नेताहरू चुनावका बेला आश्वासन दिन्छन्, त्यसपछि बेवास्ता गर्छन् । यस्तै छ– यहाँको चलन । त्यसैले मतदान गरेर पनि केही परिवर्तन हुँदैन यहाँ ।
चुनाव एक नेताको जित–हारको विवरण मात्रै होइन
What you should know
काठमाडौँ — – हरिदत्त जोशी (९० वर्ष) भीमदत्त, कञ्चनपुर
निर्वाचनबारे धेरै हल्ला र चर्चा हुँदैनथ्यो ऊबेला । मतदानका दिन गाउँका मुखियाले उर्दी जारी गर्थे । सबैजना तिनै मुखियाको उर्दीअनुसार मतदान गर्न जान्थे । उनकै उर्दीअनुसार कसलाई भोट हाल्ने भन्ने निधो पनि गरिन्थ्यो । २०१५ मा पहिलो पटक मतदान गरेको हुँ मैले ।
त्यतिबेला म २३ वर्षको थिएँ । दार्चुलाको बोहोरीगाउँमा जन्मिएको हुँ, गाउँमै खेतीपातीको काम गर्थें । सामान्य लेखपढ पनि गरेको छैन । स्कुल कहिल्यै गइनँ । २०१५ मा नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गरेको थिएँ । उम्मेदवार को थिए ? बिर्सिएँ, तर कांग्रेसलाई भोट दिएको र त्यही उम्मेदवार जितेको उनलाई सम्झना छ ।
त्यतिबेला अहिलेजस्तो उम्मेदवारहरूले घरदैलो गर्ने, गाउँटोलमा चुनावी सभाहरू गर्ने काम हुँदैनथ्यो । मतदाताले उम्मेदवार देखेकै हुँदैनथे । कतिपयले त नामसमेत सुनेका हुँदैनथे । गाउँका नेताहरूले जे भन्यो, त्यहीअनुसार मतदान गर्नुपर्थ्यो । पहिलो पटक मतदान गर्दा मैले नागरिकता बनाइसकेको थिएँ । अहिलेजस्तो मतदाता परिचयपत्र थिएन । मतदाता नामावली पनि थिएन । नागरिकता पनि खोजिँदैनथ्यो । गाउँका सबै एकैचोटि जाने र हेरेरै १८ वर्ष पुगेको ठम्याएर मतदान गर्न दिन्थे । तर, अहिले सानो कुरा नमिल्दा पनि नेपाली होइन कि जस्तो व्यवहार गर्छन्, त्यसले मेरो चित्त दुख्छ । अहिलेभन्दा पहिलेको निर्वाचन सजिलो र शान्तिपूर्ण हुन्थ्यो ।
बोहोरीगाउँबाट मतदानका लागि गोकुलेश्वर पुग्नुपर्थ्यो । दार्चुला पनि बैतडीकै निर्वाचन क्षेत्रमा पर्थ्यो । बिहानै हिँडे दिउँसो मात्रै मतदानस्थल पुगिन्थ्यो । मतदान गरेर घर फर्किंदासम्म त साँझ परिहाल्थ्यो ।
२०१५ यताका सबै निर्वाचनमा मैले मतदान गरेको छु । पञ्चायतकाल, बहुदल र गणतन्त्रसम्म आइपुग्दा निर्वाचनदेखि उम्मेदवारको प्रचारप्रसार शैली सबै परिवर्तन भए । तर, जनतालाई ढाँटने काम भने अहिले पनि त्यस्तै छ । चुनावका बेला मत माग्न जे पनि गर्ने, भन्ने । र, जितेपछि सबै कुरा बिर्सिने नेताको पुरानै बानी हो ।
पञ्चायतकालमा गाउँ पञ्चायतको निर्वाचनमा उम्मेदवारहरू घरघरै पुग्थे । त्यतिबेला पनि उम्मेदवारले चिल्ला कुरा गरेर मत माग्थे । बहुदल आएपछि पनि उम्मेदवारहरूको शैली फेरिएन ।
राजनीतिक दल र नेताहरूका झूटा आश्वासन र प्रतिबद्धता देख्दा मलाई अब मतदान गरेर पनि केही होलाजस्तो लाग्दैन । २०४० मा पुर्ख्यौली थलोबाट बसाइँ सरेर कञ्चनपुरको भीमदत्त नगरपालिका–९ को खल्लामा बसोबास गरिरहेका छौं । तर, अहिले पनि लालपुर्जा पाएको छैन ।
संविधान निर्माणपछिका हरेक निर्वाचनमा खल्ला क्षेत्रका वासिन्दाको एउटै माग छ— जमिन नापी हुनुपर्ने । तर, नेताहरू चुनावका बेला आश्वासन दिन्छन्, त्यसपछि बेवास्ता गर्छन् । यस्तै छ यहाँको चलन । त्यसैले मतदान गरेर पनि केही परिवर्तन हुँदैन यहाँ ।
(कञ्चनपुरमा भवानी भट्टसँगको कुराकानीमा आधारित)
