भारतीय क्वारेन्टाइनमा रहेका थप १६७ नेपालीलाई दशगजामा छाडियो

आरडीटी परीक्षण गरेर सम्बन्धित स्थानीय तहमा पठाइँदै

वैशाख ३०, २०७७

भवानी भट्ट

कञ्‍चनपुर — सीमावर्ती भारतीय क्षेत्रमा क्वारेन्टाइनमा रहेका नेपालीलाई रातारात दशगजामा छाड्ने क्रम सोमबार राति पनि जारी रह्यो । ब्रह्मदेव नजिकै भारत उत्तराखण्डको टनकपुरमा क्वारेन्टाइनमा रहेका थप १६७ जनालाई दशगजामा छाडेपछि रातारात भित्र्याइएको हो ।

भारतीय सुरक्षाकर्मीले मध्य रातमा दशगजामा छाडेपछि उनीहरुलाई नियन्त्रणमा लिई महेन्द्रनगरस्थित वैजनाथ माविको क्वारेन्टाइनमा राखिएको छ । ‘४०/४५ दिन क्वारेन्टाइनमा बसेकाहरुलाई मध्य रातमा दशगजामा छाडेपछि हामीले ल्याएर क्वारेन्टाइनमा राखेका छौं,’ सशस्त्र प्रहरीको झलारीस्थित ३५ नं. गणका एसपी वीरसिंह साहुले भने, ‘हामीलाई जानकारी नै नदिई नेपालीलाई दिनहुँ दशगजामा छाड्न थालिएको छ ।’ 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले केन्द्रबाट आदेश नआएको भन्दै भारतीय क्षेत्रमा रहेका नेपालीलाई ल्भित्र्याउन नमानेपछि भारतीय पक्षले समन्वयबिना नै एकतर्फी रुपमा दशगजामा ल्याएर छाड्न थालेको हो । केही दिन त नाकामै आइपुगेकाहरुलाई समेत भारततर्फ फिर्ता पठाइएको थियो । आइतबार राति पनि ७५ जना नेपालीलाई भारतीय पक्षले ब्रह्मदेवमै ल्याएर छाडेको थियो । उनीहरुलाई पनि सशस्त्रले क्वारेन्टाइनमा राखेर आरडीटी परीक्षण गरिएको छ । कतिपयलाई सम्बन्धित स्थानीय तहमै पठाइएको छ । 

‘सोमबार राति आएकाहरुको पनि आरडीटी परीक्षण गरेर सम्बन्धित स्थानीय तहमा पठाइनेछ,’ एसपी साहुले भने, ‘यस विषयमा सम्बन्धित स्थानीय तह र प्रदेशसँग समन्वय भइरहेको छ ।’ उनका अनुसार अब सीमावर्ती क्षेत्रमा क्वारेन्टाइनमा रहेकाहरु लगभग नेपाल फर्किएका छन् । शनिबार राति दोधारा चाँदनी क्षेत्रबाट फर्काइएकाहरुलाई खटीमाको एक विद्यालयमा राखिएको छ । 

सम्बन्धित समाचार

भारतीय क्‍वारेन्टाइनमा रहेका नेपालीलाई रातारात दशगजामा छाडिँदै

लकडाउनकोरोना भाइरस

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully