गाउँका पञ्च र प्रभावशाली व्यक्तिहरूले जे भन्थे, हामी त्यसै आधारमा भोट हाल्थ्यौं । मैले पहिलो मत भक्तबहादुर शाहीलाई दिएँ र उनले जितेर प्रधानपञ्च भए । पहिलो पटक भोट हालेकैले जित्दा खुसी लाग्यो । केही थाहा नभए पनि गाउँमा सबै खुसी भयौं ।
चुनाव एक नेताको जित–हारको विवरण मात्रै होइन
What you should know
धरान — – चन्द्रकुमारी राई (८८ वर्ष) बाराह क्षेत्र, सुनसरी
योपालिको चुनाव पहिलाका भन्दा फरकजस्तो लाग्छ । चुनावको मौसम आउँदा गाउँभरि हल्ला हुन्थ्यो, झन्डा, पोस्टर र र्यालीले गाउँ रंगीन बनाउँथ्यो । तर योपालि अलिक शान्त छ । मेरा लागि यो खास चुनाव हो किनभने अर्कोपालिसम्म बाँच्छु कि बाँच्दिनँ, थाहा छैन ।
मेरो पहिलो पटकको मतदान अनुभव अलिअलि याद छ । धनकुटाको बेलहरा गाउँमा जन्मेकी, विवाहपछि मधेश झरें, अहिले बराहक्षेत्र नगरपालिका–७, बांगे बजारमा बस्छु । मैले पहिलो पटक २०२०–२०२२ तिर मतदान गर्दा २७ वर्षकी थिएँ । पञ्चायती व्यवस्था थियो, स्वतन्त्र वातावरण थिएन । पुरुषभन्दा महिलाका लागि राजनीतिक चेतना र सहभागिता कठिन थियो । हामीले क, ख चिह्नमा मात्र छाप लगाएर भोट हाल्थ्यौं ।
मैले पहिलो पटक महेन्द्र पञ्चायतको नगर टप्पुबाट भोट हालेको थिएँ । त्यतिबेला पनि चुनावमा र्याली हुन्थ्यो तर स्वतन्त्र निर्णय गर्न कठिन थियो । सरकारी कर्मचारी वा जानकारको भरमा नाम टिपेर मात्र मतदाता बनाइन्थ्यो । गाउँका पञ्च र प्रभावशाली व्यक्तिहरूले जे भन्थे, हामी त्यसै आधारमा भोट हाल्थ्यौं । मैले पहिलो मत भक्तबहादुर शाहीलाई दिएँ र उनले जितेर प्रधानपञ्च भए । पहिलो पटक भोट हालेकैले जित्दा खुसी लाग्यो । केही थाहा नभए पनि गाउँमा सबै खुसी भयौं ।
२०४२ मा कोशी नदीको ठूलो बाढीले हाम्रो गाउँ टप्पु बगायो । घरघर पानीले भरियो, खेतीबारी ध्वस्त भयो र जीवन जोखिममा पर्यो । प्रधानपञ्चहरूले महेन्द्रनगरको बांगेमा बस्न अनुमति दिए । गाउँले र नेताबीचको भरोसाले हाम्रो जीवन बचायो । बाढीको पीडा अझै स्मरणमा छ । पछि दलीय नेताहरूले क्षतिपूर्ति दिने आश्वासन दिए तर हालसम्म केही प्राप्त भएको छैन ।
पछि देशमा बहुदलीय व्यवस्था आयो । दलका नेता घरघरमा भोट माग्न थाले । चुनाव चिह्न चिनाउने, आश्वासन दिने र मतदाता प्रभावित पार्ने क्रम बढ्यो । तर सुरुका दिनमा मतदान प्रक्रिया बुझ्न कठिन थियो । मैले एक पटक सूर्य, रुख र हलो तीनै चिह्नमा छाप लगाएँ, त्यसपछिका चुनावमा त्यो गल्ती फेरि दोहोर्याइनँ । र, चुनावका बेला पूरै नारा/र्याली हुन्थ्यो, घरघरमा पार्टीको झन्डा झुन्ड्याइन्थ्यो । हामी पनि चुनावी भेलामा जान्थ्यौं । नेता–कार्यकर्ताहरू घरघरमा भोट माग्न आउँथे । घरमै आएर ‘भोट हाल्नु है’ भनेर पैसा दिने पनि गर्थे । त्यसपछि त्यही चिह्नमा भोट हालियो ।
अहिलेसम्म कति चुनावमा भोट हालें, थाहा छैन तर कुनै पनि चुनाव छुटेको छैन । चुनावका बेला नेताहरू त घरघर आउने गर्थे तर राजनीतिबारे खासै चासो थिएन । हामी महिलाहरू त भोट हाल्न मात्र जाने गर्थ्यौं, त्यो पनि अरूले भनेको भरमा छाप लगाएर फर्कन्थ्यौं । मैले १२, १३ पटक भोट हालें होला । हरेकचोटि मतदान गरेकी छु जस्तो लाग्छ । बढी भोट एमालेमा हालें । वृद्धा भत्ता दिने, सेवा सुविधा दिने भनेर भन्थे । त्यही भएर सूर्यमा भोट हालें । गाउँका चिने–जानेकैले भोट हाल्न सिकाए । चिह्न हेरेर मात्रै भोट हालिन्थ्यो । पढे–लेखेको थिइनँ तर आफ्नो मतले देशको भविष्यमा फरक पार्छ भन्ने बुझाइ थियो । नेता नचिनीकनै भोट हाल्थ्यौं । द्वन्द्वकालमा मेरो काइँला छोरा हरायो । भाषणमा नेताहरूले खोज्दिने भन्थे तर भेटाएनन् । आश्वासन मात्र दिए, अहिलेसम्म भेटिएको छैन ।
राजनीति के हो भन्ने थाहा थिएन तर भोट हाल्नुपर्छ भन्ने बुझाइ थियो । पहिले आफ्नो मतले खासै फरक पार्दैन भन्ने सोच्थें, अहिले नातिनातिनीले नयाँ पार्टीमा भोट हाल्न सुझाव दिने गर्छन् । मलाई त थाहा छैन, कुन पार्टीमा भोट हाल्ने । नेपालमा पञ्चायती शासन, जनआन्दोलन, बहुदलीय प्रजातन्त्र, संविधानसभा निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको राजनीतिक परिवेश देखें, पहिले भोट हाल्दा डर लाग्थ्यो, अहिले ढुक्क भएर भोट हाल्न पाइन्छ, डर लाग्दैन ।
बूढी भएँ, मतदान केन्द्रसम्म पुग्न कठिन हुन्छ । हिँड्न गाह्रो हुन्छ, लामो समय उभिन सक्दिनँ । अघिल्ला चुनावमा त घरघरमा लिन आएका थिए गाडी लिएर । मतदान केन्द्रसम्म पुगेर भोट हालेको थिएँ । योपालि पनि मतदान गर्न जान्छु, नातिका साथमा । पहिले गाउँका पञ्च वा प्रभावशालीले भनेका आधारमा मतदान हुन्थ्यो । दबाब र प्रभावबीच गरेको मतदानले सन्तुष्टि दिन्थेन । अहिले पहिलाजस्तो छैन । परिवारका सदस्यले परिवर्तनका लागि भोट हाल्न सुझाव दिने गर्छन् अब उनीहरूले जेमा भन्छन्, त्यहीमा हाल्छु । ‘नयाँ पार्टीलाई भोट हाल्नुपर्छ, आमा’ भन्छन् । अब कुन राम्रो हुन्छ, त्यसमै भोट हाल्छु । योपालिको चुनाव पहिलेभन्दा शान्त छ । पहिले चुनाव आयो भने घरघरमा झन्डा झुन्ड्याउन आउँथे, धेरै रमझम हुन्थ्यो । अहिले त्यस्तो छैन । चुनावमा हल्ला कम छ । अब नयाँ पार्टी भन्छन्, त्यसैमा त हाल्नुहोला नि ।
(एलिना राईसँगको कुराकानीमा आधारित)
