१०७ वर्ष लागें, १२ औं पटक संसदीय मतदान गर्दै छु

२०३६ मा राजा वीरेन्द्रले जनमतसंग्रहको घोषणा गरे र बहुदल कि सुधारिएको पञ्चायत भन्ने रोजाइ जनतालाई दिए । त्यो मेरो दोस्रो मतदान अनुभव थियो । पहिलो चुनावमा कसलाई भोट दिएँ, स्पष्ट याद नभए पनि जनमतसंग्रहमा भने बहुदलको पक्षमा मत दिएको सम्झना छ ।

फाल्गुन १६, २०८२

कान्तिपुर संवाददाता

It's been 107 years, and I'm voting in parliament for the 12th time.

चुनाव एक नेताको जित–हारको विवरण मात्रै होइन

What you should know

मोरङ —  

बखतबहादुर कार्की (१०७ वर्ष) झोरहाट, मोरङ

म मोरङ झोरहाटको बासिन्दा, १०७ वर्ष लागें । मेरो नाम बखतबहादुर कार्की हो । मेरो जन्म विसं १९७५ मा रामेछापको मन्थलीमा भएको हो । म सानै छँदा हाम्रो परिवार बसाइँ सरेर मोरङ झर्‍यो । अहिलेको झोरहाट र विराटनगर आसपासको क्षेत्र त्यतिबेला घना जंगल थियो । जता हेरे पनि रुखै–रुख । दिउँसै बाघ–भालु गाउँ नजिक आइपुग्थे । तर, जंगली जनावरभन्दा ठूलो त्रास औलोको थियो । धेरै मानिस त्यो रोगले निमोठेर लगेको मैले देखेको छु ।

विसं १९९० को भूकम्प जाँदा म करिब १५ वर्षको थिएँ । घरमै थियौं, एक्कासि पृथ्वी हल्लिन थाल्यो । हामी सबै आत्तिएर घरबाट बाहिर भाग्यौं । त्यो दृश्य अहिले धमिलो सम्झना बनेर बाँकी छ, तर डर भने अझै मनमा छ ।

मैले १०७ वर्षे राणा शासनको उकुसमुकुस भोगें । १९०३ देखि २००७ सम्मको त्यो कालखण्ड मैले आफ्नै आँखाले देखें । जनतासँग अधिकार थिएन, आवाज थिएन । २००७ को परिवर्तनपछि देशमा नयाँ आशा पलायो ।

नेपालमा औपचारिक निर्वाचन सुरु भएको इतिहास धेरै लामो छैन । विसं २००४ जेठ २९ मा काठमाडौंमा पहिलो पटक स्थानीय निर्वाचन भएछ भन्ने कुरा पछि थाहा पाएँ । त्यो बेला महिलाले मत हाल्न पाउँदैनथे भन्ने सुनेको हो । विसं २०१० भदौ १७ मा महिलाले पनि मतदान गर्न पाएछन् । त्यो सुन्दा खुसी लाग्यो । मैले भने पहिलो पटक मत खसालेको विसं २०१५ फागुन ७ मा हो । त्यो नेपाल अधिराज्यको संविधान, २०१५ अनुसार बालिग मताधिकारका आधारमा भएको पहिलो आमनिर्वाचन थियो । त्यतिबेला म ४० वर्षको थिएँ ।

रोचक कुरा के भने, त्यो बेला मसँग नागरिकता नै थिएन । कसले कसरी मतदाता नामावलीमा मेरो नाम लेखाइदियो, आजसम्म सम्झना छैन । पछि २०३६ को जनमतसंग्रहअघि, २०३५ असार ११ गते आइतबार मैले मोरङबाट नागरिकता लिएको हुँ । त्यतिबेला म ५५ वर्षको थिएँ । मेरो नागरिकता नम्बर ४१०५११०२ हो ।

It's been 107 years, and I'm voting in parliament for the 12th time.

पहिलो पटक मतदान गर्दा मनमा अचम्मको उत्साह थियो । हातमा मतपत्र लिँदा लाग्यो– म देशको भविष्य बनाउन सहभागी हुँदैछु । त्यो बेला मत हाल्ने प्रक्रिया अहिलेभन्दा सरल थियो तर जिम्मेवारीको भावना धेरै गहिरो थियो । मैले कसलाई भोट दिएँ, त्यो उम्मेदवारले जिते कि हारे, अहिले ठ्याक्कै सम्झन सक्दिनँ तर बीपी कोइरालालाई मत दिएको जस्तो लाग्छ ।

विसं २०१७ मा पञ्चायती व्यवस्था आएपछि लोकतन्त्र फेरि धरापमा पर्‍यो । २०३६ मा राजा वीरेन्द्रले जनमतसंग्रहको घोषणा गरे । वीरेन्द्रले बहुदल कि सुधारिएको पञ्चायत भन्ने रोजाइ जनतालाई दिए । त्यो मेरो दोस्रो ठूलो मतदान अनुभव थियो । पहिलोमा कसलाई भोट दिएँ, स्पष्ट नभए पनि जनमतसंग्रहमा भने मैले बहुदलको पक्षमा मत दिएको सम्झना छ ।

त्यसपछि राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन २०३८ र २०४३, प्रतिनिधिसभा निर्वाचन २०४८, २०५१, २०५६, संविधानसभाको पहिलो निर्वाचन २०६४, दोस्रो २०७०, संघीय संसद् तथा प्रदेशसभा निर्वाचन २०७४ र २०७९ सबैमा म सहभागी भएको छु । अबको चुनावमा मेरो १२ औं संसदीय मतदान हुनेछ । स्थानीय तहका निर्वाचनमा पनि उति नै पटक भोट हालिसकेको छु । म आफ्नो जीवनलीला देखेर खुसी छु र अबको चुनावमा भोट हाल्न पाउने कुराले उत्साहित पनि ।

राणा शासनदेखि गणतन्त्रसम्मको यात्रा मैले देख्न, भोग्न पाएको छु । प्रजातन्त्र, पञ्चायत, बहुदल, जनआन्दोलन, संविधानसभा– यी सबै परिवर्तनमा जनताको मत निर्णायक रह्यो भन्ने मेरो विश्वास छ । एउटा मतले पनि फरक पार्छ । त्यसैले मैले कहिल्यै मतदान छुटाएको छैन ।

It's been 107 years, and I'm voting in parliament for the 12th time.

सादय यो मेरो अन्तिम भोट पनि हुन सक्छ । उमेर ढल्किए पनि मतदान गर्न पाउँदा म आफूलाई अझै सक्रिय नागरिक ठान्छु ।पहिला उम्मेदवारहरू गाउँ–गाउँ डुलेर व्यक्तिगत भेटघाट गर्थे । बाटो, पुल, विद्यालय बनाउने सादा वाचा गर्थे । अहिले विकासका ठूला योजना, रोजगारी, सामाजिक सुरक्षा, पूर्वाधारका कुरा हुन्छन् । तर, मेरो बुझाइमा अन्ततः जनताको विश्वास जित्नु नै मुख्य कुरा हो ।

मेरो दैनिकी अझै नियमित छ । बिहान ६ बजे उठ्छु । जाडो होस् वा गर्मी, यो बानी बदलिएको छैन । बेलुका ५ बजे आफैं सिँढी चढेर सुत्न जान्छु । शौचालय पनि आफैं जान्छु । घरमा कोही नभए पनि आफ्नो काम आफैं गर्छु । केही वर्षअघिसम्म गाईलाई पराल हाल्ने, घाँस काट्ने काम पनि गर्थें । तर, अब सक्न छाडें ।

मेरी श्रीमती केही वर्षअघि बितिन् । उनी पहिलेबाटै दृष्टिविहीन थिइन् । उनी बितेपछि एक्लो भएको छु । छोरा–बुहारीले हेरचाह गरिरहेका छन् । एक्लोपन त लाग्छ तर मनोबल घटेको छैन । जीवनभर कडा परिश्रम गरें । शरीरमा काम गर्दा लागेका घाउका दाग अझै छन् । ती दाग मेरा संघर्षका चिह्न हुन् जस्तो लाग्छ ।

बिहान उठेपछि मुख धुन्छु, चिया र बिस्कुट खान्छु । त्यो मेरो नियमित कर्म हो । दिउँसो हल्का खानेकुरा– बिस्कुट, फलफूल खान्छु । बेलुका धेरै खाँदिनँ । पहिले सुपारी खाने बानी थियो, अहिले परिवारले कम गरिदिएको छ । तर पनि कहिलेकाहीँ त खाइदिइहाल्छु । सुपारी खायो भनेर छोराबुहारी रिसिन्छन् । कसैले माया गरेर केही दियो भने खुसीसाथ खाइदिन्छु ।

म नियमित रेडियो सुन्छु । समाचार सुन्दा देश–विदेशका घटनाबारे चासो राख्छु । अहिले पनि चुनावको कुरा रेडियोले फुकिरहेको छ । चुनाव हुन लागेको कुरा त्यही रेडियोबाट चाल पाएको छु । तर, कुन पार्टी, कुन नेता मलाई केही थाहा छैन ।

मतदान अधिकार मात्र होइन, जिम्मेवारी पनि हो । लोकतन्त्र जोगाउन नागरिकको निरन्तर सहभागिता चाहिन्छ । १०७ वर्षको उमेरमा पनि म यही विश्वास बोकेर बाँचिरहेको छु ।

(मोरङ झोरहाटमा पर्वत पोर्तेलसँगको कुराकानीमा आधारित)

कान्तिपुर

Link copied successfully