त्यतिबेलाको चुनावी प्रचारप्रसार अहिलेको तुलनामा भिन्न थियो । चुनाव प्रचारप्रसारको सबैभन्दा ठूलो माध्यम थियो– एकअर्कोसँग कुराकानी । उम्मेदवारबारे पनि कुराकानीबाटै थाहा पाइन्थ्यो ।
चुनाव एक नेताको जित–हारको विवरण मात्रै होइन
What you should know
–गुहेश्वरीराज मानन्धर (९३ वर्ष) मखन, काठमाडौं
नेपालमा जति राजनीतिक परिवर्तन भए, ती सबै आफ्नै आँखाले देखें । नेपालमा जति चुनाव भए, त्यसलाई पनि नजिकबाटै हेर्ने अवसर पाएँ । त्यस अर्थमा म भाग्यमानी पनि रहें । अहिलेसम्म जति पनि चुनाव भएका छन्, विशेषतः संसदीय चुनाव, ती सबैमा मैले भाग पनि लिएको छु । अबको आसन्न चुनावमा पनि भाग लिनेछु, हेरौं स्वास्थ्यले कतिसम्म साथ दिनेछ । चुनावलाई लिएर एक प्रकारले उत्साहित पनि छु ।
मतदान नै त्यो अवसर हो, जसको माध्यमबाट आमजनले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्छन् । कसैको पनि एक मतको ठूलो महत्त्व हुन्छ नै । अहिले म ९३ वर्षको भएँ, ९० सालको महाभूकम्पको चार महिना अगाडि मेरो जन्म भएको हो । हाम्रो पुर्ख्यौली घर काठमाडौंको कुमारीघरको ठीक पछाडि हो, त्यसलाई ग्वाछेमुगः गल्ली भनिन्छ । त्यहीं म जन्मे र हुर्कें । पढेको भने जेपी स्कुलबाट । मैले पाँच वर्षको उमेरदेखि नै पढ्न थालेको थिएँ, मेरो समयमा यो स्कुल मखनमा थियो ।
जेपी त्यस समयको सबैभन्दा नाम चलेको स्कुलमध्ये एक थियो । त्यहींबाट मैले एसएलसी दिएको थिएँ– २००४ मा । मेरो सबै विद्यालय शिक्षा त्यहीं भएको थियो । एसएलसी दिँदा म सायद १४ वर्ष मात्र पुगेको हुनुपर्छ । नतिजा नामसहित राजपत्रमा प्रकाशित हुन्थ्यो । त्यस अर्थमा मलाई २००७ को राजनीतिक घटनाक्रमबारे पनि थाहा छ र अहिलेसम्म पनि सम्झना छ । राजा त्रिभुवन त्यति बेलाको राजनीतिक परिवर्तनका बेला भारतबाट विमानमा काठमाडौं आउँदा म आफैं विमानस्थलसम्म पुगेको थिएँ ।
त्यति बेलासम्म ममा राजनीतिक चेतना सुरु भइसकेको थियो, भलै मैले त्यसमा सक्रियपूर्वक भाग भने लिइनँ । त्यति बेला विमानबाट राजनीतिक पर्चा छरेको मलाई अहिलेसम्म पनि सम्झनामा छ । राणा शासनको अन्त्यतिर सामाजिक आन्दोलनको लहर नै चलेको थियो । राणाहरूको उद्देश्य थियो, जनतालाई चेतनशील हुनबाट सक्दो रोक्ने । जनता भने त्यसको पर्वाह नै नगरी चोकचोकमा विद्यालय खोल्थे, गोप्य रूपमा पर्चा–पम्प्लेट छाडेर बाँड्थे ।
बिस्तारै पत्रिका निकाल्ने लहर पनि सुरु भयो । युवामा क्रान्तिको जोस थियो । त्यही बेला नेपाल भाषामा ‘धर्मोदय’ भन्ने पत्रिका निस्केको थियो, त्यो पनि कलकत्ताबाट । एलएलसीपछि मैले त्रिचन्द्र कलेजबाट आईएस्सी गरें र भारतको धनवादमा गएर माइनिङसम्बन्धी पढेको थिएँ । बिहारको धनवादमा प्रसिद्ध ‘इन्डियन स्कुल अफ माइनिङ’ मा इन्जिनियरिङ गरेको थिएँ । अहिले त त्यो विश्वविद्यालय पनि भइसकेको छ । काठमाडौंबाट त्यति बेला पटना पुग्न पनि निकै लामो यात्रा तय गर्नुपर्ने हुन्थ्यो ।
त्यहीं पढ्ने क्रममा राजनीतिबारे मेरो रुचि कायम रह्यो । मलाई लाग्छ, २०१५ को संसदीय चुनावका बेलासम्म कम्तीमा भित्री काठमाडौंमा राजनीतिक चेतना धेरैमा थियो । धेरैले राजनीतिमा रुचि राख्ने र आफ्नो धारणा व्यक्त गर्न सक्ने स्थिति थियो । मलाई लाग्छ, यो विशेषतः युवा पुस्तामा लागू हुन्छ । मलाई सम्झना भएसम्म त्यति बेला पनि धेरै राजनीतिक पार्टी थिए, तर हाम्रोतिर मुख्य रूपमा दुई समूह थियो । एउटा भयो– कांग्रेस । अर्को भयो– कम्युनिस्ट ।
काठमाडौंको हाम्रो क्षेत्रमा गणेशमान सिंह कांग्रेसको उम्मेदवार थिए भने पुष्पलाल श्रेष्ठ कम्युनिस्टका । पुष्पलाल सहिद गंगालालका भाइ थिए । मैले २००७ सालको क्रान्ति देखेको र सुनेको हुनाले त्यति बेला गंगालाल र अरूले सहादत प्राप्त गरे, त्यो मलाई राम्रोसँग सम्झना छ । तर, उनीसँग व्यक्तिगत सम्बन्ध भने भएन किनभने पुष्पलाल प्रायः काठमाडौं बाहिर बस्थे । मैले व्यक्तिगत रूपमै गणेशमान सिंहलाई भेटेको छु ।
त्यति बेलाको चुनावी प्रचारप्रसार अहिलेको तुलनामा धेरै भिन्न र फरक ढंगले हुन्थ्यो, जुन स्वाभाविक पनि थियो । मलाई लाग्छ, त्यति बेलाको चुनाव प्रचारप्रसारको सबैभन्दा ठूलो माध्यम नै एउटाले अर्कोसँग गर्ने कुराकानीमा आधारित हुन्थ्यो । चुनाव र उम्मेदवारबारे पनि जानकारी पाइन्थ्यो, त्यो एकले अर्कोलाई सुनाएरै । लामै समयसम्म यो क्रम कायम रह्यो ।
राजनीतिक भेला र आमसभा पनि हुन्थे । तर मलाई अझै पनि के लाग्छ भने त्यति बेला राजनीतिक चेतना र प्रचारप्रसार कुराकानीकै आधारमा हुन्थ्यो । मैले पहिलो संसदीय निर्वाचनमा कांग्रेसलाई नै भोट हालेको थिएँ, मलाई सम्झना भएसम्म गणेशमान सिंहको जित भयो । तर, पुष्पलालले पनि राम्रै मत प्राप्त गरेका थिए । म २५ वर्षको युवा थिएँ, त्यति बेला । हाम्रो मतदान केन्द्र वसन्तपुरमा थियो । त्यस अर्थमा पनि वसन्तपुरको ऐतिहासिक राजनीतिक महत्त्व छ ।
चुनावी परिणामपछि कांग्रेसकै सरकार बनेको थियो, बीपी कोइराला प्रधानमन्त्री पनि भए । मैले व्यक्तिगत रूपमा राजा महेन्द्र र त्यसपछि राजा वीरेन्द्रलाई पनि भेटेको छु । पहिलो संसदीय चुनावपछि म थप अध्ययनका लागि अमेरिका गएको थिएँ । जति बेला २०१७ मा राजा महेन्द्रले शासन आफ्नो हातमा लिए, त्यति बेला म अमेरिकाबाट नेपाल फर्कने क्रममा थिएँ । ठीक त्यही बेला म वासिङ्टनको एउटा होटलमा थिएँ ।
म नेपाली भएको थाहा पाएपछि त्यस होटलमै रहेका एक जनाले मलाई के सुनायो भने बीपीको सरकारलाई हटाएर राजाले सबै शक्ति आफ्नो नियन्त्रणमा लिएका छन् । मलाई त विश्वास नै भएन । मलाई के लागेको थियो भने कांग्रेसको सरकारको दुई तिहाइ बहुमत थियो, कसरी पो यो सम्भव हुन्छ र ? मैले अविश्वास गरेको देखेर ती अमेरिकीले मलाई एउटा पत्रिका नै देखाए । मलाई त्यो पत्रिकाको नाम त सम्झना छैन । तर, त्यसमा लेखिएको थियो, राजाले शक्ति सबै हाम्रो हातमा लिए । मलाई त आश्चर्य नै लाग्यो ।
त्यस घटनाको एक सातापछि नै म काठमाडौं फर्कें । मेरो कार्यालय सिंहदरबारभित्रै थियो । काठमाडौं फर्केर पहिलो पटक कार्यालय जाँदा त्यहाँ प्रवेश गर्न निकै लामो प्रक्रिया पार गर्नुपरेको थियो । त्यसपछि जति पनि चुनाव भएका छन्, त्यसमा मैले सक्रियपूर्वक नै भाग लिएको छु भन्दा हुन्छ । म २०२७ यता कुलेश्वर बल्खुको घरमा सरेको थिएँ र त्यसयता मेरो मतदान केन्द्र नजिकको खाद्य संस्थानमा सरेको छ ।
यस क्रममा मैले नेपाली राजनीतिमा अनेक उतारचढाव देखें । राजनीतिभन्दा पनि म बढी सामाजिक क्षेत्रमा सक्रिय रहें । धर्मोदय सभासँग जोडिएँ । यस्तै च्वसाः पासासँग आबद्ध भएँ । यसै क्रममा मैले साहित्यिक यात्रा पनि अगाडि बढाएँ । नेपाल भाषामा कथा र कविता पनि लेखें । ‘पासा’ भन्ने पत्रिका पनि निकालें, त्यसको प्रबन्ध सम्पादक भएर । त्यस अर्थमा मैले नेपाल संवत् १०७३ ताका नै जानेर नजानेर पत्रकारिता पनि गरें । यो भयो, सात दशकभन्दा अगाडिको कुरा । पछि बौद्ध धर्मका पुस्तक अनुवाद पनि गर्न थालें ।
हाम्रो देशमा धेरै छोटो समयमा धेरै नै राजनीतिक परिवर्तन भए । त्यो चाहे २००७ को राजनीतिक परिवर्तन होस् अथवा २०१७ मा राजाले शक्ति सबै आफूले लिनु । त्यति मात्र होइन, २०३६, २०४६, २०६२/२०६३ का आन्दोलन वा भनौं अहिलेको जेन–जी आन्दोलन । देशको विकासका लागि स्थायित्व चाहिन्छ र यो नै सबैभन्दा महत्त्वपूर्ण हो । अबको चुनावपछि राजनीतिक स्थायित्व स्थापना भयो भने देश अगाडि बढ्छ र विकास हुन्छ भन्ने विश्वास छ ।
(हिमेशसँगको कुराकानीमा आधारित)
