पहिले–पहिले चुनावमा यस्तो होहल्ला हुँदैनथ्यो

ओहो यो चुनावमा कस्तो होहल्ला ? कति धेरै मान्छे उठेका ? घाम ताप्न बस्छु, ऊ आउँछ, त्यो आउँछ, ‘भोट दिनुहोस है’ भन्दै पर्चाहरू थमाउँछ । पहिले–पहिले यस्तो होहल्ला हुँदैनथ्यो । भोट माग्न आउने सबैलाई ‘ल ल’ भन्छु, कसलाई दिने ? त्यो त आफ्नो मर्जी !

फाल्गुन १६, २०८२

कान्तिपुर संवाददाता

There was never such a commotion in elections before.

चुनाव एक नेताको जित–हारको विवरण मात्रै होइन

What you should know

– बाबुराम जोशी (९२ वर्ष) चितवन

म जन्मेको १९९० साल असोज ८ गते हो । त्यो बेला बुबा जागिरे हुनुहुन्थ्यो । कटरवन भन्ने ठाउँमा मेरो जन्म भएको हो । तर, हाम्रो पुर्ख्यौली थलो तनहुँको बन्दीपुर थियो । जन्मेको एक–डेढ वर्षपछि बुबाले हामीलाई बन्दीपुरमै ल्याएर छाड्नुभयो । २०१५ सालमा चुनाव भएको थियो । त्यही चुनावमा मैले पहिलोचोटि भोट हालेको हुँ । धेरै पुरानो कुरा भयो यो, अहिले मलाई त्यत्ति थाहा छैन । तर, त्यो बेला श्रीभद्र शर्मा भन्ने मानिस उठेका थिए, कांग्रेसबाट । हो, उनैलाई भोट दिएको हुँ । श्रीभद्र हामीले चिनेका साथीजस्ता थिए, त्यसैले उनलाई भोट दिएँ, जिते पनि ।

बन्दीपुरमा हाम्रो घरको आँगन जोडिएका साथीहरू थिए– चीजकुमार र रामकुमार । श्रीभद्र उनीहरूका राम्रा साथी थिए । चीजकुमार मेरा साथी । त्यसैले श्रीभद्र पनि मेरो साथी नै भए । त्यसैले ‘लौ साथीलाई नै भोट दिने’ भन्ने सल्लाह भयो । साथीका नाताले उनैलाई भोट दिएँ । अरूले भोट माग्न आएको पनि थाहा भएन । को–को उठेका थिए, मलाई मेसो भएन ।

म २००९ सालमै चितवन झरेको हो । काम पर्दा घर बन्दीपुर जान्थें । त्यो बेला हिँडेर जानुपर्थ्यो । म निकै कस्सिएर हिँड्थें । बिहान सबेरै निस्के बन्दीपुर पुग्दा झमक्क साँझ पर्थ्यो । ‘यस्तो जब्बर तालले नहिँड, मर्छस्’ भनेर गाउँका मान्छेले सम्झाउँथे ।

ऊबेला चुनावमा कांग्रेसलाई जिताए सरकार बनाउँछ, विकास हुन्छ भन्ने चर्चा हुन्थ्यो । तर, त्यस्ता कुराले होइन, साथीको नाताले श्रीभद्रलाई जितायौं । म कामको सिलसिलामा धेरै समय बन्दीपुरभन्दा बाहिर नै रहें । चुनावका लागि मतदातामा नाम कसरी लेखियो, ख्यालै भएन । बुबाले लेखाइदिनुभयो होला । साथी उठेको, उनैलाई मत दिएको र चुनाव पनि जितेको हुँदा खुसी भइयो । मेरो मतले कसैको जितहार हुन्छ भन्ने थाहा छ । एक भोट त हो भनेर चुनावका दिन मन मारेर घरमै बस्दिनँ । अहिलेसम्म हरेक चुनावमा मत दिँदै आएको छु ।

अहिले ‘लौ बूढो मान्छे आउनुभयो, लाइन बस्न पर्दैन जानुस् जानुस्’ भन्छन् । त्यसैले मत दिन पनि मन लाग्छ । यो उमेरमा लाइन बसेर मत हाल्न सकिँदैन, लाइन लाग्नुपर्ने भए गइँदैन पनि थियो होला । मतदान केन्द्रमा जानेबित्तिकै भोट हाल्न पाइन्छ । गयो, भोट हाल्यो, खुरुक्क घर आएर बस्यो । म चोकमा बसेर, चिया पसलमा पसेर चुनावका बारेमा त्यत्ति चर्चा र कुराकानी गर्दिनँ । मेरो पहिल्यैदेखिको यस्तै बानी हो । मैले भोट हाल्न सुरु गरेको र अहिलेको जुग जमाना नै बेग्लै छ । नियम, कानुन बेग्लै छ । पहिलेका दःुखको कुरा गरिसाध्य छैन । अहिले पनि धेरै राम्रो त होइन, तर केही न केही परिवर्तन भएको छ ।

नेताहरूले चुनावमा धेरै कुरा गर्छन् । ‘यसो गर्छु, उसो गर्छु’ भन्छन् । तर, चुनाव जितेपछि नेता आफ्नै तालमा हुन्छन् । नेताले मुखले ठिक्क पार्ने हुन् । उनीहरू हाम्रो तालमा त चल्दैनन् । म ००९ सालदेखि कामको सिलसिलामा नारायणगढदेखि लमजुङसम्म पुगेको मान्छे हो । मलाई नै केही गर्दिनुपर्ने त हैन । नेताले मलाई लोभ देखाएर मैले नेतालाई भोट हालेको पनि हैन । पहिलो चुनावमा भोट हालियो, त्यसपछि बानी लागेझैं भयो । अहिले नारायणगढ लीलाचोक नजिक मेरो घर छ ।

ओहो यो चुनावमा कस्तो होहल्ला ? कति धेरै मान्छे उठेका ? घाम ताप्न बस्छु, ऊ आउँछ, त्यो आउँछ, भोट दिनुहोस् है भन्दै पर्चाहरू थमाउँछ । पहिला यस्तो होहल्ला खासै हुँदैनथियो । घरघरमा भोट माग्न आउने चलन धेरैपछि सुरु भएको हो झैं लाग्छ । हुन त म कामका लागि ठाउँठाउँ पुग्ने भएकाले नदेखेको पनि होला । म भोट माग्न आउनेहरू सबैलाई ल ल भन्छु । कसलाई दिने त्यो आफ्नो मर्जी !

भोट हाल्ने मतपत्र हात परेपछि मैले छाप लगाउने निधो गरेको चिह्न खोज्छु । पहिल्यै निधो गरेका कारण मतपत्र पाएपछि कुनै अलमल गर्दिनँ । सिधै छाप लगाउने हो । मैले छाप लगाएकाले जित्ला/नजित्ला भन्ने कुरा मनमा खेल्छ । जितेको सुने खुसी लाग्छ । नजिते नमज्जा लाग्छ । सधैं मत दिने चिह्न एउटै हो भन्दा पनि हुन्छ । चिह्न उही हो । तर, उठ्ने मान्छे फरकफरक हुन सक्छन् । मलाई मान्छेभन्दा पनि चिह्नले तानेको छ । पार्टीले तानेको छ । म धेरै राजनीतिमा चासो नराख्ने भएकाले पनि होला आफ्नो मनले जे भन्छ त्यहीअनुसार भोट हाल्दै आएँ । भोट हाल्ने दिन सधैं बिहानैदेखि हिँडेको देख्छु । मलाई पनि ‘जाउँ बुबा’ भन्छन् । रमाइलो लाग्छ । यही रमाइलो रमाइलोमै मतदान केन्द्र पुगिन्छ ।

पहिला र अहिलेको धेरै कुरामा आकाश जमिनको फरक छ । पहिलाको चुनावमा के–के हुन्थ्यो, अहिले सम्झन पनि गाह्रो हुन थाल्यो । कुनै बेला झैंझगडा गरे, हुलदंगा गरे भन्ने पनि सुनियो । त्यस्तो भएको देखिएन, भयो रे भन्ने सुनेको हो । अचेल दंगा भएको त्यत्ति सुनिँदैन । यो राम्रै हो । मान्छेले विभिन्न आशा र लोभ देखाएर भोट हाल्न लगाउँछन्, हाल्छन् पनि भन्ने सुनेको छु । मैले त्यसो गरेको छैन । मैले त मनले जे ठान्यो त्यही गर्दै आएँ । डर र लोभमा परेर अनि पैसा या जागिरको आसमा भोट हाल्ने होइन, देशलाई राम्रो होस् भनेर त्यहीअनुसारको पार्टी छान्ने हो ।

(चितवनमा रमेशकुमार पौडेलसँगको कुराकानीमा आधारित)

कान्तिपुर

Link copied successfully