मोरङ — कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्र, विराट मेडिकल शिक्षण अस्पताल, होम आइसोलेसन र नोबेल अस्पतालमा गरी सोमबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराटनगर १२ का ३६ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका १७ का ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए ।
यस्तै, विराटनगर महानगरपालिका ४ की ५४ वर्षीया महिला, विराटनगर ३ का ८० वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको विराट मेडिकल शिक्षण अस्पतालको कोभिड अस्पतालका इन्चार्ज डा. सुनिल देवले बताए ।
सुन्दरहरैंचा नगरपालिका ६ की ६५ वर्षीया वृद्धाको होम इसोलेसनमा मृत्यु भएको नगर प्रमुख शिवप्रसाद ढकालले बताए ।
यस्तै, सुनसरीको इनरुवा नगरपालिका ९ का ५८ वर्षीय पुरुष, संखुवासभाको खाँदबारी नगरपालिका २ की ४५ वर्षीया महिला, धनुषाको मिथिला नगरपालिका ११ घर भई विराटनगर ४ बस्दै आएका ७२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।
