पहिले उम्मेदवारहरू अहिलेको जस्तो ढोका–ढोकामा आउँदैनथे । उनीहरू माइक लगाएर बाटो–बाटो हिँड्थे । त्यो बेलामा गाडी चल्ने बाटै थिएन, हिँडेर भोट माग्न आउँथे । अलि पछि ठूला आमसभा हुन थाले । बसको छतभरि मान्छे राखेर झन्डा फहराउँदै ओसारेको देखिन्थ्यो ।
चुनाव एक नेताको जित–हारको विवरण मात्रै होइन
What you should know
– नन्दकली बराल (९२ वर्ष) नुवारथोक, पोखरा
म पोखरा–७, नुवारथोकमा बस्छु । अहिले फेरि चुनावको माहोल छ । रेडियोमा समाचार बज्छ, बाटोमा झन्डा गाडेका गाडी कुद्छन् । यो सब देख्दा मलाई आफ्ना पुराना दिनको याद आउँछ । म ९२ वर्षकी भएँ तर यो मनले अझै पनि देशको राजनीति र चुनावलाई नजिकबाट नियालिरहेको छ ।
म कति वर्षको छँदा पहिलोपल्ट भोट हालें, ठ्याक्कै तिथिमिति त बिर्सिएँ । तर, मलाई सम्झना छ, विसं २०१५ को त्यो पहिलो आमनिर्वाचन ! त्यतिबेला पोखरा अहिलेको जस्तो थिएन । जहाज गिरान (पुरानो पोखरा विमानस्थल) मा हाम्रो एउटा होटल थियो, जहाँ मैले २५ वर्षसम्म भात पकाएर खुवाएँ । त्यतिबेला यी चिल्ला बाटाहरू खुलेकै थिएनन् । पोखराबाट बटौली (बुटवल), खसौली वा काठमाडौं जाने बाटो थिएन, जहाज मात्रै आउँथ्यो ।
त्यो समयमा राजा (महेन्द्र) असाध्यै सज्जन थिए । राजा पोखरा आउँदा म गिरानमा भात पकाउन छोडेर हातमा फूल लिएर स्वागत गर्न गएकी थिएँ । लाइन लागेर राजालाई फूल दिएको अझै झलझली सम्झिन्छु । उमेरले गर्दा पनि अहिले धेरै कुरा सम्झिन गाह्रो हुन्छ । २०१५ सालमा पनि भोट हालें हुँला । त्यसपछि अहिलेसम्म मैले कुनै पनि चुनाव खाली छोडेकी छैन । चाहे त्यो पञ्चायत होस्, निर्दल–बहुदलको जनमत संग्रह होस् वा गणतन्त्रपछिका चुनाव, मेरो औंठाछाप र स्वस्तिक छाप सधैं परेको छ ।
पहिले अहिलेको जस्तो सजिलो थिएन । पढ्न पाइएन, अक्षर चिन्न जान्दिनँ । तर, नपढे पनि यतिका वर्ष भात पकाएँ, पैसा गन्न त जानेकै छु । पहिले भोट हाल्न कहिले जिल्ला प्रशासन कार्यालय (माल अड्डा), कहिले वडा कार्यालय भएको पोखरीपाटन (हालको मासबार) जानुपर्थ्यो । अहिलेको जस्तो डोरी टाँगेर, तारबार गरेर लाइन मिलाउने चलन थिएन । मान्छे पनि कम थिए, घरहरू पनि पातला थिए । निर्वाचन कार्यालयले नाम दर्ता गरेको एउटा कागज दिन्थ्यो, त्यही लिएर गइन्थ्यो र औंठाछाप लगाएर भोट हालिन्थ्यो । पछि नागरिकता देखाएर मात्रै भोट हाल्न पाइने भयो । २०३५ तिर अस्थायी नागरिकता बनाएँ । अहिले त स्वस्तिक छाप लगाउने रे ! म त आँखा पनि देख्दिनँ, त्यसैले अचेल मेरो भोट नातिले हाल्दिन्छ । उसैले डोर्याएर लैजान्छ, वृद्ध भएर होला पालो पनि कुर्नु पर्दैन ।
पहिले उम्मेदवारहरू अहिलेको जस्तो ढोका–ढोकामा आउँदैनथे । उनीहरू माइक लगाएर बाटो–बाटो हिँड्थे । त्यो बेलामा गाडी चल्ने बाटै थिएन, हिँडेर भोट माग्न आउँथे । अलि पछि ठूला आमसभा हुन थाले । बसको छतभरि मान्छे राखेर झन्डा फहराउँदै ओसारेको देखिन्थ्यो । कतिले ‘बहुदल ल्याउँछौं’ भन्थे । पछिपछि ‘भत्ता बढाउँछौं’ पनि भने । मेरा श्रीमान् गंगाधर बराल आफैं पनि नगरसभा सदस्यमा उठ्नुभएको थियो । उहाँले नै सिकाउनुहुन्थ्यो कसलाई भोट हाल्ने भनेर ।
मैले सोमनाथ प्यासीलाई बाल्टी चिह्नमा भोट दिएको सम्झना छ । प्रतिबन्धित कालमा कांग्रेसलाई पनि भोट दिएँ । कहिले मैले दिएको उम्मेदवारले जिते, कहिले हारे । तर एउटा कुरा भने उस्तै छ, चुनावका बेला सबै उम्मेदवार असाध्यै नरम हुन्छन् । ‘आमा...’ भन्दै टाउको निहुराउँछन्, ढोग गर्छन् र आशीर्वाद माग्छन् । म पनि सबैलाई आशीर्वाद दिन्छु । सबैको राम्रो होस् भन्छु । तर, जितेर गएपछि उनीहरू फिटिक्कै फर्केर आउँदैनन् । भन्ने बेलामा धेरै कुरा भन्छन् तर गर्ने बेलामा केही गर्दैनन् । अहिले म ओम शान्तिमा जान्छु । त्यहाँ पनि पार्टीका मान्छेहरू आएर भाषण गर्छन्, भोट माग्छन् । बत्ती निभाउँदैनौं (लोडसेडिङ गर्दैनौं) भन्छन् । कतिले भन्छन्, ‘बूढी भइसक्यौ, किन दुःख गर्छौ ?’ तर मलाई कहिल्यै ‘भोट हाल्दिनँ’ भन्ने लागेन । कसैलाई राम्रो हुन्छ र मेरो एउटा मतले देश चल्छ भने किन पछि हट्ने ? पहिले श्रीमान्ले भनेको ठाउँमा भोट हाल्थें, अहिले नातिले जता भन्छ त्यतै हाल्छु । नातिले पनि राम्रै मान्छे रोज्छ होला भन्ने विश्वास छ ।
मेरो भोटले के परिवर्तन भयो ? त्यो त ठूला मान्छेले जान्ने कुरा हो । तर, हिजोको त्यो विकट पोखरा र आजको यो सहर देख्दा लाग्छ, समय धेरै बदलिएछ । ९२ वर्षको यो उमेरमा पनि म उत्तिकै उत्साहित छु । यो चुनावमा पनि नातिको हात समातेर मतदान केन्द्रसम्म पुग्नेछु । मेरो हातको छापले यो देशका असल मान्छेले जितून्, यही नै मेरो कामना छ ।
(पोखरामा दीपक परियारसँगको कुराकानीमा आधारित)
