उहिलेका चुनावमा भाषण होइन, कुराकानी हुन्थ्यो

त्यतिबेलाको चुनावी प्रचारप्रसार अहिलेको तुलनामा भिन्न थियो । चुनाव प्रचारप्रसारको सबैभन्दा ठूलो माध्यम थियो– एकअर्कोसँग कुराकानी । उम्मेदवारबारे पनि कुराकानीबाटै थाहा पाइन्थ्यो ।

फाल्गुन १६, २०८२

कान्तिपुर संवाददाता

In the past, elections were not about speeches, but conversations.

चुनाव एक नेताको जित–हारको विवरण मात्रै होइन

What you should know

 –गुहेश्वरीराज मानन्धर (९३ वर्ष) मखन, काठमाडौं

नेपालमा जति राजनीतिक परिवर्तन भए, ती सबै आफ्नै आँखाले देखें । नेपालमा जति चुनाव भए, त्यसलाई पनि नजिकबाटै हेर्ने अवसर पाएँ । त्यस अर्थमा म भाग्यमानी पनि रहें । अहिलेसम्म जति पनि चुनाव भएका छन्, विशेषतः संसदीय चुनाव, ती सबैमा मैले भाग पनि लिएको छु । अबको आसन्न चुनावमा पनि भाग लिनेछु, हेरौं स्वास्थ्यले कतिसम्म साथ दिनेछ । चुनावलाई लिएर एक प्रकारले उत्साहित पनि छु ।

मतदान नै त्यो अवसर हो, जसको माध्यमबाट आमजनले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्छन् । कसैको पनि एक मतको ठूलो महत्त्व हुन्छ नै । अहिले म ९३ वर्षको भएँ, ९० सालको महाभूकम्पको चार महिना अगाडि मेरो जन्म भएको हो । हाम्रो पुर्ख्यौली घर काठमाडौंको कुमारीघरको ठीक पछाडि हो, त्यसलाई ग्वाछेमुगः गल्ली भनिन्छ । त्यहीं म जन्मे र हुर्कें । पढेको भने जेपी स्कुलबाट । मैले पाँच वर्षको उमेरदेखि नै पढ्न थालेको थिएँ, मेरो समयमा यो स्कुल मखनमा थियो ।

जेपी त्यस समयको सबैभन्दा नाम चलेको स्कुलमध्ये एक थियो । त्यहींबाट मैले एसएलसी दिएको थिएँ– २००४ मा । मेरो सबै विद्यालय शिक्षा त्यहीं भएको थियो । एसएलसी दिँदा म सायद १४ वर्ष मात्र पुगेको हुनुपर्छ । नतिजा नामसहित राजपत्रमा प्रकाशित हुन्थ्यो । त्यस अर्थमा मलाई २००७ को राजनीतिक घटनाक्रमबारे पनि थाहा छ र अहिलेसम्म पनि सम्झना छ । राजा त्रिभुवन त्यति बेलाको राजनीतिक परिवर्तनका बेला भारतबाट विमानमा काठमाडौं आउँदा म आफैं विमानस्थलसम्म पुगेको थिएँ ।

त्यति बेलासम्म ममा राजनीतिक चेतना सुरु भइसकेको थियो, भलै मैले त्यसमा सक्रियपूर्वक भाग भने लिइनँ । त्यति बेला विमानबाट राजनीतिक पर्चा छरेको मलाई अहिलेसम्म पनि सम्झनामा छ । राणा शासनको अन्त्यतिर सामाजिक आन्दोलनको लहर नै चलेको थियो । राणाहरूको उद्देश्य थियो, जनतालाई चेतनशील हुनबाट सक्दो रोक्ने । जनता भने त्यसको पर्वाह नै नगरी चोकचोकमा विद्यालय खोल्थे, गोप्य रूपमा पर्चा–पम्प्लेट छाडेर बाँड्थे ।

बिस्तारै पत्रिका निकाल्ने लहर पनि सुरु भयो । युवामा क्रान्तिको जोस थियो । त्यही बेला नेपाल भाषामा ‘धर्मोदय’ भन्ने पत्रिका निस्केको थियो, त्यो पनि कलकत्ताबाट । एलएलसीपछि मैले त्रिचन्द्र कलेजबाट आईएस्सी गरें र भारतको धनवादमा गएर माइनिङसम्बन्धी पढेको थिएँ । बिहारको धनवादमा प्रसिद्ध ‘इन्डियन स्कुल अफ माइनिङ’ मा इन्जिनियरिङ गरेको थिएँ । अहिले त त्यो विश्वविद्यालय पनि भइसकेको छ । काठमाडौंबाट त्यति बेला पटना पुग्न पनि निकै लामो यात्रा तय गर्नुपर्ने हुन्थ्यो ।

त्यहीं पढ्ने क्रममा राजनीतिबारे मेरो रुचि कायम रह्यो । मलाई लाग्छ, २०१५ को संसदीय चुनावका बेलासम्म कम्तीमा भित्री काठमाडौंमा राजनीतिक चेतना धेरैमा थियो । धेरैले राजनीतिमा रुचि राख्ने र आफ्नो धारणा व्यक्त गर्न सक्ने स्थिति थियो । मलाई लाग्छ, यो विशेषतः युवा पुस्तामा लागू हुन्छ । मलाई सम्झना भएसम्म त्यति बेला पनि धेरै राजनीतिक पार्टी थिए, तर हाम्रोतिर मुख्य रूपमा दुई समूह थियो । एउटा भयो– कांग्रेस । अर्को भयो– कम्युनिस्ट ।

काठमाडौंको हाम्रो क्षेत्रमा गणेशमान सिंह कांग्रेसको उम्मेदवार थिए भने पुष्पलाल श्रेष्ठ कम्युनिस्टका । पुष्पलाल सहिद गंगालालका भाइ थिए । मैले २००७ सालको क्रान्ति देखेको र सुनेको हुनाले त्यति बेला गंगालाल र अरूले सहादत प्राप्त गरे, त्यो मलाई राम्रोसँग सम्झना छ । तर, उनीसँग व्यक्तिगत सम्बन्ध भने भएन किनभने पुष्पलाल प्रायः काठमाडौं बाहिर बस्थे । मैले व्यक्तिगत रूपमै गणेशमान सिंहलाई भेटेको छु ।

त्यति बेलाको चुनावी प्रचारप्रसार अहिलेको तुलनामा धेरै भिन्न र फरक ढंगले हुन्थ्यो, जुन स्वाभाविक पनि थियो । मलाई लाग्छ, त्यति बेलाको चुनाव प्रचारप्रसारको सबैभन्दा ठूलो माध्यम नै एउटाले अर्कोसँग गर्ने कुराकानीमा आधारित हुन्थ्यो । चुनाव र उम्मेदवारबारे पनि जानकारी पाइन्थ्यो, त्यो एकले अर्कोलाई सुनाएरै । लामै समयसम्म यो क्रम कायम रह्यो ।

राजनीतिक भेला र आमसभा पनि हुन्थे । तर मलाई अझै पनि के लाग्छ भने त्यति बेला राजनीतिक चेतना र प्रचारप्रसार कुराकानीकै आधारमा हुन्थ्यो । मैले पहिलो संसदीय निर्वाचनमा कांग्रेसलाई नै भोट हालेको थिएँ, मलाई सम्झना भएसम्म गणेशमान सिंहको जित भयो । तर, पुष्पलालले पनि राम्रै मत प्राप्त गरेका थिए । म २५ वर्षको युवा थिएँ, त्यति बेला । हाम्रो मतदान केन्द्र वसन्तपुरमा थियो । त्यस अर्थमा पनि वसन्तपुरको ऐतिहासिक राजनीतिक महत्त्व छ ।

चुनावी परिणामपछि कांग्रेसकै सरकार बनेको थियो, बीपी कोइराला प्रधानमन्त्री पनि भए । मैले व्यक्तिगत रूपमा राजा महेन्द्र र त्यसपछि राजा वीरेन्द्रलाई पनि भेटेको छु । पहिलो संसदीय चुनावपछि म थप अध्ययनका लागि अमेरिका गएको थिएँ । जति बेला २०१७ मा राजा महेन्द्रले शासन आफ्नो हातमा लिए, त्यति बेला म अमेरिकाबाट नेपाल फर्कने क्रममा थिएँ । ठीक त्यही बेला म वासिङ्टनको एउटा होटलमा थिएँ ।

म नेपाली भएको थाहा पाएपछि त्यस होटलमै रहेका एक जनाले मलाई के सुनायो भने बीपीको सरकारलाई हटाएर राजाले सबै शक्ति आफ्नो नियन्त्रणमा लिएका छन् । मलाई त विश्वास नै भएन । मलाई के लागेको थियो भने कांग्रेसको सरकारको दुई तिहाइ बहुमत थियो, कसरी पो यो सम्भव हुन्छ र ? मैले अविश्वास गरेको देखेर ती अमेरिकीले मलाई एउटा पत्रिका नै देखाए । मलाई त्यो पत्रिकाको नाम त सम्झना छैन । तर, त्यसमा लेखिएको थियो, राजाले शक्ति सबै हाम्रो हातमा लिए । मलाई त आश्चर्य नै लाग्यो ।

त्यस घटनाको एक सातापछि नै म काठमाडौं फर्कें । मेरो कार्यालय सिंहदरबारभित्रै थियो । काठमाडौं फर्केर पहिलो पटक कार्यालय जाँदा त्यहाँ प्रवेश गर्न निकै लामो प्रक्रिया पार गर्नुपरेको थियो । त्यसपछि जति पनि चुनाव भएका छन्, त्यसमा मैले सक्रियपूर्वक नै भाग लिएको छु भन्दा हुन्छ । म २०२७ यता कुलेश्वर बल्खुको घरमा सरेको थिएँ र त्यसयता मेरो मतदान केन्द्र नजिकको खाद्य संस्थानमा सरेको छ ।

यस क्रममा मैले नेपाली राजनीतिमा अनेक उतारचढाव देखें । राजनीतिभन्दा पनि म बढी सामाजिक क्षेत्रमा सक्रिय रहें । धर्मोदय सभासँग जोडिएँ । यस्तै च्वसाः पासासँग आबद्ध भएँ । यसै क्रममा मैले साहित्यिक यात्रा पनि अगाडि बढाएँ । नेपाल भाषामा कथा र कविता पनि लेखें । ‘पासा’ भन्ने पत्रिका पनि निकालें, त्यसको प्रबन्ध सम्पादक भएर । त्यस अर्थमा मैले नेपाल संवत् १०७३ ताका नै जानेर नजानेर पत्रकारिता पनि गरें । यो भयो, सात दशकभन्दा अगाडिको कुरा । पछि बौद्ध धर्मका पुस्तक अनुवाद पनि गर्न थालें ।

हाम्रो देशमा धेरै छोटो समयमा धेरै नै राजनीतिक परिवर्तन भए । त्यो चाहे २००७ को राजनीतिक परिवर्तन होस् अथवा २०१७ मा राजाले शक्ति सबै आफूले लिनु । त्यति मात्र होइन, २०३६, २०४६, २०६२/२०६३ का आन्दोलन वा भनौं अहिलेको जेन–जी आन्दोलन । देशको विकासका लागि स्थायित्व चाहिन्छ र यो नै सबैभन्दा महत्त्वपूर्ण हो । अबको चुनावपछि राजनीतिक स्थायित्व स्थापना भयो भने देश अगाडि बढ्छ र विकास हुन्छ भन्ने विश्वास छ ।

(हिमेशसँगको कुराकानीमा आधारित)

कान्तिपुर

Link copied successfully