरप्रमुख खाँडले दोहोर्याए, ‘पहिलो चरणमा १५ हजार र दोस्रो चरणमा ५ हजार खोप ल्याउने योजना छ । खोपको लागि सम्बन्धित ठाउँ सल्लाह भइसकेको छ । संघीय सरकारले अनुमति दिनेबित्तिकै हामी खोप ल्याउछौं ।’
सस्तो दररेट अर्थात प्रतिखोप ५ डलर पर्ने गरि सल्लाह भएको उनको भनाइ छ । नगरपालिकाले खोप खरिदको लागि ४ करोड रुपैयाँ छुट्याएको बताएको छ । भारत र चीन दुवैतर्फको खोप ल्याउन पहल भइरहेको नगरपालिकाले बताएको छ । नगरपालिकाका अनुसार पहिला जहाँको छिटो आउँछ त्यहीको खोप ल्याउछौं । कमिसन नदिने गरी उपलब्ध गराउने सहमति भएको नपाले जनाएको छ । १५ हजार खोप जनताले आफैं पैसा तिरेर लगाउनुपर्ने छ ।
नगरप्रमुख खाँडका अनुसार जनताको माग अनुसार खोप खरिद गर्न लागिएको हो । उनले भने, ‘पैसा तिर्न सक्नेको हकमा मात्र हो । गरिब जनताको लागि हामी निःशुल्क खोप लगाउछौं ।’ नगरपालिकाले ५ हजार गरिब जनताको लागि छुट्याएको छ । बाँकी १५ हजार खोप जनताले किनेर लगाउने छन् । ‘सुरुमा ल्याउने खोप नगरपालिकाले पैसा हाल्छ,’ उनले भने, ‘२५ प्रतिशत नगरपालिका र ७५ प्रतिशत जनताले हाल्नेछन् ।’
वालिङसँगै पाल्पाको रामपुर नगरपालिकाले पनि खोप खरिदको प्रक्रिया अगाडी बढाएको छ । यी दुई नगरपालिकाले सँगै खोप प्रक्रिया अगाडी बढाएको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।
‘खोप खरिदको लागि अहिले बजेट छुट्याएका छैनौं,’ नागिलाले भने, ‘प्रकोप व्यवस्थापन कोषबाट खर्च गर्ने हो । बजेटको जोहो हुन्छ समस्या छैन ।’ उनले विकास बजेट कटाएर भएपनि खोप खरिद गर्ने बताए । नागिलाले मन्त्रालयले मौखिम रुपमा अघि बढ्न आश्वासन दिएको भएपनि कागजी प्रक्रिया बाँकी रहेको बताएका छन् । ‘मन्त्रीज्युले पनि बजेट सहयोग गर्छु भन्नुभएको छ,’ उनले भने, ‘खोपको लागि भारतसँग समन्वय भएको छ । सरकारले पहिला ल्याएको खोपको कम्पनीसँग समन्वय गरी सोही दररेटमा ल्याउन भनेका छौं ।’
खोप खरिदको लागि रामपुर नगरपालिका पनि लुम्बिनी प्रदेशकै पहिलो स्थानीय तह हो । सोमबारसम्म देशभर १० वटा स्थानीय तहले मात्र खोप खरिदको लागि अनुमति माग गरेका छन् । जसमध्ये वालिङ, रामपुर र उदयपुरका ८ वटा पालिका रहेका छन् ।
