आईसीयू भरियो, आइसोलेसन खाली

वैशाख १५, २०७८

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड अस्पतालका इन्टेनसिभ केयर युनिट (आईसीयू) र हाइडिपेन्डेन्सी युनिट (एचडीयू) का बेड लगभग भरिएका छन् ।

आइसोलेसन भने खालीजस्तै रहेको अस्पतालले जनाएको छ । यहाँ कोभिड अस्पतालतर्फ आईसीयूमा १०, एचडीयूमा २५ र जनरलतर्फ ६५ बेड छन् । यही गतिमा कोरोनाका जटिल संक्रमितको संख्या बढेमा प्रतिष्ठानस्थित कोभिड अस्पतालले धान्न नसक्ने बताउँछन्, कोभिड अस्पतालसमेत हेर्दै आएका फोक्सो तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. दिव्यराज मिश्र ।

‘कोभिड अस्पतालका जनरल बेड खाली जस्तै छन् तर आईसीयू र एचडीयू बेड भने लगभग भरिएका छन्,’ उनले भने, ‘जटिल भएपछि आएकाहरूलाई सोझै आईसीयू र एचडीयूमा भर्ना गरिने भएकाले यसपालि अघिल्लो लहरको भन्दा चाँडै बेड भरिएका हुन् । बेलैमा कोरोनाको दोस्रो लहरलाई रोक्न नसके अवस्था भयावह हुन सक्छ ।’

प्रदेश १ र वाग्मती प्रदेशका केही जिल्लाबाट समेत जटिल संक्रमितलाई बीपी प्रतिष्ठानमा रेफर गरिँदै आएको छ । तर आईसीयू र एचडीयू बेड भएका यहाँका कतिपय सरकारी र निजी अस्पतालले समेत बीपीमा रेफर गरिदिँदा चाप बढेको प्रतिष्ठानका एक चिकित्सकले बताए । ‘दिनदिनै भयावह स्थिति सिर्जना हुँदै छ । प्रदेश र संघीय सरकारले विभिन्न जिल्लामा भएका सरकारी र निजी अस्पतालसँग समन्वय गरेर मात्र प्रतिष्ठानमा रेफर गर्ने नीति तत्काल नबनाए थेग्न सक्ने अवस्था रहँदैन,’ ती चिकित्सकले भने ।

तत्कालका लागि कम्तिमा थप १० आईसीयू र २५ भन्दा बढी एचडीयू बेड विस्तार गर्नुपर्ने देखिएको उनको भनाइ छ । उनका अनुसार प्रतिष्ठानमा बिरामीका लागि अक्सिजनको अभाव छैन । हजार जनालाई एकसाथ आपूर्ति गर्न पुग्ने प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्ट छ । तर तत्काल आईसीयू र एचडीयू बेड थप्न सरकारले अनुदान दिनुपर्ने बताउँदै उनले भने, ‘नत्र यस्तै अवस्था हो भने भारतका अस्पतालमा देखिएका घटना यहाँ पनि देख्न धेरै दिन पर्खिनु पर्दैन ।’

अब जटिल अवस्थामा आउने संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय प्रदेश र केन्द्र सरकारले दिने अनुदानमा भर पर्ने प्रतिष्ठानका रजिस्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मी बताउँछन् । ‘कोभिड महामारीकै कारण प्रतिष्ठानको आम्दानी पनि घटेको छ, आन्तरिक स्रोत सीमित छ,’ उनले भने, ‘आईसीयू र एचडीयूको व्यवस्थापन महँगो हुने भएकाले यस्तो अवस्थामा थप विस्तार गर्न प्रतिष्ठान एक्लैले सक्ने सम्भावना छैन ।’ उनले तत्कालका लागि प्रतिष्ठानको अर्को विभागमा रहेकामध्ये केही भेन्टिलेटर र आईसीयू बेड भने थप्न सकिने बताए ।

कोरोना खोपकोरोना भाइरस

Link copied successfully