‘टाढासम्म हिँड्डुल गर्न सक्दिनँ, तैपनि भोट हाल्ने जाँगर छ’

मतदानस्थल एक किलोमिटर टाढा छ, आफूले समर्थन गरेको दलको चुनाव चिह्नमा आफैं छाप लाउँछु । यस पटक पनि भोट हाल्न पर्खिएको छु । चुनावप्रति कुनै दिक्दारी छैन । त्यही हो प्रचारप्रसारमा जान मन लाग्छ । हिँड्न सक्दिनँ । पहिले त गाउँ डुलेर खुब नारा लगाइन्थ्यो । आफ्नो दलको पक्षमा माहोल बनाइन्थ्यो

फाल्गुन १६, २०८२

कान्तिपुर संवाददाता

'I can't walk far, but I still have the will to vote'

चुनाव एक नेताको जित–हारको विवरण मात्रै होइन

What you should know

ताराप्रसाद भण्डारी (९५ वर्ष), शुद्धोधन–४, रुपन्देही

म अहिले शुद्धोधन–४, रूपन्देहीमा बस्छु । पाल्पाको दर्लामडाँडा गाविसमा जन्मिएको हुँ । उतिबेला लेखपढ गर्ने चलन थिएन । धूलो–माटोमा खेलेरै हुर्किएँ । जिल्लाभरिमा सदरमुकाम तानसेनमा स्कुल थियो । गाउँमा केही विद्वान्–पण्डितहरू हुनुहुन्थ्यो । मैले पनि उहाँहरूसँग अक्षर चिनें । अहिलेका चर्चित डाक्टर भगवान कोइरालाका जिजुबुबा कृष्णराजबाट कखरा सिकें । लेखपढ गर्न सक्ने भएँ । उतिबेला कापीकलम हुन्थेनन् । अक्षर चिनाउने र घोकाउने गर्नुहुन्थ्यो । प्राइभेट पढेको हुँ । त्यसबेला सरकारले जाँच लिन्थ्यो । तानसेन आएर परीक्षा दिएर २५ वर्षको उमेरमा निजामती मध्यमा उत्तीर्ण गरेको हुँ । त्यति पढेपछि ‘हाकिम पोस्ट’ मा जागिर पाइन्थ्यो । राणाकालमा कानुनभन्दा हुकुम लागू हुन्थ्यो । मैले पनि सुरुमा मालपोतमा अस्थायी जागिर पाएँ । दुई वर्ष काम गरेपछि छाडें ।

जागिर छाडेपछि खेतीपातीमा लागें । गाउँघरमा डिँगाबाच्छा पालियो । २०२३ मा काठमाडौं गएका बेला भूमिसुधार विशेष अदालतमा डिट्ठा पदमा नियुक्त भएँ । सुरुमै मलाई भैरहवा खटाइयो । ६/७ वर्ष त्यहीं काम गरेर गुल्मी सरुवा भएँ । गुल्मीमा दुई वर्ष काम गरेर फेरि भैरहवा आएँ । त्यसपछि कपिलवस्तुमा काम गरें । यही सेरोफेरो घुमेरै २०४९ मा अवकाश भएको हुँ । श्रीमती ललिताको डेढ वर्षअघि स्वर्गारोहण भयो । मेरा ५ छोरा र एक छोरी छन् । तिनबाट ७ नाति र २ नातिनी छन् । तीन पनाति पनि भइसके । म अहिले पनि हिँड्डुल गर्छु ।

राणाकालमा चुनाव हुन्थेन । प्रजातन्त्र आएपछि २०१५ मा चुनाव भएको जस्तो लाग्छ । त्यतिबेला पक्कै भोट हालेको हुँला । तर, सम्झना छैन । त्यतिबेला मतदाता नामावली हुन्थ्यो कि नाइँ कुन्नि ! पञ्चायतकालमा म आफैं कर्मचारी थिएँ । त्यतिबेला अहिलेको जस्तै मतदाता नामावली हुन्थ्यो । त्यही कागज लगेर भोट हाल्न जानुपर्थ्यो । नेपाली कागज प्रयोग हुन्थ्यो, च्यातिन्छ कि भनेर जतन गर्नुपर्थ्यो । अहिलेको जस्तो चुनावी लहर हुन्थेन । पञ्चायतकालबाटै भोट हाल्न थालेको हुँ । २०३६ र २०४३ मा भोट हालेको जस्तो लाग्छ । तर, २०४८ पछि भने नियमित भोट हालेको सम्झना छ । भोट हाल्न जाने भनेपछि हुरुक्कै हुन्छु । नागरिक भएपछि भोट हाल्नुपर्छ । २०४८ पछि त प्रचारप्रसारमा पनि हिँडें । त्यतिबेला भैरहवातिर रामकृष्ण ताम्राकार, दीपक बोहरा नेता हुनुहुन्थ्यो । पछि बालकृष्ण खाँण र घनश्याम भुसाल पनि चुनाव लड्नुभयो ।

पञ्चायतमा त उम्मेदवारले विकास निर्माणका नारा लगाएको सुनिनँ । केटाकेटीदेखि बूढाबूढीका लागि सुविधा ल्याउँछौं भन्थे । हालखबर सोध्थे । भोट दिनुस् भन्थे । प्रजातन्त्र आएपछि भने लौ यो विकास गर्छु, त्यो विकास गर्छु भन्दै भोट मागिरहेका छन् । प्रत्येक चुनावमा सबै दलका नेताहरू घरमै आएर भोट माग्छन् । मलाई पनि गाउँमा हुने आमसभा, कोणसभामा जान मन लाग्थ्यो । अहिले टाढासम्म हिँड्डुल गर्न सक्दिनँ । तैपनि भोट हाल्ने जाँगर छ । २०७९ को चुनावमा पनि भैरहवाबाट शुद्धोधन–४, केवलपुरमा आएर भोट हालेको थिएँ । अहिले त गाउँमै छु । मतदान गरेका दिन मन खुसी हुन्छु । आफ्नो अधिकार प्रयोग गरेको जस्तो लाग्छ ।

देशमा चुनाव पनि धेरै भए । परिवर्तन पनि धेरै भइसक्यो । सबैभन्दा ठूलो परिवर्तन भनौं या दुःखको कुरा, पहाडका अधिकांश मान्छे गाउँ छाडेर तराई झरिसके । पहाडका घरमा ताला लागेका छन्, बारी बाँझै छन् । अहिले त काम गर्नै छाडें । औजार प्रयोग गर्छन् । पहिले आफैंले भारी बोक्थे, अहिले गाडीले ओसार्छन् । पहिलेको र अहिलेको जुगमा धेरै अन्तर छ । देशको हितमा काम गरिहाल्छन् कि भनेर हरेक चुनावमा भोट हाल्छु तर भाषण एकथोक गर्छन्, काम अर्कैथोक गर्छन् । नेताहरू ‘लफङ्गा’ भए । कहिलेकाहीँ त दिक्दार लाग्छ । तर, फेरि पनि केही राम्रो भइहाल्छ कि भन्ने आसले भोट हाल्न जान्छु । यो उमेरमा धेरै आस पनि केही छैन । भ्रष्टाचार नगरे हुन्थ्यो । सार्वजनिक सम्पत्तिको नाश नभइदिए हुन्थ्यो जस्तो लाग्छ । आवश्यक काममा मात्रै खर्च गरे हुन्थ्यो । जहाँ पायो त्यहीं खर्च गरेर देश डुबाएका छन् ।

भौतिक विकास त मेरै आँखाले देखें । पहिले गोरेटो बाटो थिए, अहिले फराकिला पक्की सडक भए । यत्तिचाहिँ गरेका छन् । उहिले टुकी बालेर पढ्नुपर्थ्यो । अहिले आकाशका तारा बलेझैं बिजुली झलल छ । त्यसैले पनि मेरो मत महत्त्वपूर्ण लाग्छ । अझै देश सिँगार्लान् कि भन्ने छ । नयाँ बाटो देखाउँछन् कि ! भ्रष्टाचार अन्त गरेर मुलुकमा सुशासन लागू गर्छन् कि भन्ने कुरा खेलिरहन्छ । मुलुकमै रोजगारी व्यवस्था भइदिए हुन्थ्यो । पञ्चायतकालमा भ्रष्टाचार नभएको होइन तर बहुदलमा अचाक्ली भयो । तैपनि बाटोघाटो, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुलीमा सुधार भयो । पहिले यत्तिका स्कुल कहाँ थिए ? सहर बजारमा एक/दुइटा स्कुल हुन्थे । गाउँमा त छँदै थिएनन् । उहिले अस्पताल थिएनन् । वैद्यले बिरामीका नाडी छामेर के–के बुटी पिसेर खान दिन्थे । अहिले गाउँ–गाउँमा स्वास्थ्यचौकी र अस्पताल छन् ।

अहिले निर्वाचन फेरियो । कर्मचारीलाई पनि सजिलो भयो । तर, भोट हाल्ने कुरा उस्तै हो । पहिले पनि मतदाता परिचयपत्र हुन्थ्यो । औंलामा चिनो लाउँथे । अहिले पनि उस्तै त हो । अहिले लाइन मिलाउँछन् । मतपत्र पनि ठूला–ठूला हुन्छन् । दल पनि धेरै छन् । दुई पटक छाप लाउनुपर्छ । पहिले मतपत्र सानो हुन्थ्यो । म त मतदानस्थलसम्म सहयोगीसँग गए पनि आफूले समर्थन गरेको दलको चुनाव चिह्नमा आफैं छाप लाउँछु । यस पटक पनि भोट हाल्न पर्खिएको छु । चुनावप्रति कुनै दिक्दारी छैन । त्यही हो प्रचारप्रसारमा जान मन लाग्छ । तर, हिँड्न सक्दिनँ । पहिले त खुब गाउँ डुलिन्थ्यो । नारा लगाइन्थ्यो । टाढा–टाढा पुगेर छलफल गरिन्थ्यो । आफ्नो दलको पक्षमा माहोल बनाइन्थ्यो । लौ यस पटक यो चिह्नमा भोट हाल्नुपर्छ भनेर गाउँलेलाई उत्साहित तुलाइन्थ्यो ।

यसअघिका चुनावमा उम्मेदवारले जे पनि गर्छु भन्थे । मासुभात खुवाएको, पैसा बाँडेको हल्ला पनि चल्थ्यो । तर, मेरा आँखाले पैसा बाँडेको कहिल्यै देखेनन् । यसपालि पनि रूपन्देही–३ बाट धेरै जना उम्मेदवार बनेको सुन्छु । एमालेका वासुदेव घिमिरे र कांग्रेसका सुशील गुरुङ घरमै आउनुभयो । एमालेका घिमिरेले विगतदेखि नै राम्रो काम गरेर आएको सुनाए । अझै विकास गर्छु, सुविधा पुर्‍याउँछु भने । कांग्रेसका गुरुङले आफू पहिलोचोटि उम्मेदवार बनेको सुनाए । युवा, बुद्धिजीवी भएकाले विकासका काम गर्छु भने । अरू उम्मेदवार आएका छैनन् । मेरो घरबाट एक किलोमिटर टाढा शिवालयमा मतदानस्थल छ । त्यहाँ गएर भोट हाल्न आतुर छु ।

(दीपेन्द्र बढुवालसँगको कुराकानीमा आधारित)

कान्तिपुर

Link copied successfully