ओखलढुंगा — सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले नगरक्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको कोराना बिमा गरिदिएको छ । कोरोनाविरुद्धको काममा प्रोत्साहन गर्ने उद्देश्यले ५४ जना स्वास्थ्यकर्मी, १० नगर प्रहरी र १८ जना कार्यालय सहयोगीको कोरोना बीमा नगरपालिकाले गरेको हो ।
कोरोना संक्रमणको जोखिम बढेको बेला नगरपालिकाले कोरोना बीमा गर्दा काम गर्न थप उर्जा मिलेको स्वास्थ्य शाखा संयोजक चमर मगरले बताए । अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको जोखिममा हुने भएकोले बीमाले हौसला मिलेको उनले बताए ।
नगरपालिकाले आईएमई जनरल इन्स्योरेन्सट कम्पनीसँग बीमा सम्झौता गरेको छ । प्रतिव्यक्ति ६ सय बीमा शुल्क बुझाएर बीमा गर्न सकिने भएकोले स्वास्थ्यकर्मीको जोखिमलाई मध्यनजर गरि बीमा गरिदिएको नगरपालिकाका मेयर नाम्ग्यालजाङबु शेर्पाले बताए । बीमा कम्पनीका अनुसार भने प्रतिव्यक्ति एक हजार र प्रति परिवार, समूहमा ६ सयको दरले शुल्क बुझाँउदा एकवर्षका लागि एक लाख सम्मको बीमा पाइन्छ ।
त्यसैगरी प्रतिव्यक्ति ५ सय र परिवार वा समूहमा तीन सयको दरले बीमा शुल्क बुझाउँदा ५० हजार सम्मको बीमा गर्न सकिने व्यवस्था छ । एकवर्षभित्र कोरोना संक्रमण भएको पाइएमा बीमांक रकम उपलब्ध हुने जनाइएको छ ।
