काठमाडौँ — स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीका अनुसार हाल नेपालमा बी.१.६१७.२ भेरियन्टको कोरोना भाइरस मुख्य रुपमा फैलिएको देखिएको छ। मन्त्रालयले सोमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले हाल नेपालमा १ लाख १५ हजार ५ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये १ लाख ८ हजार १ सय ९८ र अस्पताल र संस्थागत आइसोलेसन ७ हजार ३ सय ५० रहेका छन्।
उनका अनुसार आईसीयूमा १ हजार ७ सय २१ र भेन्टिलेटरमा ४ सय ८४ संक्रमित उपचारत रहेका छन् । मन्त्री त्रिपाठीले निषेधाज्ञा भएपनि व्यक्तिहरुको आवतजावतमा प्रभावकारी रूपमा नियन्त्रण नभएको र केही सेवा र कार्यहरू सुचारु रहेको हुँदा संक्रमण दर अपेक्षाकृत रूपमा नियन्त्रणमा आउन नसकेको दाबी गरे । 'आगामी ४ हप्तामा क्रमशः घट्दै जान सक्ने देखिन्छ,' उनले भने, 'विगत एक हप्ताको तथ्यांक हेर्दा दैनिक औसत ८ हजार ३ सय नयाँ संक्रमितहरू थपिने गरेका छन् ।'
उनले संक्रमितहरुको उपचारका लागि सरकारी तथा निजी गरेर देशभरका १५७ अस्पतालहरू सूचीकृत गरी सञ्चालनमा ल्याइएको समेत बताए। 'निजी क्षेत्रका ४५ अस्पतालहरूसँग सम्झौता गरी परिचालन गरिएको छ । यी अस्पतालहरूमा निःशुल्क उपचार व्यवस्था मिलाइएको छ,' उनले भने, '२०७८ वैशाखमा मात्र उपचारको लागि ४५ करोड रुपैयाँ शोधभर्ना गरिएको छ ।'
यस्तै, उनले ३२ वटा अक्सिजन प्लान्ट सञ्चालनमा रहेकोमा १९ वटा थप गर्ने चरणमा रहेको र लिक्विड अक्सिजन ट्यांकको संख्या पनि ३ वटा रहेकोमा थप २७ पुर्याउन प्रक्रिया अगाडि बढाइएको दाबी समेत गरे ।
मन्त्री त्रिपाठीले देशभरका ५५ सरकारी प्रयोगशालाहरूबाट कोभिड-१९ को परीक्षण निःशुल्क हुँदै आएको जानकारी पत्रकार सम्मेलनमा दिएका छन् । उनले संक्रमणलाई नियन्त्रणमा ल्याउनका लागि स्थानीय तहहरूसँगको सहकार्यमा समुदायमा एन्टिजेनमा आधारित परीक्षण गर्ने गरिएको बताए । 'यस कार्यका लागि प्रदेश नम्बर १ मा १ लाख ७५ हजार, प्रदेश नम्बर २ मा २ लाख, वाग्मतीमा ३ लाख, गण्डकी प्रदेशमा १ लाख ५० हजार, लुम्बिनीमा २ लाख, कर्णालीमा १ लाख ५० र सुदूरपश्चिममा १ लाख ७५ हजार थप पठाइएको छ,' उनले भने ।
मन्त्री त्रिपाठीका अनुसार यो आर्थिक वर्षमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका क्रियाकलापहरूको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत जम्मा ५ अर्ब १७ करोड ७२ लाख ८३ हजार रुपैयाँ खर्च भएको छ। त्यसबाट पीसीआर कीट, एक्स्ट्राक्सन कीट, भाइरल ट्रान्सपोर्ट मिडिया (भीटीएम), एन्टिजेन कीट, मास्क, गाउन र सर्जिकल पञ्जाहरू, अक्सिजन प्रणाली सुदृढिकरण, आईसीयू, एचडीयू तथा अन्य औषधि उपकरणहरूको व्यवस्थापन, स्वास्थ्यकर्मीको जोखिम भत्ता, निःशुल्क परीक्षण तथा उपचार, खोप खरिद तथा अभियान सञ्चालन लगायतका कार्य भएका छन् । उनले खोप कार्यक्रम र एचडीयूका लागि २ अर्ब ५४ करोड ५८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको पनि बताए । 'कोभिड-१९ को द्रुत कार्य योजनाका आधारमा खोप लगायत निदान, उपचार व्यवस्थापनका लागि १४ अर्ब स्रोत सुनिश्चित भएको छ,' उनले भने ।
यस्तै, कोभिड-१९ महमारी व्यवस्थापनका लागि केही दिनयता स्विजरल्याण्डबाट ९७ करोड, अमेरिकाबाट ४३ करोड, सिंगापुरस्थित सामाजिक संस्थाबाट २३ करोड, स्पेनबाट १२ करोड, चीन सरकारबाट ७ करोड, बंगलादेशबाट ४ करोड र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट जम्मा १३ करोड गरी करिब २ अर्ब रकम बराबरको स्वास्थ्य उपकरण तथा सामग्री सहयोग प्राप्त भएको बताए ।
'कोभिड-१९ महमारी व्यवस्थापनका लागि हालसम्म आर्थिक सहायता अन्तर्गत जर्मन सरकारमार्फत १ अर्ब ४२ करोड, एसियाली विकास बैंकबाट ३६ करोड तथा विश्व बैंकबाट करिब २४ करोडको सहायता प्राप्त भइसकेको छ,' उनले भने, 'जापान सरकारले ३ अर्ब २० करोड बराबर गरी जम्मा ५ अर्ब २२ करोडको उपकरण सहायता दिने प्रक्रियामा रहेको छ।'
उनका अनुसार ऋण सहायता अन्तर्गत कोभिड १९ को प्रतिकार्यका लागि विश्व बैंकबाट ३ अर्ब ४८ करोड सहायता कार्यन्वयनको क्रममा रहेको छ साथै कोभिड-१९ खोप व्यवस्थापनका लागि थप ९ अर्ब ऋण सहायता उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भई कार्यान्वयनको क्रममा रहेको छ । 'कोभिड १९ खोप व्यवस्थापनका लागि एशियाली विकास बैंकबाट थप १९ अर्ब ८० करोड ऋण सहायता उपलब्ध गराउने विषयमा छलफल भइरहेको छ,' उनले भने, 'जम्मा ३२ अर्ब २८ करोड ऋण सहायता परिचालन भएको छ।'
पत्रकार सम्मेलनमा सचिव लक्ष्मण अर्याल, प्रमुख विषेशज्ञ डा.रोशन पोखरेल लगायतले पनि आफ्नो धारणा राखेका थिए ।
