सोमबार १ सय ८ जनाको स्वाब संकलन
नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकामा कोभिड–१९ संक्रमण देखिएका पहिलो व्यक्तिको एक सातापछि सोमबार गरिएको परीक्षणको रिपोर्ट पनि पोजिटिभ नै आएको छ । खजुरास्थित कोरोना अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
संक्रमित व्यक्तिलाई आइसोलेसनमा राखेर उपचार गरिएको एक सातापछि पुन: स्वाब परीक्षण गर्नुपर्ने मापदण्ड छ । अब एक सातापछि पुन: स्वाब परीक्षण गरिनेछ ।
भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले पहिलो संक्रमण पुष्टि भएका ६० वर्षीय पुरुषको सोमबार स्वाब जाँच गरिएको बताए । ‘फेरि रिपोर्ट पोजिटिभ आए पनि उहाँको स्वास्थ्य अवस्था सामान्य छ । अब एक सातापछि फेरि परीक्षण गर्छौं,’ उनले भने, ‘अब आउने रिपोर्टका आधारमा थप उपचारका लागि रणनीति तय हुन्छ ।’ उनलाई उपचारका लागि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ ।
नेपालगन्ज–८, जोलहनपुर्वाका थप २३ जना संक्रमितको पनि त्यही अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको एक साताको उपचारपछि फेरि स्वाब संकलन गरी परीक्षण गरिने अस्पतालले जनाएको छ । उनीहरूको पनि स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन् । आइसोलेसनमा राखिएका संक्रमितहरूको खानपानको व्यवस्था खजुरा गाउँपालिकाले मिलाएको छ । गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले बिहानको खाजा र खानाको उचित व्यवस्थापन गरिएको बताए ।
१ सय ८ स्वाब संकलन
नेपालगन्जमा कोरोनाको संक्रमण देखिएपछि परीक्षणका लागि स्वाब संकलनको गति तीव्र पारिएको छ । सोमबार नेपालगन्ज उपमहानगरपालिकाको जयसपुरमा ८२, भेरी अस्पतालमा ६, खजुरा गाउँपालिकामा १४ र आर्मी अस्पतालमा ६ गरी १ सय ८ जनाको स्वाब संकलन गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले संक्रमण देखिएपछि त्यस आसपास क्षेत्रमा ट्रेसिङ गरी स्वाब संकलन गरी परीक्षण भइरहेको बताए । आइतबार नेपालगन्जको जामा मस्जिद र वडा ११ मा संकलन गरिएको ७५ जनाको स्वाब परीक्षण गर्दा ६१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
त्यस्तै मेडिकल कलेज नेपालगन्जले चार जनाको स्वाब संकलन गरी पठाएकामा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । १४ जनाको रिपोर्ट आउन बाँकी छ । नेपालगन्जबाटै संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको १ सय ६२ जनाको रिपोर्ट अझै नआएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै कोहलपुरबाट संकलित ३४ जनाको रिपोर्ट पनि आउन बाँकी छ । मंगलबार स्वाब संकलन गर्नका लागि ट्रेसिङ क्षेत्र यकिन गर्न छलफल भइरहेको छ ।
